८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
सम्पादकीय

जैविक जीवन जोगाऔं

नेपाल सानो भूगोलमा असाधारण जैविक विविधता समेटिएको मुलुक हो । हिमाल, पहाड, तराई र उपत्यकाको अनुपम संरचना एवं प्राकृतिक–जैविक विविधताको उपहार यो देशले पाएको छ । केही घण्टाको यात्रामै मौसम, भूबनोट, वनस्पति र जीवनशैली बदलिने देशका रूपमा नेपाल विश्वमै विशिष्ट मानिन्छ । यही भौगोलिक विविधताले यहाँ हजारौं प्रकारका वनस्पति, जीवजन्तु, कृषि प्रणाली र खाद्य संस्कृतिलाई जन्म दिएको छ । नेपालको पहिचान बुद्ध, हिमाल, सगरमाथाका साथै जैविक विविधता पनि हो।

यहाँ एकातिर तराईका जिल्लामा चर्को गर्मी छ भने हिमाली भेगमा कठ्यांग्रिने चिसो छ । यही विविध हावापानीका कारण एउटै देशभित्र आँप, लिची, केरा, उखुजस्ता उष्ण प्रदेशीय उत्पादनदेखि स्याउ, ओखर, आलुबखडा, किवीजस्ता शीत प्रदेशीय फलफूलसम्म उत्पादन सम्भव भएको छ । तराईमा फल्ने धानको स्वाद र विशेषता जुम्लामा उत्पादन हुने मार्सी धानभन्दा फरक छ । इलामको चिया, काभ्रेको आलु, मुस्ताङको स्याउ, जुम्लाको सिमी, चितवनको तोरी र तराईको गहुँ, यी सबै नेपालकै जैविक विविधताका जीवन्त उदाहरण हुन्।

प्रकृतिले दिएको यही अनुपम सम्पत्तिका कारण नेपाल विश्वको जैविक विविधतामा धनी मुलुकको सूचीमा पर्छ । क्षेत्रफलको हिसाबले सानो भए पनि यहाँ विश्वका उल्लेखनीय वनस्पति र जीवजन्तु पाइन्छन् । दुर्लभ एकसिंगे गैंडा, पाटेबाघ, रेड पान्डा, हिमचितुवा, डाँफे, सालकजस्ता जीव नेपालकै पहिचान बनेका छन् । सयौं जातिका जडीबुटी, वनस्पति र स्थानीय बालीहरूले नेपाली समाजको जीवन, संस्कृति र अर्थतन्त्रसँग गहिरो सम्बन्ध गाँसेका छन् । गाउँघरमा पुस्तौंदेखि जोगाइएका स्थानीय बिउबिजन केवल खेतीका साधन होइनन्, ती हाम्रो सभ्यता र आत्मनिर्भरताका आधार पनि हुन्।

विडम्बना, अहिले यही जैविक विविधताले गम्भीर संकटको सामना गरिरहेको छ । जलवायु परिवर्तन यसको सबैभन्दा ठुलो चुनौतीका रूपमा उभिएको छ । विश्व तापमान वृद्धिको असर नेपालजस्तो हिमाली मुलुकमा झन् तीव्र रूपमा देखिन थालेको छ । हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन्, हिउँ पर्ने समय र मात्रा बदलिँदै गएको छ, अनियमित वर्षा, खडेरी, बाढीपहिरो र डढेलोका घटना बढिरहेका छन् । यसले वनस्पति र वन्यजन्तुको प्राकृतिक बासस्थानमा प्रत्यक्ष असर पुर्‍याइरहेको छ।

