चालु आर्थिक वर्षको आठ महिनामा मुलुकको व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ रहेको छ। अनि यही आठ महिनामा मुलुकले सवा २९ अर्बको धानचामल मात्रै आयात गरेको छ। व्यापार घाटा किन बढिरहेको छ ? यसको जवाफ यी दुई पंक्तिले दिन्छन्। आफ्नै मुलुकमा उत्पादन हुन सक्ने सामग्रीसमेत बाहिरबाट ल्याउनुपरेको छ। देशबाट उत्पादन भएका सामग्री निर्यात गर्ने र अत्यावश्यक सामग्री मात्र भित्र्याउने हो भने मात्र व्यापार घाटा कम गर्न सकिन्छ। मुलुकको व्यापार सन्तुलनका निम्ति प्रभावकारी उपाय अवलम्बन गर्न सकेको देखिएन।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकका आधारमा व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ पुगेको हो। गत आर्थिक वर्षको यही अवधिको व्यापार घाटाभन्दा एक खर्ब ११ अर्ब रुपैयाँ बढी रहेको छ। हाम्रोजस्तो अर्थतन्त्रका निम्ति यो निकै ठुलो बोझ हो। विशेष गरी हाम्रो मुलुकले खाद्यान्न, तरकारी, फलफूल र उद्योगका निम्ति कच्चा पदार्थ विदेशबाट ल्याइरहेको छ। चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९१ अर्ब ११ करोड रुपैयाँको वस्तु निर्यात भएको छ। चालु आर्थिक वर्षका सुरुआती महिनामा व्यापार बढेको भए पनि पछिल्ला महिनामा वृद्धिदरमा कमी आएको छ।
ठुला अर्थतन्त्र भएका मुलुकले पनि यतिबेला कठिनाइ महसुस गरिरहेका छन्। तिनका देशमा जाने हाम्रा वस्तु पनि घट्दा व्यापार घाटा विस्तार भइरहेको हो। भारतमा पनि आर्थिक मन्दी देखिएको छ। यसले पनि हाम्रो निर्यात घटाइरहेको देखिन्छ। अप्ठ्यारो अवस्था के छ भने हामीले आयात गर्ने वस्तुमा पेट्रोलियम पदार्थको हिस्सा निकै ठुलो छ। डिजेल मात्रै ८२ अर्ब रुपैयाँको आयात हुनु भनेको निकै असजिलो अवस्था हो। सुन मात्रै २३ अर्ब रुपैयाँको आयात भएको छ। भटमासको कच्चातेल ६६ अर्ब, पेट्रोल ४३ अर्ब, ग्यास ३७ अर्ब रुपैयाँको आयात भइरहेको छ।
व्यापार घाटा बढाउनमा एकातिर हाम्रो मुलुकमा नभएका पेट्रोलियम पदार्थप्रतिको विदेशी निर्भरता हो। अर्कातिर देशभित्रै उत्पादन हुने कृषिजन्य पदार्थ पनि आयात गरिएको छ। जसरी कुखुराको मासु उत्पादनमा नेपालले अत्यन्त राम्रो गरिरहेको छ, त्यसैगरी कतिपय कृषिजन्य उत्पादनमा यो अवस्था ल्याउन सकिन्छ। कृषि उत्पादन बढाएर देशभित्र मात्रै त्यसलाई उपभोग गर्न सक्दा पनि व्यापार घाटा काम हुन्छ। हाम्रोजस्तो चिसो हावापानी र भौगोलिक विविधता भएका स्थानमा उत्पादन हुने फलफूल, तरकारी र अनाज निर्यात गर्न सक्ने हो भने मनग्गे आम्दानी गर्न सकिन्छ।
कृषि उत्पादन गर्न नसक्ने खाडी मुलुकहरूले पनि हाम्रा उत्पादन खरिद गर्न सक्छन्। हाम्रो देशमा छुर्पीजस्ता अनौठा उत्पादन छन्, जुन पश्चिमा मुलुकमा कुकुरका निम्ति खान्की बनाउनसमेत लगेको देखिन्छ। हामीले कतिपय वस्तुमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न सक्दैनौं। तर हाम्रो विशिष्टताका आधारमा हुने यस्ता उत्पादनको बजार उल्लेख्य हुन सक्छ। कतिपय अवस्थामा स्वदेशी वस्तुलाई संरक्षण गर्दै बिक्री बढाउन पनि सकिन्छ। त्यसैले खासै धेरै प्रतिस्पर्धा गर्नु नपर्ने र हाम्रो मुलुकमा मात्र उत्पादन गरेर निकासी गर्न सकिने कृषिजन्य वस्तुको उत्पादन बढाउन सकिन्छ। त्यसैगरी आलु चिप्स, स्याउका सुक्खा चाना आदि वस्तुको उपयोग हुन सक्छ। अदुवाका परिकार अन्यत्र धेरै देखिन्छन्। हाम्रै माटोको उपजलाई उपयोग गरेर अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
हाम्रो मुलुकले पेट्रोलियम पदार्थमा बाह्य निर्भरता कम गर्न यहाँ विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिन सकिन्छ। त्यसैगरी हाम्रो आफ्नै उत्पादनको बिजुली सर्वसाधारणलाई दिने हो भने तिनले खाना पकाउन र अन्य घरायसी प्रयोजनमा उपयोग गर्न सक्छन्। देशका उपभोक्तालाई भन्दा सस्तोमा विदेशीलाई बिजुली बेच्नुभन्दा स्वदेशमै त्यसको उपभोगका निम्ति आमउपभोक्तालाई आकर्षित गर्न सकिन्छ। हाम्रो मुलुकको उर्जा, खाद्यान्नलगायतका क्षेत्रमा गरिने उत्पादन र उपभोगको विस्तारले धेरै फरक पार्न सक्छ। विदेशबाट जे पनि र जति पनि ल्याउन रोक्नु पनि पर्छ। खुला बजारको अर्थ आफ्नो देशमा उत्पादन भएका वस्तु वा सेवालाई संरक्षण नगर्ने भन्ने होइन।
जुनजुन मुलुकसँग हाम्रो व्यापार घाटा छ, त्यसलाई कम गर्न ती देश लक्षित सामग्री निर्यात गर्न सकिन्छ। त्यहाँका सरकारसँग समन्वय गरेर नेपाललाई आत्मनिर्भर बनाउने किसिमका सामग्री निर्यातको प्रबन्ध गर्नु उचित हुन्छ। हाम्रो देशको कामकाजी जनशक्ति विदेश गइरहेको छ। त्यसलाई देशमै राखेर आवश्यक पर्ने वस्तु वा सेवा उत्पादन गरी विदेश पठाउन सकिन्छ। हाम्रो मुलुकले जति सक्दो व्यापार घाटा कम गर्नतिर ध्यान दिनुपर्छ। त्यसका निम्ति रणनीतिक तयारी गर्नु आवश्यक देखिएको छ।
प्रकाशित: १० चैत्र २०८२ ०६:१८ मंगलबार

