१ चैत्र २०८२ आइतबार
image/svg+xml
सम्पादकीय

सम्यक् उपभोग

पश्चिम एसिया यतिबेला तनावग्रस्त छ। तर, त्यहाँको युद्ध–बाछिटा हाम्रो घरआँगनसम्म आइपुगेको छ। हाम्रो भान्छामा हामीले यसलाई महसुस गर्न थालिसकेका छौं । केही दिनयता हामी खाना पकाउने ग्यासको अभाव महसुस गर्न थालिसकेका छौं। यो स्थितिलाई ध्यानमा राखेर आधा भरिएका ग्यास वितरण पनि सुरु भइसकेको छ। तथापि हामीले यति चाँडै अभाव महसुस गर्नुपर्ने अवस्था थिएन। यसमा दुई किसिमको प्रवृत्ति हामीले विगतदेखि देख्दै आएका छौं। एक, उपभोक्ताले चाहिनेभन्दा बढी सामग्री थुपार्न थाल्छन् । दुई, व्यवसायीले पनि आवश्यकताभन्दा बढी लाभको लोभले सामग्री लुकाउन थाल्छन्।

हो, गडबडी यहीं सुरु हुन्छ । सबैभन्दा पहिले उपभोक्ता आफैं सचेत हुनु आवश्यक छ। घरमा भरी ग्यास सिलिन्डर हुँदाहुँदै अर्को खोज्न गइरहनुपर्दैन । केही समय आफ्नो उपभोगलाई सीमित गर्न हामी आफैं तयार हुनुपर्छ । तत्कालका लागि बिजुली उपभोग बढाउने र अन्य उपाय अपनाउन सकिन्छ । एकाध महिनालाई आफूले पहिले किनेकै ग्यासले पुग्छ भने अहिल्यै हतारिएर बजारमा जानुको औचित्य रहँदैन। एकभन्दा बढी ग्यास सिलिन्डर संकलन गर्न सक्ने भनेका केही हुनेखाने वर्ग हुन् । एउटा मात्र सिलिन्डर हुनेले त्यो नसकिई बजारमा जाने कुरा हुँदैन। एकभन्दा बढी सिलिन्डर लिएर बसेका व्यक्तिहरू कुदेर बजार जानुको अर्थ छैन।

यसबाहेक हाम्रा व्यवसायी र वितरकले पनि ध्यान दिनु आवश्यक छ । आफूसँग भएसम्मको सामग्री बजारमा जान दिनुपर्छ । त्यसलाई लुकाएर उपभोक्तामा बेचैनी उत्पन्न गर्नुहुँदैन। यसका लागि कोसँग कति स्टक हुनुपर्ने र त्योअनुसार बजारमा उपलब्ध गराए वा नगराएको विषयमा सरकारले ध्यान पुर्‍याउनुपर्छ। हाम्रो मुलुकमा नागरिकलाई अप्ठ्यारो परेका बेला फाइदा उठाउने प्रवृत्ति देखिन्छ। त्यति मात्र होइन, मुलुक निर्वाचन सम्पन्न गरी नयाँ सरकार बनाउने तयारीमा छ । यस्तो बेलामा मौकाको फाइदा उठाएर कसैले ग्यास लुकाउन खोजेका छन् भने तिनका बारेमा राम्रो ध्यान पुर्‍याउनु आवश्यक छ। एउटा सरकारबाट अर्को सरकारको तयारी भइरहेको अवस्थालाई आफूअनुकूल प्रयोग गर्न यस्ता व्यक्ति लागेका हुन् भन्ने बुझ्न कठिन छैन।  

