जतिसुकै सम्पन्न मुलुक भए पनि स्वच्छ हावामा सास फेर्न नपाउने मानिस सुखी होइनन्। देशले आर्थिक उन्नति गरे पनि स्वच्छ हावामा सास फेर्न सक्ने अवस्था सिर्जना गरिएन भने विकासका सबै प्रयास निरर्थक हुन्छन्। ताजा हावामा सास फेर्न पाउनेहरू साँच्चिकै भाग्यमानी हुन्। यसले मानिसलाई स्वस्थ जीवनयापनमा मद्दत गर्छ। अन्यथा अनेकन रोगको घर हुन्छ मानिसको जिन्दगी। प्रत्येक वर्ष हिउँद लाग्ने बेलामा प्रदूषणको चर्चा हुने गर्छ। खासगरी भारतमा दीपावली मनाएपछि र किसानले धानबाली भित्र्याए पछि प्रदूषण बढ्न थाल्छ। त्यसको असर क्रमशः नेपालमा समेत पर्छ। त्यसैले एउटा मुलुकमा प्रदूषण हुनु भनेको त्यहाँको मात्र समस्या होइन। अन्य ठाउँका निम्ति पनि यो उत्तिकै टाउको दुखाइको विषय बन्छ।
छिमेकी भारतको राजधानी सहर नयाँ दिल्ली फेरि प्रदूषणले आक्रान्त भएको छ। वायु प्रदूषणको स्तर जनस्वास्थ्यका लागि खतरनाक स्तरमा उक्लिएपछि यसबारे अन्तर्राष्ट्रिय सञ्चार माध्यमले समाचार र टिप्पणी प्रकाशित गरेका छन्। नयाँ दिल्लीको प्रदूषित हावालाई ‘मानवताविरुद्धको अपराध’का रूपमा चित्रणसमेत गरिएको छ। मानिसको सिधै ज्यान लिने घटनाजस्तो हुन पुगेको छ– वायु प्रदूषण। भारतलाई वायु प्रदूषणबाट विश्वमा हुने मृत्युमा सबैभन्दा माथि राखिएको छ। सन् २०१९ को एक तथ्यांकअनुसार १६ लाख ६० हजार मानिसको मृत्यु वायु प्रदूषणबाट एक वर्षमै भएको थियो।
विश्व स्वास्थ्य संगठनका अनुसार वर्षेनि वायु प्रदूषणबाट विश्वमा लाखौं मानिसको मृत्यु हुन्छ। वायु प्रदूषणबाट विश्वमै हुने मृत्युलाई अत्यन्तै खतरनाक अवस्थाका रूपमा चित्रण गरिएको छ। मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले गत असोज २१ मा जारी गरेको विज्ञप्तिअनुसार घरभित्र र बाहिरको प्रदूषणमा परी वर्षेनि ७० लाख मानिसको मृत्यु हुन्छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उद्धृत गर्दै सार्वजनिक गरेको उक्त जानकारीका आधारमा यो मृत्यु कोभिड– १९ का कारण विगत दुई वर्षमा भएकोभन्दा धेरै हो। कोभिड– १९ को सामनाका लागि विश्व जसरी एक भयो, त्यो स्थिति वायु प्रदूषणका निम्ति अझै आएको छैन। जुन मुलुकका बासिन्दा यसको सिकार भएका छन्, तिनले एक्लै भोग्नुपर्ने अभिशापजस्तो अवस्था हो यो।
धन्य, मानव अधिकार क्षेत्रले समेत यसमा ध्यानाकर्षण गर्न थालेको छ। जनधनको क्षतिका हिसाबले यो अन्य ठूला मानव विनाशका घटनाभन्दा कम छैन। तैपनि वायु प्रदूषणबाट हुने मृत्युलाई लिएर खासै ध्यान पुगेको छैन। वायु प्रदूषणले सबैलाई कुनै न कुनै रूपमा असर पारिरहेको हुन्छ। यसले धेरै प्रभाव भने खास किसिमको स्वास्थ्य समस्या भएका व्यक्ति, गर्भवती महिला, बालबालिका र वृद्ध व्यक्तिहरू यसबाट बढ्ता प्रभावित हुन्छन्। वायु प्रदूषणका असरका कारण हुने ९४ प्रतिशत मृत्युमा नसर्ने खालका रोगका बिरामी रहेका छन्, जसमा मुटुसम्बन्धी, स्ट्रोक, फोक्सोमा अवरोध र क्यान्सर पर्छन्।
