२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml
सम्पादकीय

कूटनीतिक कार्यभार

प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकमा रहेका कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई बुधबार दिएको सामूहिक भेटबाट देशले यस क्षेत्रको व्यवहारलाई परिभाषित गर्न खोजेको ठानिएको छ। अहिलेसम्म हामीले कूटनीतिक क्षेत्रलाई एउटा ठट्टाको विषय मात्र बनाएको र मुलुकको राजनीतिक नेतृत्वले यसमा अडान लिन नसकेको आरोप लाग्दै आएको पनि हो। सामान्यतः मित्र मुलुकका कूटनीतिक कर्मचारी वा व्यक्ति आइपुग्नासाथ प्रधानमन्त्री, मन्त्री र सुरक्षा निकायमा सहजै पहुँच पाउँदै आएका हुन् । अझ आश्चर्यको पक्ष त हाम्रा कूटनीतिक व्यक्तिले विदेशमा त्यही स्तरको भेट पाउने अवस्था नरहेको हो । तिनले आफ्नो ओहदाको प्रमाणपत्र बुझाउनसमेत महिनौं कुर्नुपरेको दुःखद अवस्थाको अनुभव हामीलाई छ।

स्वाभाविक रूपमा हाम्रो मुलुक पुरानोमध्येमा पर्छ। तर, विदेशी चलखेल र यसको कूटनीतिले भने बेलाबेलामा आश्चर्यमा पारेको हामीले देख्दै आएका हौं। परराष्ट्र मन्त्रालय भए पनि त्यसलाई कमै मात्र भाउ दिने गरेको देखिन्थ्यो । प्रधानमन्त्रीसँगको भेटमा विदेशी राजदूतले उपरखुट्टी लगाएर भेटेको घटनाक्रम पनि बेलाबेलामा आँखाको कसिंगरजस्तो नलाग्ने होइन। त्यसमा पनि विरक्तलाग्दो अवस्था त्यतिबेला देखिने हो, जसमा प्रधानमन्त्रीले विदेशी मुलुकका प्रतिनिधिलाई भेट्दा दिएका धारणा र विदेशीले नेपालका निम्ति व्यक्त गरेका विचारको कुनै अभिलेख राख्ने गरिएको थिएन। प्रधानमन्त्रीले भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि हुनुपर्छ भन्ने धारणा आउने गरेको पनि हो। आखिर देशका निकायले गर्ने प्रत्येक व्यवहार भावी कूटनीतिका निम्ति सन्दर्भ पनि हुन् । तिनमा विचार गरेको देखिएको छैन।

देशभित्र हाम्रा विचार र विविधता हुन सक्छन् । तर परराष्ट्र नीति भनेको सबैको एउटै हुनुपर्छ । मुलुकले लिएको यो नीतिमा सबैले सहमति राखेर काम गर्नुपर्ने हुन्छ । यो पक्षलाई बेलाबेलामा बेवास्ता गरेको देखिएको छ। कसैको पालामा चीनतिर, कसैको पालामा भारततिर र कसैको पालामा अमेरिका र पश्चिमा मुलुकतिर झुकाव रहेको देखिएको पनि हो। नेपाललाई ‘दुई ढुंगाबिचको तरुल’को उपमा दिँदै यसमा विचारपूर्वक अगाडि बढ्नुपर्ने हाम्रो परराष्ट्र नीति रहँदै आएको हो। कुनै पनि मुलुक विशेषको कार्ड खेल्दा त्यसले कालान्तरमा राम्रो गर्दैन भन्ने अनुभूति भइसकेको छ। कतिपय मुद्दामा सरकारअनुसार संयुक्त राष्ट्रसंघमा गरिने मतदानमा दिइने निर्णयसमेत फरक भएका छन्। यो दलको भन्दा पनि मुलुकको नीतिअनुसार हुनुपर्ने हो।