हामीकहाँ विगतमा पनि पेट्रोलियम पदार्थको पनि यस्तै अभाव हुने गरेको हो। बाहिर केही हुनासाथ यहाँ पेट्रोल पम्पमा लाम लाग्न थालिहाल्ने हो । बरु यसपटक यदाकदा लाम लागे पनि त्यस्तो देखिएको छैन । वास्तवमा एकपटक पेट्रोलियम पदार्थ हालिसकेपछि कम्तीमा साता दिनलाई पुग्छ । यसकारण पनि सवारी साधन लाम लागिरहेका छैनन्। सकेसम्म आफूसँग केही दिनलाई पुग्ने इन्धन छ भने किन लाम लाग्ने? बरु अरुलाई आवश्यक हुँदा चाहिन्छ भन्ने सोच बनाउनु आवश्यक छ । विषम परिस्थितिमा हामीले आफ्नो उपभोग आफैं घटाउन पनि जान्नुपर्छ। कहिलेकाहीं हामीले थोरै उपभोग गर्ने बानी गर्दा पनि मुलुकलाई सहज हुन्छ । हाम्रा नागरिक आवश्यक नभई इन्धन वा ग्यासको लाममा लाग्दैनन् भन्ने सकारात्मक सन्देश पनि दिनु आवश्यक देखिन्छ।

सामान जम्मा गर्न जाने यस्तो प्रवृत्ति विकसित भनिएका मुलुकमा पनि देखिन्छ। तर, थोरै मात्र पनि सम्यक् जीवनशैली हुने हो भने यसरी कुद्नुपर्ने आवश्यकता देखिँदैन। यसै पनि विश्वमा अहिले देखिएको जस्तो अवस्था लामो समयसम्म जाँदैन । जसले यो अवस्था सिर्जना गरेका छन्, तिनलाई पनि यसको निरन्तरता सहज छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वमा युद्ध अन्त्य गर्ने बाचासहित निर्वाचन जितेका हुन् । तर, यसपटक इजरायल र अमेरिका मिलेर इरानमा आक्रमण गरिसकेपछि एक किसिमको विषम परिस्थिति देखिएको छ । विश्व बजारमा इन्धनको मूल्य बढिरहेको छ । त्यति मात्र होइन, यो अवस्थालाई निरन्तरता दिँदा युद्ध धान्न सकिन्न भन्ने पनि भइसकेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पको सार्वजनिक समर्थनसमेत क्रमशः घटिरहेको देखिएको छ।

अतः अहिलेको अवस्था धेरै लामो जाँदैन र विश्वका धनी भनिएका मुलुकले समेत आफ्नो अर्थतन्त्र ओरालो लाग्ने महसुस गरेका छन् । हाम्रोजस्तो औद्योगिकीकरण नभएको मुलुकका निम्ति यसको प्रभाव जति हुन्छ त्योभन्दा कैयन् गुणा बढी आर्थिक उपार्जनमा सक्रिय मुलुकलाई हुन्छ। यो स्थितिलाई ध्यानमा राख्दै इन्धन बजारलाई सहज बनाउन कोसिस हुने नै छ। विश्वलाई युद्धको असजिलोमा राखिराखेर कुनै पनि सरकारलाई अगाडि बढ्न गाह्रो हुन्छ। यस्तो अवस्था लामो समय जान सक्दैन भन्ने बुझेपछि हामीले उपभोगलाई ध्यानपूर्वक गर्दा धेरै फरक हुन्छ । हामी केहीले मात्र उपभोग बढाएर मात्र केही हुने होइन। असजिलो अवस्थालाई त्यसरी नै चलाउन सक्ने गरी आफूलाई तयार पार्नुपर्छ। आफूले तत्काल ग्यास वा इन्धन पाइएन भने संसार रहँदैनझैं गरेर व्यवहार गर्नु आवश्यक छैन। चाहिनेभन्दा बढी उपभोग गर्ने र त्यही अनुपातमा जम्मा गर्ने प्रवृत्तिमा रोक लगाउनु नै अहिलेको अभावको स्थितिको समाधान हो।  

प्रकाशित: १ चैत्र २०८२ ०६:२४ आइतबार

Download Nagarik App