७ माघ २०८२ बुधबार
image/svg+xml
सम्पादकीय

उत्साहपूर्ण उम्मेदवारी

आमनिर्वाचनमार्फत् लोकतन्त्रले नृत्य गर्छ। अनेकन् विचार र विधाबाट राष्ट्रिय राजनीतिको महायज्ञमा होमिने अवसर निर्वाचनले दिन्छ। निर्वाचन नै एउटा यस्तो महाअभियान हो, जसले लोकतन्त्रमा सत्ताको सहज हस्तान्तरण गर्छ। 

कुनै पनि दल वा नेताले गरेका कामलाई स्वीकार वा अस्वीकार गर्ने जिम्मेवारी निर्वाचनलाई हुन्छ। अहिलेसम्मको शासन सत्ता चित्त बुझेन भने नयाँलाई जिम्मा लगाउने अवसर पनि निर्वाचन हो। सार्वभौम नागरिकले आफ्नो मताधिकारमार्फत् मुलुकको भाग्य र भविष्य परिवर्तन गर्ने महान् अवसर निर्वाचन हो।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार साँझ ५ बजेसम्ममा देशभरिबाट दुई हजार ६ सय ५५ भन्दा बढी व्यक्तिले उम्मेदवारी दाखिला गराएका छन्। देशभरिका एक सय ६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष रूपमा निर्वाचित हुने प्रतिनिधिसभा सदस्यका लागि यो निर्वाचन हुन लागेको हो। यही निर्वाचनमा समानुपातिकतर्फका एक सय १० जना जनप्रतिनिधिसमेत छनोट हुनेछन्। प्रत्यक्ष र समानुपातिकतर्फका दुई सय ७५ जना प्रतिनिधिसभामा निर्वाचित हुनेछन्। प्रत्येक पाँच वर्षमा आयोजना हुने प्रतिनिधिसभा निर्वाचनको पालो २०८४ सालमा आउने भए पनि गत भदौको जेनजी आन्दोलनले यसलाई दुई वर्ष अगावै आयोजना गर्नुपर्ने अवस्था आएको हो।

जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि मुलुक निर्वाचनमा प्रवेश गरेको हो। निर्वाचनमा मनोनयन पनि भइसकेपछि मुलुक पूर्ण रूपमा आफ्ना नयाँ जनप्रतिनिधि छनोट गर्ने महाअभियानमा प्रवेश गरेको छ। जेनजी आन्दोलनपछि मुलुकको अवस्था हिजोको जस्तो छैन। दलहरूमाथि परिवर्तनको चर्को दबाब परेको छ। मुलुकमा नयाँ राजनीतिक दलको पनि उदय भएको छ। यस हिसाबले मुलुकमा विद्यमान पुराना र नयाँ दलले आम मतदाताबाट स्वीकृति लिएपछि बल्ल भोलिको मुलुकको राजनीतिक शक्ति सन्तुलनबाट बुझ्न सक्नेछन्। अहिले नै को बलियो वा को कमजोर भन्ने छिनोफानो भइसकेको छैन। अब ४४ दिनमा यो मुलुक निर्वाचन गरिरहेको हुनेछ। 

यस पटक देखिएको मनोनयन प्रक्रियाबाट निर्वाचन निकै रोमाञ्चक हुने संकेत मिलेका छन्। विगत निर्वाचनमा सरिक नभएका नयाँ अनुहार पनि यस पटक देखिएका छन्। अझ रोचक पक्ष, सूचना प्रविधिको उच्चतालाई यस पटकको निर्वाचनमा गरिने प्रयोग महसुस गर्न पाइनेछ। सूचना प्रविधिको प्रयोग मात्र होइन, दुरुपयोगको पनि उत्तिकै खतरा छ। पछिल्ला वर्षहरूमा यसलाई दुरुपयोग गर्न जान्नेहरूले निर्वाचनलाई आफ्नो पक्षमा पारेको देखिएको पनि छ। लोकरिझ्याइँ र अल्गोरिदमको गठ जोडबाट जनमतलाई उलटफेर गराउन सकिने अवस्था पनि अहिले छ। 

त्यसै गरी पछिल्ला वर्षहरूमा कुसूचनाको बाढी आइरहेको छ। यसबाट निर्वाचनलाई कसरी जोगाउने र मतदाताले सही निर्णय गर्न सक्ने अवस्था कसरी ल्याउन सकिन्छ भन्ने चिन्ता अहिले सर्वत्र छ। गलत सूचनाकै आधारमा बेठिक मानिसलाई प्रतिनिधि बनाएर पठाउने अवस्था आउँदा मुलुकले त्यसको मूल्य भविष्यमा चुकाउनुपर्ने हुन्छ। यसै पनि हाम्रो मुलुकमा उच्चतम प्रतिनिधित्वसहितको लोकतान्त्रिक व्यवस्थाले समेत राम्ररी काम गर्न नसकेको अवस्था छ। गलत व्यक्तिको चयन हुँदा सही व्यवस्थाले पनि काम गर्न सक्दैन। यस्तो अवस्थामा आम मतदाताको सही निर्णयले मात्र मुलुकको गुमेको अवसरलाई फर्काउन सकिन्छ। 

यस पटकको निर्वाचनमा यतिका धेरै उम्मेदवार खडा भए पनि विगतमा झैं फेरि पनि महिला सहभागिता कम देखिएको छ। प्रत्यक्ष निर्वाचनमा महिलाले बढीभन्दा बढी उम्मेदवारी पाउन नसकेको विगतको अनुभव यस पटक पनि दोहोरिएको छ। पछिल्लो तथ्यांकअनुसार करिब तीन सय मात्र महिला उम्मेदवार बनेका छन्। पुरुष उम्मेदवार संख्या चार गुणाभन्दा बढी छ। प्रत्यक्ष निर्वाचनमा सहभागी हुन महिलालाई अझै पनि अहिलेको निर्वाचन प्रणालीले मद्दत गरेको छैन भन्ने फेरि पनि पुष्टि भएको छ। अतः आगामी दिनमा निर्वाचन प्रणालीमा सुधार गर्दा यस्ता पक्षमा समेत ध्यान दिनुपर्ने हुन्छ। 

निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको दाबी विरोधका लागि बुधवार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय निर्वाचन आयोगले छुट्याएको छ। त्यसपछि मात्र उम्मेदवारीको वास्तविक स्थिति थाहा हुनेछ। तथापि, दलहरूले जुन उत्साहसाथ उम्मेदवारी दिएका छन्, त्यसले निर्वाचनलाई निकै रोचक बनाउने देखिएको छ। नेपालले पटक पटक लोकतन्त्रको यो अभ्यास गरेको हुनाले यसप्रतिको आकर्षण ठुलो छ। त्यति मात्र होइन, पछिल्ला वर्षहरूमा निर्वाचन शान्तिपूर्ण हुने गरेका छन्। यस पटक पनि निर्वाचनलाई भयरहित र शान्तिपूर्ण बनाउन निर्वाचन आयोगको अगुवाइमा राज्यका निकाय सक्रिय हुनुपर्छ। गजब पक्ष भनेको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले यो महानतम् कार्यलाई शिरोधार्य गरेको छ। निर्वाचनप्रतिको अर्जुन दृष्टिलाई यो सरकारले आत्मसात् गरेको छ। यसकारण पनि निर्वाचनको सुनिश्चितता प्रस्टसँग देखिएको छ।

प्रकाशित: ७ माघ २०८२ ०६:०५ बुधबार

Download Nagarik App
Download Nagarik App