७ श्रावण २०८३ बिहीबार
image/svg+xml
सम्पादकीय

विश्वकपले जोडेको संसार

३९ दिनसम्म विश्वलाई एउटै लयमा बाँधेको फुटबल महोत्सव फिफा विश्वकप सोमबार टुंगिएको छ। ४८ राष्ट्रको सपना, सयौं खेलाडीको संघर्ष, करोडौं समर्थकको आशा, उत्साह र अपेक्षा थियो विश्वकप। न्युयोर्कको न्युजर्सी रंगशालामा भएको खेलमा अर्जेन्टिनामाथि १–० को जित निकाल्दै यसवर्षको उपाधि स्पेनले हात पारेको छ। युरोकप २०२४ जितेको दुई वर्षमा नै स्पेन विश्वकप च्याम्पियन बन्न पुगेको हो।

पहिलोपल्ट ४८ राष्ट्रमा विस्तारित यस विश्वकप हरेक खेल रोमाञ्चक बन्यो भने विश्व समुदायले नै यसलाई उत्सवका रूपमा मनाए। हुन पनि विश्वकपको सुन्दरता यही हो– संसारलाई एउटै विषयमा बोल्न बाध्य बनाउँछ। भाषा, संस्कृति, राजनीति र अर्थतन्त्रका प्राथमिकता फरक हुन्छन् तर विश्वकप चलिरहँदा चिया पसलदेखि संसद्, विद्यालयदेखि कार्यालय, सामाजिक सञ्जालदेखि पारिवारिक भेटघाटसम्म एउटै चर्चा हुन्छ। आज कसले जित्यो, भोलि कसले खेल्छ, को उत्कृष्ट देखियो। यसबिच फुटबल संस्कृतिले समय पाउँछ। विश्वभरको राजनीतिले पनि फुटबलका भाषा बोल्छन्। साथै विभाजित संसारलाई केही समयका लागि एउटै भावनामा बाँध्ने क्षमता सायद खेलकुदबाहेक अरू कुनै माध्यमसँग छैन। जुन श्रेय विश्वकप फुटबललाई जान्छ। साना राष्ट्रका अप्रत्याशित प्रदर्शन, दाबेदार टोलीहरूको उतारचढाव, भावनात्मक बिदाइ, नयाँ नायकहरूको उदय र अन्तिमसम्म कायम रहेको रोमाञ्चकताले यो संस्करणलाई अविस्मरणीय बनायो।  

४८ राष्ट्रको विस्तारित विश्वकप सफल हुन्छ कि हुँदैन भन्ने प्रारम्भिक आशंकालाई मैदानमा भएका खेलले नै गलत साबित गरिदिए। धेरै राष्ट्रले पहिलोपटक विश्वमञ्चमा आफ्नो क्षमता देखाउने अवसर पाए भने समर्थकहरूले आफ्ना खेलाडीलाई विश्वमञ्चमा हेर्न पाए। यसले विश्वकप फुटबल विस्तारित गर्ने फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको योजनाले पनि सार्थकता पायो।  

धेरै टोली सहभागी हुँदा विश्वकपको गुणस्तर घट्नेजस्ता अनेकन अनुमान थिए। तर, उत्तरी अमेरिकी राष्ट्रमा ती अनुमान गलत साबित भए। कमजोर मानिएका राष्ट्रले पनि अवसर पाउँदा आफूलाई प्रमाणित गरेर देखाइदिए। ३९ दिन लामो र सबैभन्दा धेरै टोली सहभागी भएको यो प्रतिस्पर्धामा अन्ततः सबैभन्दा राम्रो फुटबल खेल्ने टोली नै च्याम्पियन बन्यो। दर्जनौं अवसर सिर्जना गरेको स्पेनले गोलका लागि अतिरिक्त समय कुर्नुपरे पनि खेलको प्रवाह हेर्ने जो कोहीले वास्तविक हकदार को थियो भन्ने सहजै बुझ्न सक्थ्यो।  