प्रधानमन्त्री शाहको कार्यकालको प्रारम्भमा सबै देशसँग विश्वास, पारस्परिक सम्मान र दीर्घकालीन सहकार्यमा आधारित सम्बन्ध विकास गर्ने कुरा गरिएको छ । त्यसैगरी मित्र मुलुकहरूसँग विकास, व्यापार, जलवायु कार्य, लगानी र जनस्तरमा सम्बन्ध विस्तारमा सहकार्य गर्ने भनिएको छ। बाह्य मुलुकसँगको सम्बन्ध साझा समृद्धिको लक्ष्यद्वारा निर्देशित हुने दृढता व्यक्त गरिएको छ। वैश्विक शान्तिमा नेपालले खेल्ने भूमिका, राष्ट्रिय हितअनुकूल नेपाललाई क्षेत्रीय र वैश्विक आर्थिक संरचनामा अझ मजबुत बनाउनेजस्ता अवधारणालाई अघि सारिएको छ।

आजको दिनमा मुलुकले भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर काम गर्नु आवश्यक देखिएको छ। विश्व आज विभाजित अवस्थामा पुगेको छ। शक्तिशाली मुलुकहरूले आफ्नो फाइदाका निम्ति अन्य मुलुकहरूमाथि दमनात्मक नीति पनि अख्तियार गरेका छन्। कुनै एउटा पक्षमा लाग्दा अन्य मुलुकबाट शत्रुतापूर्ण व्यवहार सामना गर्नुपर्ने जटिल अवस्था पनि छ। यसकारण पनि नेपालले असंलग्नताको नीतिलाई अख्तियार गर्दै सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्न सक्नुपर्छ। नेपालले विश्वका कैयन् मुलुकसँग सम्बन्ध राखेको छ । त्यो सम्बन्धलाई बलियो बनाउँदै सबैबाट विश्वासपूर्वक हेरिने शक्तिका रूपमा नेपालको उदय आवश्यक छ।

हामीले विगतमा हाम्रो परराष्ट्र नीतिलाई धेरै सस्तो बनाएका छौं। कतिपय अवस्थामा हामी आफ्ना निजी स्वार्थबाटसमेत प्रेरित भएको आरोप लाग्दै आएको छ । छिमेकीको संवेदनशीलतामा खेल्न खोज्ने प्रवृत्ति किमार्थ स्वीकार्य हुन सक्दैन । कहिले भारत कार्ड र कहिले चीन कार्ड प्रयोग गर्न पनि खोजिएको हो विगतमा। वास्तवमा हामीले नेपालको हितबाहेक अन्य पक्षमा ध्यान दिन सक्दैनौं। यो नै हाम्रो हितमा छ।

हामीले परराष्ट्र मन्त्रालयलाई सशक्त बनाउने र त्यसैमार्फत् सबै मुलुकसँगको हिजोको बिग्रिएको कूटनीतिलाई सुधार गर्ने हो। हामीले काम नपाएजस्तो जुनसुकै स्तरका व्यक्तिलाई प्रधानमन्त्रीसम्म पहुँच दिने पनि होइन। मुलुकले कूटनीतिक आचारसंहिताको पालनामा ध्यान दिनुपर्छ। प्रधानमन्त्री शाहको एउटै कदमले पनि मुलुकमा सकारात्मक सन्देश गएको छ। हाम्रो मुलुक सानो वा कम प्रभावको छ भन्ने भन्दा पनि आफैंले यसको प्रभाव विस्तार गर्न सक्षम हुनुपर्छ। मुलुकलाई प्रतिनिधित्व गर्ने प्रत्येक मन्त्री, सांसद, कर्मचारीले पनि कूटनीतिक मर्यादा सिक्नु र तदनुकूलको व्यवहार गर्नुपर्छ। मुलुकलाई प्रतिनिधित्व गर्दा सिकारुपन भन्दा व्यावसायिक उपस्थिति महत्त्वपूर्ण हुन्छ।

प्रकाशित: २७ चैत्र २०८२ ०६:०१ शुक्रबार

Download Nagarik App