१० आश्विन २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

सडक (अ) सुरक्षा

प्रत्येक वर्षझैँ यसपालि पनि चाडवाडका बेला सडक असुरक्षाबाट सर्वसाधारण प्रताडित भएका छन्। यो बेलामा सामान्य अवस्थामा भन्दा धेरै व्यक्तिले सडक सेवा उपयोग गर्छन्। वर्षभरिको चाडमा पाइने फुर्सद र पारिवारिक मिलनका निम्ति सकेसम्म राजधानी काठमाडौँ उपत्यका छाड्ने हतारमा सर्वसाधारण हुन्छन्। सडकको सम्पूर्ण अवस्थाबारे सबैजसो ढुक्क हुन्छन्। आखिर यसको व्यवस्थापन र सूचना प्रणालीको समग्र व्यवस्थाको जिम्मा सरकारको हो। त्यसमा पनि राष्ट्रियस्तरका राजमार्गको व्यवस्थापन संघीय सरकारले गर्ने हो। अझ अहिले तीन तहको सरकार रहेका कारण प्रदेश र स्थानीय सरकारले पनि यसलाई बेवास्ता गर्न मिल्दैन। आफ्नो क्षेत्रका सडकको अवस्थाबारे तिनले जानकारी राख्नु उचित हुन्छ।  

एकीकृत सडक सूचना अहिलेको आवश्यकता हो। राज्यप्रति विश्वास गर्दै सर्वसाधारणले आफ्ना योजना बनाउँछन्। यो अवस्थामा सरकारले सर्वसाधारणलाई यथार्थ जानकारी दिने र सडकलाई सुरक्षित तुल्याउने काम गर्नुपर्छ। यसको पहिलो सर्त भनेको सूचना प्रणाली हो। सडकको अवस्था राम्रो छैन भन्ने थाहा पाएपछि धेरैले आफ्ना यात्रा योजनाबारे पुनर्विचार गर्न सक्छन्। आखिर आफ्नो जीवनभन्दा ठूलो यात्रा हुँदैन। ज्यान हत्केलामा राखेर यात्रा गर्नुको अर्थ पनि हुँदैन। तर सर्वसाधारणले राज्यको तर्फबाट सूचना पाएको अनुभव भएन। त्यसैकारण विगत वर्षमा जस्तै यसपटक पनि धेरैले सडक दुर्घटनामा ज्यान गुमाउनुपरेको छ।  

अझ यो वर्ष विगतमा भन्दा धेरैको ज्यान गएको अनुमान प्रहरीले गरेको छ। नेपाल प्रहरीका अनुसार फूलपाती (असोज १६) यता बिहीबारसम्ममा ५ सय ५६ वटा सवारी दुर्घटना भएका छन्। बितेका पाँच दिनमा मात्रै ५४ जनाको ज्यान गएको र १ हजार ५७ जना घाइते भएको तथ्यांक कहालीलाग्दो छ। सडक दुर्घटनामा यत्रो ठूलो जनधनको क्षति हुनु भनेको आफैँमा चिन्तालाग्दो पक्ष हो। प्रत्येक वर्षको तथ्यांक तुलना गरेर हेर्ने हो भने यो संख्याले पक्कै पनि अर्थ दिन्छ। चाडवाडका बेलामा भएका यी दुर्घटना कैयन् परिवारका निम्ति विषादका कारण भएका छन्। सडक सुरक्षामा बेलैमा ध्यान दिन सक्ने हो भने स्वाभाविकरूपमा यी दुर्घटना कम गर्न सकिन्छ। हाम्रो अवस्था एकाध घटनाबाट सिक्ने भन्दा पनि त्यसैलाई दोहोर्‍याउने किसिमको देखिन्छ।  

सामान्य अवस्थामा पनि नेपालको सडक दुर्घटनाको अवस्था डरलाग्दो छ। बर्सेनि नेपालमा यो संख्या बढ्ने गरेको छ। विश्व स्वास्थ्य संगठनको एक तथ्यांकअनुसार सन् २०२० मा ४ हजार ६ सय ५४ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो। यो संख्या कुल मृत्युको २.९० प्रतिशत हो। सडक दुर्घटनामा हुने मृत्युका हिसाबले नेपाल निकै अगाडि छ। यसै पनि हाम्राजस्ता मुलुकमा स्वास्थ्य समस्या ठूलो छ। पहिला–पहिला सरुवा रोग नै हाम्रो समाजका निम्ति चुनौतीपूर्ण रहेको हो। अहिले सरुवा रोगसँगै नसर्ने रोग अर्थात क्यान्सर, रक्तचाप, मधुमेह आदिको चुनौती बढेको छ। बदलिँदो जीवनशैलीले यस्ता रोगको सामना गर्नुपर्ने अवस्था छ। अहिले आएर पूर्वाधार ठीक नभएका कारण पनि सर्वसाधारणले दुःख पाएका छन्। सडक दुर्घटनाबाट हुने मृत्यु यहीअन्तर्गत पर्छ। विकसित मुलुकमा सडक पूर्वाधारको विकासमा विशेष ध्यान दिइन्छ। त्यहाँ सुरक्षाका पर्याप्त उपाय पनि अपनाएको देखिन्छ। हामीकहाँ भने जतासुकै सडक पुर्‍याए पनि त्यसको सुधारमा खासै ध्यान दिएको पाइँदैन। यस्तो अवस्थामा सामान्य दुर्घटना हुँदा पनि ज्यानै जाने अवस्था आउँछ।  

