प्रमुख विपक्षी नेपाली कांग्रेसको आधिकारिकताका सम्बन्धमा देखिएको अन्योलको अन्त्य भएको छ। सर्वोच्च अदालतले शुक्रबार गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले दिएको आदेशसँगै लामो अन्योलको स्थितिबाट थापालाई दल अगाडि बढाउने वैधता प्राप्त गरेको छ। निर्वाचनको मुखमा कांग्रेस विशेष महाधिवेशन सम्पन्न गरेपछि नेतृत्वमा पुगेका थापाका निम्ति एउटा गम्भीर परीक्षाको स्थिति आएको हो। निर्वाचनमा कांग्रेसको कमजोर प्रदर्शनका कारण उनीमाथि आक्रमण गर्ने पक्षलाई निकै सहज भए पनि दलको आधिकारिकता पाउँदा उनलाई भावी तयारी गर्न सहज हुनेछ।
निर्वाचन यसै पनि आफूले भनेजस्तो हुँदैन। त्यसमा पनि कांग्रेसले अहिले भोगेको स्थिति एक दिनमा तयार भएको होइन। त्यसका निम्ति गगनमाथि मात्र दोष देखाएर आफूलाई पानीमाथिको ओभानो ठान्नुपर्ने अवस्था छैन। कांग्रेसको आजको हविगत गगन पक्षले होइन, बरु दलभित्र हिजोको अपारदर्शी अभ्यास यसको कारक हो। वास्तवमा गगनको नेतृत्वमा दलमा विद्रोह भएपछि बरु धेरथोर कांग्रेसको इज्जत रहेको हो। त्यसैले दललाई अहिलेसम्म चलाएको ढंग नमिल्दा र निर्वाचनमा अपेक्षित परिणाम नआउँदा त्यसको दोष गगन र उनको टिमलाई दिएर उम्किन सक्ने अवस्था रहँदैन। कांग्रेस भनेको अहिलेसम्म लोकतन्त्रको एउटा महत्त्वपूर्ण दल हो। अन्य दलहरूले अधिनायकवादी धारणा बोक्दा पनि खुला र उदार विचारधारा बोक्ने दलका रूपमा कांग्रेसप्रति मुलुकका लोकतन्त्रमा विश्वास गर्ने व्यक्तिहरूको पनि विश्वास रहेको हो।
हाम्रो मुलुकमा दुई खाले दलहरूको उपस्थिति छ। पहिलो, तत्कालीन राणाकालीन शासन व्यवस्थाप्रति अनिच्छा दर्साउँदै कांग्रेस र वामपन्थी दलको उदय भएको हो। तिनले पञ्चातकालमा पनि लामो संघर्ष गरेका छन्। पञ्चायतका ३० वर्षे पट्यारलाग्दा दिनमा पनि स्वतन्त्रता, उदारवाद र प्रजातन्त्रको धिपधिपे बत्ती तिनले जोगाएर आएका छन्। दोस्रो, मुलुकमा लोकतान्त्रिक शासन व्यवस्था स्थापनापछिको खुला वातावरणमा जन्मिएका दलहरू। राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी आदिको जन्म पछिल्लो समयमा भएको हो। २०४६ सालको जनआन्दोलनपछि मधेसका मागलाई लिएर जन्मिएका दलहरू पनि अहिले कमजोर अवस्थामा देखिएका छन्। खासगरी कांग्रेस र एमालेको कार्यशैलीका कारण यी दलका निम्ति सहज वातावरण तयार भएको हो। खासमा मुलुकमा सही ढंगले शासन सञ्चालन नभएको ठानेर नै वैकल्पिक राजनीतिक दलको उदय भएको हो। त्यही वैकल्पिक राजनीति आज मुलुकको मूलधारको राजनीतिका रूपमा उपस्थित छ।
