६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

छिमेकीपनमा छाया

भनिन्छ-साथी फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन। खुला सीमाले जोडिएका नेपाल र भारतबीचको सम्बन्ध आफैँमा अद्वितीय छ। तैपनि बेलाबेलाका घटनाक्रमले शंका सिर्जना गर्छ। विशेषगरी भारतले सीमा क्षेत्रमा गर्ने निर्माण कार्यले नेपालतिर कुनै न कुनै रूपमा नोक्सानी पुर्‍याउँदै आएको छ। यस्ता निर्माण कार्यमा समन्वयको अभाव हुँदा नेपाली पक्ष जहिल्यै समस्यामा पर्दै आएको छ। असल छिमेकीपनको विकास हुने हो भने दुबै देशलाई फाइदा मात्र पुग्दैन, अनाहकमा सर्वसाधारणको ज्यान जाने जस्ता घातक घटना पनि कम हुन्छन्। खुला सीमाले जोडिएका नेपाल र भारतको भाग्य र भविष्य पनि जोडिएको छ। विकास निर्माणमा नेपाल-भारतबीच सही अर्थमा साझेदारी हुने हो भने दुवैलाई लाभ हुन्छ।

बेलाबेलामा भारततिरबाट आवश्यक सावधानी अपनाएको देखिँदैन। भारतीय पक्षले पश्चिम नेपालको सीमा क्षेत्र महाकाली नदी किनारमा निर्माण गरिरहेको तवाघाट–लिपुलेक सडकमा विष्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर शुक्रबार एक बालकको मृत्यु भएको छ। ब्यास–२ स्थित तम्बाकु क्षेत्रमा पितासँगै घर फर्किरहेका एक अबोध बालक पवन महराको मृत्युले फेरि पनि विगतका यस्तै दुःखद घटनाको सम्झना गराएको छ। भारतीय पक्षले सडक निर्माणका क्रममा पड्काएको जिलेटिनले ढुंगा उछिट्टिएर यत्रो ठूलो दुर्घटना भएको हो। विष्फोटनपछि ढुंगा उछिट्टिएर ती बालकको टाउकोमा लागेको थियो। यत्रो ठूलो बिष्फोटन गराउँदा बेलैमा यसबारे जानकारी गराउने वा सावधानीका उपाय अपनाउने काम गरेको देखिएन। घटना भएपछि भारतीय पक्षले दुःख व्यक्त गर्ने र भारतीय सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गले १० लाख रुपियाँ दिने सहमति भएको छ।

नेपाल सरकारले आइतबार परराष्ट्र मन्त्रालयमार्फत् भारतीय दूताबासलाई यस घटनामा कूटनीतिक नोट बुझाएको छ। सरकारले यसपटक भने समयमै यस विषयमा प्रश्न उठाएर जिम्मेवारी वहन गरेको छ। विकास निर्माण गर्न सावधानी अपनाउनुपर्ने, विकास निर्माणका काम चलिरहेका बारेमा स्थानीय बासिन्दा र स्थानीय निकायलाई जानकारी गराउनु पर्ने तथा मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने विषय नोटमा समावेश गरिएको छ। विगत घटनामा यसरी नेपालले सशक्त ढंगले कुरा राखेको भए पक्कै त्यसको भिन्न परिणाम आउथ्यो।

सीमा क्षेत्रमा प्रायः यस्ता दुर्घटना भइरहन्छन्। यसअघि पनि पटक–पटक दुर्घटनामा परेर स्थानीय घाइते भएका छन्। यस्तो अवस्था आउन नदिन भारतीय र नेपाली दुवै पक्षले सचेतता अपनाएको देखिएन। त्यस किसिमका विकास निर्माणका काम भइरहेका छन् भने नेपालले पनि समयमै सुरक्षाका उपाय अपनाउन आफ्ना समकक्षीलाई बेलैमा जानकारी गराउनु उचित हुन्छ। गत वर्ष भारतीय सुरक्षाकर्मीले तुइन फुकाल्दा नेपाली जयसिंह धामी महाकालीमा बेपत्ता भएको घटना ताजै छ। उक्त घटनापछि दुई देशको सम्बन्धमै तिक्तता आउने स्थितिसमेत देखिएको हो। कम्तीमा एकपटक यस्ता घटना भइसकेपछि दुवै पक्षले ध्यान दिनुपर्ने हो। एकातिर, भारतीय पक्षले सीमा क्षेत्रमा एकपक्षीयरूपमा सडक निर्माण गर्दै आएको छ। अर्कोतिर नेपालले त्यसमा चासो प्रकट गर्न सकेको छैन।