अन्तिम खेलमा, साबिक विजेता अर्जेन्टिना आफ्नो स्तरअनुसार प्रस्तुत हुन सकेन। बल आफ्नो नियन्त्रणमा राख्न नसक्नु, सिर्जनात्मक आक्रमण बुन्न नसक्नु र स्पेनका मिडफिल्डको दबाब तोड्न नसक्नु उसका कमजोरी बने। अन्तिम समयमा गोल फर्काउने केही प्रयास भए पनि ती विश्वविजेता बन्न पर्याप्त थिएनन्। फुटबलमा कहिलेकाहीं भाग्यले पनि परिणाम बदल्छ। तर यसपटक भाग्यभन्दा उत्कृष्ट खेलले निर्णय गर्यो। केही वर्षअघिसम्म जाभी, इनिस्टा, कार्लोस पुयोल र कासिलासको पुस्ता बिदा भएपछि स्पेनी फुटबलको स्वर्णयुग सकिएको विश्लेषण गरिन्थ्यो तर प्रशिक्षक लुइस डे ला फुन्तेको प्रशिक्षणमा नयाँ पुस्ताले त्यो धारणालाई उल्टाइदियो। यसपटक लामिन यामाल, पाउ कुबार्सी, फेरान टोरेस, रोड्री, फाबियन रुइज र उनाइ सिमोनजस्ता खेलाडीले अनुभव र युवाशक्तिको सन्तुलन कस्तो हुनुपर्छ भन्ने उदाहरण प्रस्तुत गरे।  

गोल गर्ने मात्र होइन, बल रोक्ने, खेलको गति नियन्त्रण गर्ने, आवश्यक पर्दा बेन्चबाट आएर खेल बदल्ने सबैले आफ्नो भूमिका निर्वाह गरे। यही कारण विश्वकपभर स्पेन सबैभन्दा पूर्ण टोलीका रूपमा देखियो। सन् २०२४ मा युरोपेली च्याम्पियन बनेको स्पेनले अब विश्व च्याम्पियनको उपाधिसमेत जितेर अन्तर्राष्ट्रिय फुटबलमा नयाँ युगको संकेत दिएको छ। विश्व फुटबलका लागि यो एउटा सन्देश हो। प्रतिभा जन्मन सक्छ तर च्याम्पियन बन्न प्रणाली चाहिन्छ। विश्वकप सकिएको छ। अब रंगशालाहरू फेरि आफ्नै घरेलु प्रतियोगितातिर फर्किनेछन्। सामाजिक सञ्जालमा फुटबलका बहस बिस्तारै अन्य विषयले विस्थापित गर्नेछन् तर पछिल्ला ३९ दिनले संसारलाई फेरि सम्झाइदिएको छ कि खेलकुद मनोरञ्जन मात्र होइन, यसले सिमाना, भाषा, धर्म र राजनीति पार गरेर मानिसलाई एउटै भावनामा जोड्न सक्छ।

अहिले यो भावना नेपाली फुटबलमा देखिँदैन। जसको कारण नेपाली फुटबल (अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निलम्बन सामना गर्नुपरेको छ। नेपाली फुटबलको सरोकारवाला निजी स्वार्थमा सीमित हुँदा त्यसको असर फुटबलमा पर्यो, जसको अन्त्य कहिले हुने हो भन्ने निश्चित छैन। फिफाले सरकारी पक्षको हस्तक्षेपका कारण नेपालमाथि निलम्बन गरेको उल्लेख गरेको थियो। त्यसमा सत्यता पनि छ। पटकपटक फिफाले एन्फाको निर्वाचनलगायत अन्तर्राष्ट्रिय सहभागिता हस्तक्षेप नगर्न चेतावनी दिँदादिँदै पनि नेपाल सरकारले त्यसलाई बेवास्ता गर्यो। जसको कारण निलम्बन बेहोर्नुपर्यो। विश्व फुटबलमा रमाउँदा नेपालले उत्सव मनाए पनि यहीबिच नेपाली फुटबलले सबैभन्दा ठुला पीडा सामना गर्यो। यसको समाधानमा पनि सरकार नै अग्रसर हुनुको विकल्प छैन। फिफाबाट नेपाल भित्रने एक अर्ब लगानी जोगाउन सक्नुपर्नेछ। स्पेनको विजयी उत्सवसँगै फिफा निलम्बन हटाएर नेपाल सरकारले नेपाली फुटबललाई अगाडि बढाओस्। अहिलेका लागि स्पेनलाई बधाई छ, नेपाली फुटबललाई शुभकामना!

प्रकाशित: ५ श्रावण २०८३ ०६:१२ मंगलबार

Download Nagarik App