पहाडमा पाइने धेरै वनस्पति क्रमशः माथिल्लो क्षेत्रमा सर्दै गएका छन् भने कतिपय प्रजाति लोप हुने जोखिममा पुगेका छन् । हिमाली क्षेत्रका जीवजन्तु तापक्रम वृद्धिसँग जुध्न संघर्षरत छन् । तराईका जंगलहरू गर्मी र सुक्खापनका कारण बारम्बार डढेलोको चपेटामा पर्न थालेका छन् । कृषि प्रणालीसमेत प्रभावित भइरहेको छ । कहिले असामयिक वर्षा, कहिले लामो खडेरी, कहिले असिना, यी सबैले स्थानीय बाली र परम्परागत खेतीलाई कमजोर बनाइरहेका छन् । कृषकहरू पुराना बिउबिजन छाडेर बाह्य निर्भरतातर्फ धकेलिँदै छन्, जसले जैविक विविधताको मौलिक स्वरूपलाई थप संकटमा पारिरहेको छ।

जलवायु परिवर्तनले केवल वनस्पति र जीवजन्तुलाई मात्र असर गर्दैन, यसले मानव जीवन, अर्थतन्त्र र खाद्य सुरक्षालाई समेत प्रभावित गर्छ । जैविक विविधता कमजोर हुनु भनेको पानीका स्रोत सुक्नु, माटोको उर्वराशक्ति घट्नु, रोगव्याधि बढ्नु र खाद्य संकट गहिरिनु पनि हो । प्रकृति असन्तुलित हुँदा त्यसको मूल्य अन्ततः मानिसले नै चुकाउनुपर्छ । त्यसैले जैविक विविधताको संरक्षण अब केवल वातावरणीय मुद्दा मात्र होइन, यो राष्ट्रिय अस्तित्व र भविष्यसँग जोडिएको प्रश्न बनेको छ।

नेपालले संरक्षणका क्षेत्रमा केही उल्लेखनीय उपलब्धि हासिल गरेको सत्य हो । राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र र सामुदायिक वन कार्यक्रमहरूले वन क्षेत्र विस्तार गर्न र केही दुर्लभ वन्यजन्तुको संख्या बढाउन योगदान दिएका छन् । सामुदायिक वनमार्फत स्थानीय जनताको सहभागिताले संरक्षणलाई जनआन्दोलनकै रूप दिएको छ तर बदलिँदो जलवायु संकटका अगाडि यति मात्र पर्याप्त छैन । अब संरक्षणलाई अझ वैज्ञानिक, दीर्घकालीन र समुदायमैत्री बनाउन आवश्यक छ।

स्थानीय बिउबिजनको संरक्षण, परम्परागत कृषि प्रणालीको प्रवर्धन, वन विनाश रोक्ने नीति, पानीका स्रोतहरूको जगेर्ना, डढेलो नियन्त्रण, हरित विकास र वातावरणमैत्री जीवनशैलीलाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्छ । विद्यालयदेखि विश्वविद्यालयसम्म जैविक विविधताको महत्त्वबारे गहिरो शिक्षा आवश्यक छ । विकासका नाममा प्रकृतिको अन्धाधुन्ध दोहन गर्ने प्रवृत्तिलाई रोक्न सकिएन भने नेपालले आफ्नो मौलिक प्राकृतिक पहिचान गुमाउने खतरा बढ्दै जानेछ।

नेपाल प्रकृतिले दिएको अनुपम उपहार हो । यहाँको जैविक विविधता केवल प्राकृतिक सम्पत्ति होइन, यो हाम्रो संस्कृति, अर्थतन्त्र, पर्यटन, कृषि र भविष्यको आधार हो । हिमालदेखि तराईसम्म फैलिएको यो अनुपम जीवन–संसार जोगाउनु आजको पुस्ताको जिम्मेवारी मात्र होइन, भावी पुस्ताप्रतिको दायित्व पनि हो । जलवायु परिवर्तनको चुनौतीबिच अब नेपालले प्रकृतिसँग संघर्ष होइन, सहअस्तित्वको बाटो रोज्नुपर्छ । जैविक विविधताको रक्षा गर्न सकियो भने मात्र नेपालको समृद्धि, सुन्दरता र अस्तित्व दीर्घकालसम्म सुरक्षित रहनेछ।  

प्रकाशित: ८ जेष्ठ २०८३ ०६:०६ शुक्रबार

Download Nagarik App