कञ्चनपुरका थारू गाउँका भित्ताहरू कहिल्यै मौन थिएनन्, तिनीहरू बोल्थे। माटोमा उकेरिएका हात्ती, घोडा, मयूर, बेहुलाबेहुली, देवीदेवता र किसानका आकृतिहरू केवल चित्र थिएनन्, ती जीवनका कथा थिए, प्रतिविम्ब थिए तर हिजोआज सिमेन्टका चिल्ला भित्ताले ती कथालाई निल्दै गएका छन्। विकासका नाममा पुरानो मौलिकता र कला हराउँदै छ । केवल एउटा समुदायको समस्या होइन, यो सम्पूर्ण राष्ट्रको सांस्कृतिक क्षयको संकेत पनि हो। यो सामान्य विषय होइन।
नेपालका तराई भूभागमा बसोबास गर्ने थारू आदिवासी जनजाति हुन्, जसको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ। उनीहरू प्रकृतिसँग सहअस्तित्वमा बाँच्ने, आफ्नै भाषा, परम्परा, संस्कृति र सामाजिक संरचना भएका समुदाय हुन्। मलेरियाको प्रकोपको समयमा पनि तराईमा बसोबास गर्न सक्षम भएको यो समुदायको जीवनशैली प्रकृतिसँग गहिरो रूपमा गाँसिएको छ। त्यसैले थारू संस्कृति बुझ्नु भनेको नेपालकै विविधता र पहिचान बुझ्नु हो। नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक देश हो।
भित्ते चित्रकला थारू संस्कृतिको एउटा महत्त्वपूर्ण अंग मानिँदै आएको छ। यो कला केवल सौन्दर्यको साधन होइन, यो जीवित दस्ताबेज हो। चित्रमा देखिने कछुवा धैर्यको प्रतीक हो, घोडा गतिशीलताको, मयूर समृद्धिको र डोलीमा बेहुलाबेहुली विवाह संस्कारको महत्त्व र अविच्छिन्नताका प्रतीक हुन्। यसरी हरेक रेखा र आकृतिले एउटा अर्थ बोकेको हुन्छ। अझ महत्त्वपूर्ण कुरा, यो कला पुस्तौंदेखि महिलाहरूको हातबाट हस्तान्तरण हुँदै आएको ज्ञान हो, जसले महिला सशक्तीकरणको मौन कथा पनि बोकेको छ।
पछिल्ला दशकमा पक्की घरको विस्तारसँगै माटोका भित्ताहरू हराउँदै गएका छन् र चित्र बनाउने परम्परा पनि ओझेलमा परेको छ। सहर नजिकका गाउँमा सामूहिक रूपमा घर बनाउने, लिपपोत गर्ने र चित्र कोर्ने चलन लगभग अन्त्य भइसकेको छ। त्यसैले यो विषय मात्र कलासँग सम्बन्धित छैन। समुदायभित्रको सहकार्य, मेलमिलाप र सामाजिक सम्बन्ध पनि कमजोर हुनु सुखद मान्न सकिँदैन।
आधुनिकीकरण, सहरीकरण तथा विकासको नाममा हाम्रा पुरातन संस्कृति विस्थापन हुनु हुँदैन। उचित नीति, इच्छाशक्ति र संवेदनशीलताको मिश्रणले विकास र संरक्षणलाई सँगसँगै लैजान सकिन्छ। त्यसैले थारू समुदायको चित्रकला जोगाउन राज्यले तत्काल प्रयास गर्न आवश्यक छ। यो चित्रकलालाई राष्ट्रिय सम्पदाका रूपमा मान्यता दिन सकेमा यसको महत्त्व झन् बढ्नेछ। स्थानीय तहले गाउँस्तरमा चित्रकला तालिम, कार्यशाला र महोत्सव आयोजना गर्नुपर्छ। विद्यालयका पाठ्यक्रममा स्थानीय कला र संस्कृतिलाई समावेश गर्नु उत्तिकै अत्यावश्यक छ । यसले नयाँ पुस्तालाई आफ्नो सांस्कृतिक र पारम्परिक जरा चिन्न सहयोग गर्नेछ।
यसको महत्त्वपूर्ण पाटो आर्थिक हो। नेपालका कतिपय हस्तकलामा आधारित समुदायहरूले आफ्ना उत्पादन र पारस्परिक ज्ञानलाई बजारसँग जोडेर उल्लेखनीय सफलता हासिल गरेका उदाहरण पनि छन्। परम्परागत सिपलाई आधुनिक बजारसँग जोड्दा आयआर्जन मात्र होइन, सामूहिक पहिचान पनि बलियो हुन्छ। थारू भित्ते चित्रकलालाई पनि हस्तकला, डिजाइन, सजावट सामग्री, पर्यटन उत्पादन वा सांस्कृतिक ब्रान्डिङसँग जोड्न सकिन्छ। होटल, रिसोर्ट, होमस्टे र सार्वजनिक संरचनामा यी कलाको प्रयोगले कलाकारलाई रोजगारी दिन सक्छ र कलालाई जीवन्त राख्न मद्दत पुग्छ। यसरी स्थानीय अर्थतन्त्रलाई समेत सुदृढ बनाउन सकिन्छ।
यसका साथै आधुनिक संरचनामा पनि यो पुरानो परम्पराको पुनःस्थापना गर्न सकिन्छ। सिमेन्टका भित्तामा पनि पेन्टमार्फत परम्परागत चित्र बनाउने अभ्यासलाई प्रोत्साहन गर्नुपर्छ। यसले पुरानो र नयाँबिच पुलको काम गर्नेछ । साथै, नयाँ पुस्तालाई आकर्षित गर्न डिजाइनमा नवप्रयोग, रङ संयोजन र आधुनिक विषयवस्तुको संयोजन पनि आवश्यक हुन सक्छ।
यसैगरी, थारू कलाकारलाई आर्थिक प्रोत्साहन, अनुदान र बजार पहुँच आवश्यक छ। संग्रहालय, सांस्कृतिक केन्द्र र सार्वजनिक स्थलहरूमा यी कलाको प्रदर्शनले यसको मूल्य बढाउनेछ। साथै, डिजिटल माध्यममार्फत यसको प्रचारप्रसारले अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन सकिन्छ। ई–कमर्स र सामाजिक सञ्जालमार्फत यी कलालाई विश्व बजारमा पु¥याउन सकिने सम्भावना पनि उत्तिकै बलियो छ।
प्रस्ट छ, यो केवल संरक्षणको मात्र प्रश्न होइन, पहिचानको पनि प्रश्न हो । जब भित्ताबाट चित्र मेटिन्छन्, त्यतिबेला इतिहास पनि मेटिन्छ। तर अझै ढिलो भइसकेको छैन। अहिलेकै पुस्ताले सचेत निर्णय लियो भने भोलि फेरि थारू गाउँका भित्तामा मयूर नाच्नेछन्, हात्ती हिँड्नेछन् र जीवनका कथाहरू फेरि रंगिनेछन्।
त्यसैले जोगाउनुपर्ने केवल चित्र मात्र होइन, त्यसले बोकेको हाम्रो सभ्यता पनि हो।
प्रकाशित: २६ चैत्र २०८२ ०५:५४ बिहीबार

