सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगन्जमा हिन्दु र मुस्लिम समुदायबिच आइतबार भएको झडपमा एकको मृत्यु, दुई दर्जनभन्दा बढी सर्वसाधारण र सुरक्षाकर्मी घाइते भएका छन्। अवस्था असामान्य बन्दै गएपछि स्थानीय प्रशासनले घटनास्थल वरपरका क्षेत्रमा कर्फ्यु लगाउनुपर्ने अवस्था सिर्जना भयो।
साउन महिनामा हुने बोलबम यात्राका क्रममा डिजे बजाउने विषयमा विवाद सुरु भएको हो। त्यो बढ्दै जाँदा साम्प्रदायिक सद्भावमा खलल पुग्ने अवस्था सिर्जना भएको छ। त्यससँगै सोमबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सद्भाव, शान्ति-सुरक्षा कायम राख्ने, अफवाहबाट टाढा रहने, सुरक्षा निकायलाई सहयोग गर्ने र गृह मन्त्रालयले गठन गरेको छानबिन समितिलाई सघाउने साझा प्रतिबद्धता जनाएको छ।
जनप्रतिनिधि, राजनीतिक दल, धार्मिक तथा सामाजिक अगुवाले पनि आफ्ना समुदायमा संयम र सद्भावको सन्देश फैलाउने निर्णय गरेका छन्। जुन सुखद पक्ष हो भने नेपाल र नेपालीको चरित्र पनि हो। त्यसको इमानदारीसाथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता देखिन्छ। बैठकका निर्णय गाउँ-टोलसम्म व्यवहारमा उतार्न सकिएन भने कागजमा भएका प्रतिबद्धताले मात्र समाजमा फैलिएको अविश्वास मेटाउन सकिँदै न।
पृथ्वीनारायण शाह ‘नेपाल चार वर्ण ३६ जातको फूलबारी हो’ भनेका छन्। त्यसलाई नै आत्मसात् गर्दै नेपालमा भएका सबै जात, धर्म, संस्कृति र भूगोलका जनताको समान अधिकार संविधानमा नै सुनिश्चित गरिएको छ। नेपालको संविधानले सबै नागरिकलाई धार्मिक स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको छ तर यो स्वतन्त्रता अरूको आस्था, अधिकार र सम्मानसँग पनि गाँसिएको हुन्छ। आफ्नो धर्म र संस्कृतिको अभ्यास गर्ने अधिकार जति महत्वपूर्ण छ, अर्को समुदायको धार्मिक संवेदनशीलताको सम्मान गर्नु पनि त्यत्तिकै आवश्यक छ।
संस्कृति र सामाजिक विविधताका हिसाबले तराई-मधेस नेपालको अनुपम विरासत हो। यहाँ हिन्दु, मुस्लिम, बौद्ध, किराँत, सिख, जैन लगायत विभिन्न धर्मावलम्बीहरू शताब्दीयौंदेखि एउटै समाजका सदस्यका रूपमा बस्दै आएका छन्। हिन्दु र मुस्लिम समुदायबिचको सम्बन्ध केवल छिमेकीको सम्बन्ध मात्र होइन, उनीहरू एउटै बजारका व्यापारी, एउटै खेतका किसान, एउटै विद्यालयका अभिभावक र एउटै गाउँका नागरिक हुन्। इदमा हिन्दु साथीहरू शुभकामना दिन पुग्छन्, छठमा मुस्लिम समुदायले व्यवस्थापनमा सहयोग गर्छन्। सुखमा मात्र होइन।
दक्षिण एसियाको पछिल्लो राजनीतिक परिवेशले पनि नेपाललाई थप सचेत रहन बाध्य बनाएको छ। धार्मिक पहिचानलाई राजनीतिक ध्रुवीकरणको माध्यम बनाने प्रवृत्ति छिमेकी मुलुकहरूमा बढ्दो छ भने सामाजिक सञ्जालले त्यसलाई झन् तीव्र बनाइदिएको छ। सुनसरी घटनापछि पनि सामाजिक सञ्जालमा आएका केही अभिव्यक्तिले संयमभन्दा उत्तेजनालाई बढावा दिएको देखिएको छ। त्यसैले सर्वपक्षीय बैठकले अफवाहबाट टाढा रहन सबै पक्षलाई गरेको आह्वानलाई गम्भीरतापूर्वक पालना गरिनुपर्छ। उत्तेजना बढाउने र अफवाहको पछि कुद्ने होइन, सत्य र सामाजिक सद्भाव र एकताको पक्षमा हामी सबै जुट्नुपर्छ।
यस घटनाले स्थानीय प्रशासन र सुरक्षा निकायको पूर्वतयारीबारे पनि प्रश्न उठाएको छ। धार्मिक जुलुस वा संवेदनशील कार्यक्रमअघि स्थानीय समुदाय, धार्मिक अगुवा र सुरक्षा निकायबिच पर्याप्त समन्वय भएको भए विवाद यति ठूलो हुने थिएन। कफ्र्यु तत्कालका लागि आवश्यक उपाय हुन सक्छ तर त्यो स्थायी समाधान होइन। कफ्र्युले सडक खाली गराउँछ, सर्वसाधारणको मनभित्रको अविश्वास हटाउँदै न। त्यसैले अहिलेको आवश्यकता समुदायबिच संवाद पुनस्स्थापना गर्नु, स्थानीय शान्ति समितिलाई सक्रिय बनाउनु र घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनअनुसार कारबाही गर्नु हो। गृह मन्त्रालयको छानबिन समितिलाई सबै पक्षले सहयोग गर्ने सर्वपक्षीय निर्णयले सत्य बाहिर ल्याउने वातावरण बनाउन मद्दत पुर्याउन सक्छ। त्यस्तै, जनप्रतिनिधि, धार्मिक तथा सामाजिक अगुवाले सद्भाव कायम गर्न थालेको पहल निरन्तर र परिणाममुखी हुनुपर्छ।
कानुन हातमा लिनेलाई कारबाही हुनु आवश्यक छ तर राज्यको बल प्रयोग कानुनी मापदण्डभित्र थियो कि थिएन भन्ने प्रश्नको उत्तर पनि जनताले पाउनुपर्छ। निष्पक्ष अनुसन्धानले मात्र पीड़ित परिवारलाई न्याय दिलाउँछ र समुदायमा फैलिएको शंका हटाउन सक्छ। तराईमा रहेको शताब्दीयौंदेखिको सहअस्तित्वको परम्परा कुनै क्षणिक उत्तेजना, अफवाह वा राजनीतिक स्वार्थका कारण भत्किन दिनुहुँदै न। अहिलेको आवश्यकता प्रतिरोध होइन, विश्वासको पुनर्निर्माण हो। यही विश्वासले मात्र तराईको शान्ति, नेपालको सामाजिक एकता र साझा भविष्यलाई सुरक्षित राख्न सक्छ।
प्रकाशित: १२ श्रावण २०८३ ०६:१० मंगलबार