यस्तो अवस्थाले स्वाभाविक रूपमा दुई देशको सम्बन्धलाई राजनीतीकरण गरी फाइदा लिन खोज्ने पक्षलाई फाइदा पुग्छ। त्यसले समस्या समाधान गर्न सक्दैन। अहिले बालक पवनको मृत्युलाई समेत त्यसैगरी आफ्नो राजनीतिक अभीष्टका निम्ति प्रयोग गर्न चाहनेहरू सक्रिय हुन सक्छन्। यसकारण पनि यस्ता समस्या आउनै नदिन र आइहाले पनि तत्काल समाधान गर्नतिर लाग्नु उचित हुन्छ। खासगरी पश्चिम नेपालका सीमा क्षेत्रका बासिन्दाले जहिल्यै समस्यामा पर्नुपरेको छ। तिनलाई कहिले दुई देशबीच आवतजावत गर्दा सीमामा खानतलासी लिने, यात्रा अनुमति खोज्ने जस्ता झन्झट सिर्जना गरेर र आफूअनुकूल सडक निर्माण कार्य गर्दा नेपाली पक्षलाई जहिल्यै समस्यामा पार्ने गरेको छ। यस्तो स्थिति आउन नदिन नेपाली पक्षले बेलैमा सम्बन्धित पक्षको ध्यानाकर्षण नगराएका कारण पनि त्यही प्रकृतिका घटना पटक-पटक दोहोरिएका हुन्।

दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय पक्षको दबदबा रहँदै आएको छ। दुई देशबीचको सम्बन्धको विशिष्टतालाई ध्यानमा राखेर सीमा क्षेत्रमा विकास निर्माणका काम गर्नुपर्छ। त्यसका लागि नेपाली पक्षलाई जानकारी गराउने र सहमतिकै आधारमा अघि बढ्ने प्रवृत्तिको विकास अपरिहार्य छ। भारतीय पक्षले नेपालसँग सहमतिमै काम गर्ने हो भने आपसी विश्वास मात्र बढ्दैन, त्यसले असल छिमेकीपनको विकास पनि हुन्छ। एउटा ठूलो र सम्पन्न छिमेकीले सानो तर अत्यन्तै महत्त्वपूर्ण छिमेकी नेपाललाई खुसी पारेर गरेका कामले दुई देशबीच मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश जान्छ। नेपालीलाई आफ्ना छिमेकी मुलुकहरूले जहिल्यै प्रताडना मात्र दिन्छन् भन्ने लाग्नुलाई कहिल्यै उचित मान्न सकिँदैन।

नेपाल-भारत दुवैले छिमेकी फेर्न सक्ने अवस्था छैन। दुवै देशका विकासका आकांक्षा छन्। त्यसमा एकअर्काको सहयोगी भएर अगाडि बढ्दा सम्बन्ध दिगो बन्छ। छिमेकीबीच विवाद कम हुँदा विकास निर्माणका काममा ध्यान दिन सजिलो हुन्छ। त्यसतिर भने भारतीय पक्षको ध्यान कम गएको देखिन्छ। त्यसैगरी नेपाली पक्षले पनि प्रष्ट रूपमा आफ्ना चाहना प्रकट गरेको देखिँदैन। भारतीय पक्षले एकपक्षीय रूपमा सीमा क्षेत्रमा निर्माणका काम गरिरहेको छ भने त्यसको स्पष्ट शब्दमा विरोध गर्न सक्नुपर्छ। त्यति मात्र होइन, यस विषयमा आफ्नो कुरा प्रष्ट राख्दा भारतीय पक्षले पनि विचार नगरी सुख हुँदैन। देश-देशबीचको सम्बन्धको कुरा आउँदा को ठूलो र सानो भन्ने हुँदैन। सार्वभौमसत्ताका हिसाबले सबै बराबर हुन्। संयुक्त राष्ट्र संघको सदस्यका हैसियतले पनि नेपालले आफ्नो पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हिसाबले प्रष्ट राख्न सक्छ। यस्ता समस्यामा देशभित्र पनि दल र नेताहरूपिच्छे फरक राय हुनु हुँदैन। सबैको समान राय हुने हो भने समस्या समाधान सहज हुन्छ। भारतले यस किसिमका घटना नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गर्ने र नेपाललाई अप्ठ्यारो लाग्ने काम नगर्ने हो भने सम्बन्ध अरू सुदृढ हुँदै जानेछ। अन्यथा शंकामाथि शंका थपिँदै जान्छन्।

प्रकाशित: १४ कार्तिक २०७९ ००:१४ सोमबार

Download Nagarik App
Download Nagarik App