मुलुक यतिबेला अभूतपूर्व ऐतिहासिक मोडमा उभिएको छ। केही साता अघिसम्म राजनीतिक स्थिरताको खोजीमा रहेको हाम्रो देश अहिले युवाशक्तिको एउटा नयाँ र शक्तिशाली जागरणले सिर्जित गम्भीर संक्रमणबाट गुज्रिरहेको छ। सामाजिक सञ्जालमाथि प्रतिबन्धको एउटा निर्णयले सुरु भएको यो आन्दोलनले भ्रष्टाचार, कुशासन र राजनीतिक अपारदर्शिताप्रतिको नागरिक असन्तुष्टिलाई ज्वालामुखीजस्तै विस्फोट गरायो। यसले खासगरी युवा पुस्ताका आम नेपालीको आवाज सुन्नैपर्ने गरी बुलन्द बनाइदिएको छ। यो आन्दोलन केवल सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध मात्र थिएन, यो त न्याय, सुशासन र समानताको खोजीमा थियो।
यो आन्दोलनले हाम्रो राजनीतिक प्रणालीमा गहिरो जरा गाडेका संरचनागत समस्याहरूलाई सतहमा ल्याएको छ । वर्षौंदेखि सत्तामा रहेका दल र तिनका नेताले युवा आकांक्षा र सपनालाई बेवास्ता गरेको आरोप लाग्दै आएको हो। जब सामाजिक सञ्जालमा ‘नेपो किड्स’ वा ‘नातावाद’ र ‘आसेपासे’ हरूको विलासिताको पर्दाफास भयो, तब युवाहरूले आफूहरूको भविष्य खोसेर सीमित व्यक्तिको हातमा पुगेको महसुस गरे। यस आन्दोलनको पछाडि आर्थिक अभाव, गुणस्तरीय शिक्षाको कमी र रोजगारीका अवसरको अभाव जस्ता समस्याले पनि काम गरिरहेका थिए। विदेश पलायनको बढ्दो लहरले देश भित्रै केही गर्छु भन्ने सपना बोकेका युवाहरूमा नैराश्यता बढाएको थियो। त्यसैले यो आन्दोलनले एउटा नयाँ राजनीतिक चेतनाको जग बसालेको छ, जुन विरोधमा मात्र सीमित नभई एउटा वैकल्पिक र न्यायपूर्ण भविष्यको परिकल्पनामा आधारित छ।
नेपालको इतिहासमा राजनीतिक परिवर्तनका लागि गरिएका थुप्रै आन्दोलनमध्ये यो आन्दोलनको एउटा फरक विशेषता छ। विगतका आन्दोलन दल वा विशिष्ट नेताको नेतृत्वमा हुन्थे तर यो आन्दोलन कुनै राजनीतिक दल वा नेताको छायाँमा नभई स्वतः स्फूर्त रूपमा युवाहरूले सुरु गरेका हुन्। यो नेपालको लागि मात्र नभएर विश्वका लागि नै एउटा महत्वपूर्ण घटना हो, जहाँ प्रविधिको प्रयोग गरेर युवाहरूले आफ्नो शक्ति प्रदर्शन गरेका छन्। यसले राजनीतिक दलहरूलाई एउटा स्पष्ट सन्देश दिएको छ: अब पुराना शैली र सोचले काम चल्दैन।
यस आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्रीले राजीनामा दिएका छन् र अन्तरिम सरकारको गठन भएको छ। पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको यस सरकारलाई नागरिक समाज र युवाहरूले ठूलो आशा र विश्वासका साथ हेरेका छन्। उनको इमान्दारिता र भ्रष्टाचारविरुद्धको कडा अडानले यो सरकारले वास्तविक परिवर्तन ल्याउन सक्छ भन्ने संकेत दिएको छ तर यो संक्रमणकाल निकै चुनौतीपूर्ण छ। मुलुकमा भएका हिंसात्मक घटना, ज्यान गुमाएका निर्दोष नागरिक र भौतिक सम्पत्तिको क्षतिले हामी सबैलाई दुःखी बनाएको छ। यसबाट पाठ सिक्दै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्छ। प्रधानमन्त्री कार्कीमाथि मुलुकले भरोसापूर्ण नजरले यतिबेला हेरिरहेको छ। अहिलेको संक्रमण पार लगाउन सफल भए इतिहासले उनलाई सदैव सम्मान गर्ने अवस्था छ।