यो अवस्थामा अहिले विशेष गरी कांग्रेस र नेकपा (एमाले) का निम्ति फेरि बलियो दल बनेर मुलुकको शासन सत्ताको केन्द्रमा फर्किन चुनौतीपूर्ण अवस्था सिर्जना भएको छ। त्यसका लागि उनीहरूले गत फागुन २१, २०८२ को निर्वाचनबाट गतिलो पाठ सिकेका छन्। २०८२ भदौ २३–२४ को जेनजी विद्रोह र त्यसको आडमा मुलुकमा भएको आगजनी, तोडफोड र विध्वंसपछि कांग्रेसले सुध्रिन चाह्यो। त्यसैको परिणामस्वरूप गगन र उनको समूह ‘कांग्रेस लास र दासको पार्टी होइन’ भन्ने उद्घोष भृकुटीमण्डपबाट गर्दै अगाडि बढ्यो। तर, यही स्थिति एमालेमा देखिएन। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि महाधिवेशनमार्फत आफ्नो नेतृत्व सुनिश्चित गरेका छन्। मुलुकको राजनीतिमा ओलीको योगदान आफ्नो ठाउँमा छ। तर, दलहरूमा क्रमशः नेतृत्व परिवर्तन र नयाँ मानिसहरूको प्रवेशको वातावरण सहज नहुँदा पछिल्ला दिनमा नकारात्मक प्रभाव परेको छ। दलभित्रै सशक्त विद्रोह गर्ने अवस्था त्यहाँ रहेन।
मानिस उमेरका आधारमा हट्नुपर्छ भन्ने होइन तर एउटा खास समयमा योगदान गरिसकेपछि क्रमशः दलमा अरूको आगमनको स्थान सुनिश्चित हुनुपर्छ। यही स्थिति एमालेमा नदेखेको हुन सक्छ। त्यसैगरी पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दल नेकपा (माओवादी)लाई इतिहासको गर्तमा छाडेर हिँडेका छन्। अहिले उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व गरिरहेका छन्। अहिले आएर दाहाल र ओलीबिच एकताको चर्चा पनि चलिरहेको छ। दुवै नेताको आफ्नो समयमा अनुपम योगदान भएर पनि आज मानिसहरूले नपत्याउने अवस्था आएको छ। विगतमा स्वयं दाहालको एक झल्को देख्न लालायित मानिसहरू आज कता हराए ? किन सबैले उनीहरूको आलोचना गरिरहेका छन् ? यो स्थितिलाई बुझेर पनि अब दलहरूले आफ्नो पुनर्गठनको तयारी थाल्नु उचित हुन्छ। यो नै समयको माग हो।
निर्वाचनमा पराजित भएपछि गगनलाई राजीनामा गर्न दबाब दिइएको देखियो। उनले राजीनामा पनि गरे तर दलको नेतृत्वले उनलाई राजीनामा गराउन चाहेन र जिम्मेवारीमा फर्किए। उनले अब दलको महाविधेशन गराएर त्यसलाई विधिसम्मत ढंगले अगाडि सञ्चालन गर्न सक्ने अवस्था छ। गगनको जीवनमा संघर्षको अन्त्य भएको देखिएको छैन। संघर्षै संघर्षले खारिएर आएका उनले पक्कै पनि दललाई अगाडि बढाउन विशेष तयारी गरेको हुनुपर्छ। पूर्ण जिम्मेवारी पाएपछि त्यसलाई ठिक ठाउँमा पुर्याउनैपर्ने हुन्छ।
मुलुकका वाम दलहरू सुध्रिएनन् भने स्वाभाविक रूपमा त्यसप्रति आस्था राख्ने ठुलो समुदाय पनि नयाँ दल वा कांग्रेसतर्फ आकर्षित हुन सक्छन् । यो अवस्थालाई बुझेर सबैले आफ्नो दलमा सुधारतर्फ लाग्नुपर्ने देखिएको छ। नेपाल जहिल्यै लोकतान्त्रिक अपेक्षाबाट अग्रसर मुलुक हो। अब गगन नेतृत्वको कांग्रेसले लोकप्रियतावादबाट नडराई अगाडि बढ्ने हिम्मत गर्नुपर्छ। कुनै पनि दलमा लोकतन्त्र विरोधी पक्ष हाबी भयो भने स्वाभाविक रूपमा त्यो दृश्यपटलबाट हट्ने निश्चित छ। मुलुकको लोकतान्त्रिक वातावरणलाई निरन्तरता दिन खरो उत्रिन सक्ने दलकै निम्ति यहाँ अवसर छ। त्यो पक्षलाई गगनले बुझेर अगाडि बढ्नु उचित हुनेछ।
प्रकाशित: ६ वैशाख २०८३ ०६:०४ आइतबार

