१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

अनलाइन ठगी

प्रायः नयाँ प्रविधिलाई दुरुपयोग गरी ठगी गर्नेले पनि आफ्नो सक्रियता देखाउँछन्। चोरी, डकैती र ठगी धन्दा प्रविधिअनुसार फेरिन्छ। पहिले मानिसले खल्तीमा राखेर हिँडेको रकम चोर्न जुन तरिका अपनाइन्थ्यो, आज मोबाइलमा भएको सम्पत्ति तान्न त्यस्तै विधि अपनाइन्छ। मानिसलाई ठगी गर्नेहरू प्रविधिसँगै अगाडि बढ्छन्। हाम्रो मुलुकमा पनि पछिल्ला वर्षमा सूचना प्रविधिको प्रयोगसँगै ठगीका स्वरूप परिवर्तन भएका छन्।

यो अवस्था आएपछि नेपाल प्रहरीले अनलाइन ठगीबाट जोगिन सात बुँदे अनुरोध सार्वजनिक गर्नुपरेको छ। ठगी भएपछि रोइकराइ गर्दै सर्वसाधारण जाने ठाउँ प्रहरी हो। यसकारण पनि प्रहरीले ठगी भएर आउनुभन्दा पहिल्यै सावधानी अपनाउन आग्रह गरेको हो। रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्न नदिनु बुद्धिमानी हो। अनलाइन संसारमा हुने ठगीमा पनि सावधानी सबैभन्दा सजिलो र सस्तो उपाय हो।

जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेजस्तै अनलाइन ठगीबाट जोगिने उपाय सबै प्रहरी निकायले दिनु उचित हुन्छ। त्यति मात्र होइन, स्थानीय सरकारले यस्ता विषयमा गम्भीर भई अभियान चलाउनुपर्छ। हिजोजस्तो जसले फोन गरे पनि उठाउने, जस्ता सन्देश पनि हेर्ने अवस्था आज छैन। आफ्नै फोन वा अनलाइन गतिविधिबाट कुन बेला लट्टीपट्टी सकिने हो ठेगान छैन। त्यसैले विचार पु¥याएर मात्र यस्ता माध्यमको उपयोग गर्न सकिन्छ।

आजकल प्रायः ह्वाट्सएपलगायतका माध्यमबाट यस्ता ठगी भइरहेका छन्। कतिपय व्यक्तिलाई निकटतम व्यक्तिको माध्यमबाट सहयोगको याचना हुन्छ। आफ्ना निकटस्थलाई समस्या परेको ठानी तत्काल सहयोग गर्छन्। तर, त्यो ठगीधन्दा चलाउनेले बिच्छ्याएको जाल हुन सक्छ। कैयन्लाई रोजगारी दिने वा पैसा बढाइदिने अनेकन् स्किमको चर्चा हुन्छ। कतिपयलाई चिट्ठा परेको भन्दै ठगी गर्नेहरूले स्थितिलाई दुरुपयोग गर्ने गरेको देखिन्छ।

सामाजिक सञ्जाल आज व्यक्तिको जीवन रेखा बनिसकेका छन्। फेसबुक, इमो, ह्वाट्सएम, आइबार, इन्स्टाग्रामलगायतका माध्यममा भइरहेको ठगीको शैली भने प्रायः उस्तै हुन्छ। त्यसैले अरू व्यक्ति यसबाट ठगीमा परिसकेको थाहा पाएपछि त्यसैलाई दोहोर्‍याउनु उचित हुँदैन। बुद्धिमान मानिसले अरूलाई परेका घटनाबाट पनि सिक्छन्। तैपनि यस किसिमको ठगीबारे जति बढी चर्चा गर्‍यो, त्यति नै जोगिने उपाय थाहा हुन्छ। यस्ता उपाय थाहा पाउन व्यक्तिले पनि कोसिस गर्नुपर्छ। जुन समाजका व्यक्तिलाई सजिलै ठग्न सकिन्छ, त्यहाँ प्रविधिको दुरुपयोग गर्ने खतरा पनि उत्तिकै हुन्छ।

प्रायः चिट्ठा परेको भनेर ठगी गर्नेले केही रकम (राजस्व) तिर्नुपर्ने भनेर ठग्न थाल्छन्। त्यसैगरी अनलाइन रोजगारी दिने भन्नेले सर्वसाधारणलाई अलमल्याउँछन्। थोरै लगानी गरेर धेरै आम्दानी गर्ने भन्ने लोभ देखाएर पनि ठगी गर्ने प्रचलन छ। कैयन् पढेलेखेकै व्यक्ति यस्तो लोभमा परेर ठगीको सिकार भएका घटना प्रहरीमा अत्यधिक जाने गरेका छन्। ठगिने व्यक्तिको बढ्दो संख्याले प्रहरीलाई व्यवस्थापन गर्न समेत कठिन हुन सक्छ। थोरै घटना भए मात्र त्यसमा कारबाही प्रक्रिया बढाउन सकिन्छ। संख्या बढिरहने हो भने मुस्किल हुन सक्छ।

अनलाइन आजको जीवन पद्दति पनि हो। किनमेलदेखि दैनिक कार्य सञ्चालनका लागि यही माध्यम प्रयोग हुन्छ। कुनै बेला रकम कारोबार गर्न बैंकमा घन्टौं लाम लाग्नु पथ्र्यो भने आज हातहातमै रहेको मोबाइल फोनबाट यो काम सम्पन्न हुन्छ। यसले काममा जति सजिलो भएको छ, त्यति नै दुरुपयोगको खतरा पनि छ। किनमेलका लागि रकम तिरिसकेको हुन्छ तर भनेको जस्तो गुणस्तरको सामान नपर्न सक्छ। यस्तो नहोस् भन्नका लागि आधिकारिक बिक्रेता चिन्ने र सुरक्षित ढंगले कारोबार गर्ने हो।

त्यति मात्र होइन, अपरिचित व्यक्तिको भिडियो कलहरूबाट पनि ठगीको सम्भावना हुन्छ। तिनले अश्लील भिडियो बनाएर ‘ब्ल्याकमेल’ गर्ने खतरा हुन्छ। लोकलाजका कारण कैयन् व्यक्तिले आफूमाथि भएको घटना बताउन वा प्रहरीमा खबर गर्न सक्दैनन्। यस्तो स्थिति आउन नदिन प्रयोगकर्ताहरू आफैं सजग हुनुपर्छ। आफन्तहरूले सामाजिक सञ्जाल प्रयोग गरी सहयोग मागेका छन् भने ह्याक भएको हुन सक्छ। त्यस्तो अवस्थामा आफूले सजग भएर यस्ता व्यक्तिका सञ्जाल दुरुपयोग भए/नभएको यकिन गर्नुपर्ने हुन्छ।

प्रहरीले दिएको जानकारीअनुसार अपरिचित वा नयाँ सामाजिक सञ्जालको लिंक खोल्न हुँदैन। ‘ओटिपी कोड’ अरूलाई दिन हुँदैन। आफ्नो मोबाइको स्क्रिन सेयर गर्न हुँदैन। सामाजिक सञ्जालमा आफ्ना महत्त्वपूर्ण जानकारी राख्न हुँदैन। आफ्नो पासवर्ड आदि साथी वा नजिकका व्यक्तिलाई समेत दिन हुँदैन। ठगीका नयाँ नयाँ आयाम आएका हुनाले त्यसबाट जोगिन आफूलाई सदैव सजग राख्नुको विकल्प छैन।  

प्रकाशित: ८ मंसिर २०८२ ०६:०१ सोमबार

Download Nagarik App
Download Nagarik App