अबको बाटो शान्तिपूर्ण र रचनात्मक हुनुपर्छ। नयाँ अन्तरिम सरकारसामु ठूला जिम्मेवारीहरू छन्। सबैभन्दा पहिला, यसले शान्ति सुरक्षा बहाल गर्दै आन्दोलनका क्रममा भएको क्षति र ज्यादतीको निष्पक्ष छानबिन गर्नुपर्छ। दोस्रो, यसले युवा आन्दोलनका मागलाई सम्बोधन गर्दै सुशासनका लागि ठोस कदम चाल्नुपर्छ। यो ठूला भ्रष्टाचारका फाइल खोल्ने मात्र नभई दैनिक जीवनमा हुने सानातिना भ्रष्टाचारको अन्त्य गर्नमा पनि केन्द्रित हुनुपर्छ। यसका लागि प्रशासनिक सुधार, शिक्षा प्रणालीको पुनर्संरचना र रोजगारीका अवसर सिर्जना गर्नका लागि दीर्घकालीन नीति निर्माण अपरिहार्य छ। तेस्रो, यस सरकारको मुख्य जिम्मेवारी तोकिएकै समयमा स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण तयार पार्नु हो। समयमा निर्वाचन सम्पन्न हुँदा मुलुक सही बाटोमा लाग्छ।
यो समय राजनीतिक दलहरूले आत्मसमीक्षा गर्ने र जनताको विश्वास फिर्ता लिने अवसर हो। पुरानो राजनीतिक नेतृत्वले युवाहरूको ऊर्जा र मागलाई बेवास्ता गर्नु हुँदैन। उनीहरूले केवल चुनाव जित्न मात्र होइन, देशको दीर्घकालीन हितका लागि काम गर्ने प्रतिबद्धता जनाउनुपर्छ। चुनावी जनादेशले मात्र पुग्दैन, निरन्त जनसेवामा लागिरहनुपर्छ भन्ने यो सन्देश हो।
नेपालको भविष्य युवाहरूको हातमा छ र उनीहरूले अब राजनीतिक प्रक्रियामा सक्रिय सहभागिता जनाउनुपर्छ। देशले अब पुरानो शैलीको राजनीतिलाई स्वीकार गर्न सक्दैन। अन्तर्राष्ट्रिय समुदाय र सञ्चारमाध्यमले पनि यस संक्रमणकाललाई नजिकबाट नियाल्नुपर्छ, ताकि लोकतन्त्रका मूल्यमान्यताहरू सुरक्षित रहुन्। कुनै न कुनै बहानामा लोकतन्त्रमाथि घात भयो भने मुलुकले दीर्घकालसम्म दुःख पाउँछ। अहिले आएको समस्या पनि व्यवस्थाको होइन यसमा कार्यरत व्यक्तिहरूले देखाएको अदूरदर्शिताले हो। नागरिकले दिएको एक पटकको समर्थन सधैंका निम्ति जथाभावी गर्ने स्वीकृति होइन।
संसारका कैयन मुलुक खरानीबाट उठेर फेरि निर्माण भएका छन्। आन्दोलन कहिलेकाहीं एउटा अत्यावश्यक तत्व बनेर आउँछ । कैयन बेला उद्भवले सहज ढंगले अगाडि बढाउन सक्छ। सहज विकास क्रमलाई सहयोग गर्ने परिस्थिति भएन भने अहिलेका जस्ता सशक्त उपाय पनि आउँछन्। शासन सत्तामा रहने व्यक्तिमा अनाहकको घमण्ड भयो भने त्यसले क्षति गर्छ। राजनीतिलाई आफू र आफ्ना आसेपासेको हितको व्यवसाय मात्र बनाउन खोज्दा आम स्वीकृति रहँदैन। सबैको विश्वासले मात्र अगाडि बढ्न मदत पुग्छ।
अन्त्यमा यो कठिन समय हो तर यसले आशाका नयाँ किरण पनि ल्याएको छ। युवा साहस र नागरिक समाजको खबरदारीले नेपाललाई एउटा नयाँ र उज्यालो बाटोमा डोर्याउन सक्छ। अबको जिम्मेवारी सबै नागरिक, दल र सरकारको काँधमा छ। हामीले मिलेर, धैर्य र परिपक्वताका साथ अगाडि बढ्नुपर्छ, ताकि नेपाल यस संकटबाट सिक्दै अझ बलियो र समृद्ध राष्ट्रको रूपमा उभिन सकोस्। युवाहरूको आवाजलाई सम्मान गर्दै उनीहरूको सपनालाई साकार पार्ने एउटा नयाँ नेपाल निर्माणको यात्रामा सबैले हातेमालो गर्ने अवस्था आउन सकोस्।
प्रकाशित: २९ भाद्र २०८२ ०८:१७ आइतबार