अन्तर्राष्ट्रिय मानवअधिकार कानुनअनुसार पनि सम्बन्धित देशहरूले वायु प्रदूषण नियन्त्रणको जिम्मेवारी लिनुपर्छ। हाम्रो संविधानले समेत जीवन र स्वास्थ्य अधिकारलाई अंगीकार गरेको छ। हामीकहाँ वर्षाद्को मौसममा खासै वायु प्रदूपणको चर्चा हुँदैन। नियमित पानी पर्ने भएकाले त्यतिबेला वातावरण आफै स्वच्छ र सफा हुन्छ। मुलुकबाट मनसुन बाहिरिएसँगै वायु प्रदूषणको विकराल स्वरूप देखिन थाल्छ। केही दिनयता काठमाडौं उपत्यका आफैं वायु प्रदूषणको चपेटामा पर्न थालेको देखिन्छ। यसले घरघरमा रहेका बिरामीलाई अप्ठ्यारो पार्न थालिसकेको छ। नेपालमा सन् २०१९ मा वायु प्रदूषणबाट ४२ हजार १ सय १५ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो। यसले नेपालको अवस्था पनि भयावह रहेको जनाउ दिइसकेको छ।
सन् २०२० मा सार्वजनिक स्टेट अफ ग्लोबल एअर रिपोर्टअनुसार १० सबैभन्दा धेरै फाइन पार्टिकुलेट म्याटर (पिएम) २.५ वार्षिक औसत तह भएका मुलुकमा नेपाल दोस्रो स्थानमा रहेको थियो। यस आधारमा पनि हामीकहाँ वायु प्रदूषण नियन्त्रणका निम्ति सशक्त कदम चाल्न ढिला भइसकेको देखाउँछ। प्रदूषण नियन्त्रणका नाममा सरकारले कर पनि उठाइरहेको छ। यसमा स्रोतको अभाव रहेको पनि होइन। यसरी सरकारले उठाएको ९ अर्ब ४३ करोड रूपैयाँको कुनै प्रयोग भएको छैन। सर्वसाधारण नागरिक प्रदूषणले आक्रान्त हुने र प्रदूषण नियन्त्रणकै नाममा उठाएको कर पनि सदुपयोग नहुने स्थितिले गैरजिम्मेवारीपनलाई उद्घाटित मात्र गरेको छ।
वायु प्रदूषणको प्रमुख कारण सवारी साधन हो। यसलाई क्रमशः विद्युतीय गर्दै नजाने हो भने आगामी दिन अरू भयावह हुने छन्। अधुरो निर्माण कार्य र सवारी साधनबाट उत्सर्जित धुवाँले विशेष गरी काठमाडौं उपत्यकालाई आक्रान्त तुल्याएको छ। यसै पनि यो कचौरा आकारको उपत्यकामा वायु प्रदूषणको असर लामो समय रहन सक्छ। हावाले दैनिक उडाएर लैजान नसक्ने अवस्था रहेमा यो अरू बढ्छ। धन्य, घाम लागेपछि यो माथिमाथि सर्दै उडेर जान्छ। तैपनि यसले पार्ने प्रभाव ठूलो छ। काठमाडौं उपत्यकाभित्रै बसेर निलो आकाश देख्न पाइँदैन। निलो आकाश हेर्ने हो भने उपत्यका कटेरै जानुपर्ने हुन्छ।
यो अवस्थालाई बुझेर अचेल सेप्टेम्बर ७ लाई ‘इन्टरनेसनल डे अफ क्लिन एअर फर ब्लु स्काइज’ अर्थात् निलो आकाशका लागि स्वच्छ वायु अन्तर्राष्ट्रिय दिवस’ भनेर समेत मनाउन थालिएको छ। स्वच्छ वायुको अभावमा हाम्रो जीवन कष्टकर हुन्छ। यो स्थितिलाई मनन गरी समयमै हाम्रा नीति निर्माताले ध्यान पुर्याउनु आवश्यक छ। अहिले निर्वाचनमा व्यस्त सबै दलको ध्यानसमेत यसमा पुग्नु पर्छ। स्वच्छ हावा बेगर हाम्रो जीवन सम्भव छैन। समृद्धि सपना मात्र त्यतिबेला पूरा हुन्छ, जतिबेला हामी स्वच्छ हावामा सास फेर्न पाउछौं।
प्रकाशित: २० कार्तिक २०७९ ००:१४ आइतबार