हामीकहाँ सडक असुरक्षाको मुख्य कारण यान्त्रिक गडवडी, चालकहरूको लापरबाही, भौतिक पूर्वाधारको कमजोर अवस्था आदि हुन्। हवाई यातायातलाई अत्यन्त बढी अनुगमनमा राखिएको हुन्छ। त्यसले गर्दा आकासमा उड्दा पनि त्यसको सुरक्षामा आश्वस्त हुन सक्ने अवस्था हुन्छ। तर सडक सुरक्षामा अनुगमनको अवस्था कमजोर हुँदा त्यसले अन्ततः सर्वसाधारणको जीवनलाई बढ्ता नकारात्मक प्रभाव पारेको छ। सडक यात्रालाई व्यवस्थित बनाउन राज्यका निकायले प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन्। त्यसैको दुष्परिणाम आजको दिनमा हामीले भोगिरहनुपरेको छ। यस्तो विषम परिस्थितिमा कसैले पनि जिम्मेवारी लिनुपरेको छैन।  

मुलुकको कर्मचारीतन्त्र सबैभन्दा गैरजिम्मेवार छ। त्यसले हो यसको जिम्मेवारी लिनुपर्ने। कर्मचारीतन्त्रलाई चलाउने जिम्मेवारी राजनीतिक नेतृत्वको हो। यो झनै निकम्मा छ। यसले राम्ररी काम गर्न नसकेका कारण अहिलेको अवस्था आएको हो। अन्यथा, प्रत्येक वर्ष सडक दुर्घटनामा परेर ज्यान जाने अवस्था रहिरहँदा पनि त्यसलाई कम गराउनेतर्फ ध्यान दिइँदो हो। सर्वसाधारणमाथि यस्तो अन्याय हुँदा पनि ध्यान नदिने प्रवृत्ति मुलुकमा विद्यमान छ। सडक पूर्वाधार विस्तारका निम्ति जति जोड दिइएको छ, त्यति यसको गुणस्तरमा ध्यान दिइएको छैन।

हामीकहाँ सडकको जुन अवस्था छ, त्यसमा सुधार ल्याउने जिम्मेवारी कसैले पनि बहन गरेका छैनन्। दुई झर पानी पर्ने बित्तिकै सडकको अवस्था अस्तव्यस्त हुन्छ। दसैँमा परेको पानीले सडकलाई जताततै भयाबह अवस्थामा पुर्‍याएको अनुभव भएको छ। यस्तो बेला सडकमा भएका नागरिकले अत्यन्तै कष्टकर स्थिति सामना गर्नुपरेको छ। मौसमी प्रतिकूलताको जानकारी दिने निकाय सक्रिय भए पनि त्यसबाट जोगिन अपनाउनुपर्ने उपायबारे जानकारी दिने सरकारका अन्य निकाय सक्रिय भएनन्। खोलानालामा बहाव बढ्ने जानकारी भइसकेपछि स्वाभाविकरूपमा सर्वसाधारणलाई सुरक्षित राख्न सूचना सम्प्रेषण हुनुपर्ने हो। त्यो भएन। सडक पूर्वाधारमा ध्यान नदिने हो भने यसपटक दसैँका बेला भोगेको दुःखद अवस्था दोहोरिने निश्चित छ। सडक सुरक्षालाई प्रभावकारी बनाउनेतर्फ ध्यान नदिनु भनेको सर्वसाधारणको जीवनमाथि खेलवाड गरिरहनु हो। यस्तो स्थितिमा सुधार गर्न सम्बन्धित निकायको बेलैमा ध्यान पुग्नुपर्छ। गैरजिम्मेवार राजनीतिलाई पाठ सिकाउन पनि सर्वसाधारणले विचार पुर्‍याउने बेला आउँदैछ। जवाफदेहीपूर्ण राजनीतिका निम्ति पनि आगामी मंसिर ४ को निर्वाचन अवसर हुन सक्छ।  

प्रकाशित: २३ आश्विन २०७९ ००:४८ आइतबार

Download Nagarik App
Download Nagarik App