कोभिड–१९ को त्रासबाट मुक्त भएको केही महिना भएको छ। यसले जनजीवनलाई सहज बनाउँदै गएको छ। स्थिति सामान्य हुँदै गएका कारण पर्यटक आगमन बढेको छ। दैनिक कामकाज नरोकिने बित्तिकै सबैको जीवन सहज हुन्छ। यस हिसाबले पनि स्थिति सामान्य हुँदै जाओस् भन्ने अपेक्षा हुनु स्वाभाविक हो। तर, फेरि यसको संक्रमण बढ्न थालेपछि चिन्ता पनि सँगै सुरु भएको छ। असार १ यता संक्रमितको संख्या क्रमशः बढ्दै गएको छ। योबीच संक्रमित संख्या पाँच गुणाले बढेको छ। अहिलेसम्म यो अति सामान्य अवस्थामा छ। यसले दैनिक जीवनमा पनि खासै प्रभाव पारेको छैन।
तैपनि भोलि आउन सक्ने सम्भावित खतराप्रति आजै सजग हुनु आवश्यक छ। कोभिड–१९ सुरु भएपछि तत्कालीन अवस्थामा आमनागरिकको जीवन भयाबह रह्यो। कैयन्को दैनिक जीविका खोसियो। खोपको विकासक्रमसँगै सामान्य अवस्थातर्फ संसार अगाडि गएको छ। यतिबेला संसारभरका मानिस यात्रामा निस्केका छन्। घरैबाट काम गर्ने परिस्थिति फेरिएर कार्यालयतिर काम गर्न मानिस गएका छन्। तैपनि पछिल्लो चरणमा फेरि कोभिड–१९ को चौथो चरण सुरु हुन सक्नेतर्फ विशेषज्ञहरूले ध्यानाकर्षण गराएका छन्। अबका दिनमा कोभिडसँगै बाँच्ने यथोचित रणनीति अख्तियार गर्नु आवश्यक छ। त्यसो भएन भने फेरि परिस्थिति जटिल हुन सक्छ।
खासगरी मुलुकको स्वास्थ्य क्षेत्रको नेतृत्व गरिरहेको स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सम्बन्धी यथोचित नीति अख्तियार गर्नु आवश्यक छ। सबैभन्दा महŒवपूर्ण पक्ष सर्वसाधारणलाई यसबारे सजग गराइरहन सक्नुपर्छ। स्वास्थ्य मापदण्डबारे दिशानिर्देश गरिरहनु आवश्यक छ। मानिसले सधैँ मास्क लगाइरहन पनि सक्दैनन्। तर, मानिसको जमघट हुने ठाउँका निम्ति खास तयारी गर्नुपर्ने हुन्छ। कोभिड–१९ मापदण्ड पालना गर्दै कैयन् मुलुकले अहिले काम गरिरहेका छन्। ठूल्ठूला सभा/सम्मेलन पनि भइरहेका छन्। त्यसमा कसैलाई संक्रमण भइहाल्यो भने पनि त्यसका निम्ति पनि खास मापदण्ड बनाइएका छन्। हामीले पनि त्यसका निम्ति आवश्यक मापदण्ड बनाएर अगाडि बढ्नु आवश्यक छ।
नेपालले दुई मात्रा खोपपछि बुस्टर पनि लगाइसकेको छ। बुस्टर डोज लगाएकाहरूको पनि ६ महिना पुगिसकेको छ। अब चौथो मात्रा आवश्यक हो/होइन भन्ने निश्चित गर्नु आवश्यक छ। कतिपय मुलुकमा चौथो मात्रा खोप पनि लगाउन थालिसकेका छन्। कोभिड–१९ बाट जोगिन खोप लगाउने र स्वास्थ्य मापदण्ड पालना गर्ने उपाय अपलम्बन गर्नुको विकल्प देखिएको छैन। प्रायः सबै नेपालीले खोप लगाएका कारण हामीकहाँ कोभिड–१९ केही महिनादेखि नियन्त्रणमा रहेको हो। तर भारतसँगको खुला सीमा रहेका कारण नेपालले यससम्बन्धी नीति बनाउँदा त्यसलाई पनि हेर्नुपर्ने हुन्छ। यहाँ मात्र कोभिड–१९ संक्रमण नियन्त्रण भएर पुग्दैन। भारतको स्थितिले यहाँ धेरै हदसम्म निर्धारण गर्छ।
अहिले आन्तरिक यात्रा र उडानमा कोभिड–१९ को परीक्षण अनिवार्य गरिएको छैन। अन्तर्राष्ट्रिय उडानमा भने यससम्बन्धी कागजात आवश्यक पर्दै आएको छ। आन्तरिक तथा बाह्य आवागमनलाई सहज बनाउने गरी स्वास्थ्य मापदण्ड तय गर्नु आवश्यक छ। तर जहाज वा सवारीसाधनमा धेरै मानिस रहेका बेला मास्क लगाउन प्रेरित गर्नु नै यसबाट बच्ने सबैभन्दा उत्तम उपाय हो। अहिले पनि अन्तर्राष्ट्रिय उडानमा मास्कलाई अनिवार्यजस्तै गरिएको छ। र, यसले स्वाभाविकरूपमा कोभिड–१९ संक्रमण रोक्न मद्दत पनि गरेको छ। हामीकहाँ प्रदूषण भएका कारण मास्क लगाउने चलन पहिल्यैदेखि रहेको छ। त्यही मास्कलाई कोरोनाविरुद्ध पनि प्रयोग गर्नुपर्ने भएको हो। त्यसले अहिले पनि फेरि हुन लागेको संक्रमण रोक्न मद्दत गर्नेछ।
मुलुकभित्र अझै पनि खोप नलगाउनेको संख्या ठूलो छ। तिनलाई खोप लगाउन प्रेरित गर्न सकिन्छ। त्यसैगरी अर्काे चरणको खोप कार्यक्रमबारे सरकारले सजगतापूर्वक जानकारी गराउने र यसको व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसो भयो भने संक्रमण फैलिन पाउँदैन। कोभिड–१९ आमरूपमा मानिसबीच रहिरहने अवस्था छ। तर, स्वास्थ्य मापदण्डको पालना भयो भने यो चाँडै नियन्त्रणमा आउन सक्छ भन्ने पनि देखिएको छ। हामीले प्रत्येक नयाँ लहरमा सिकेका पक्ष छन्। ती सिकाइलाई कसैगरी पनि बिर्सनु भएन। समग्र जनसमुदायलाई स्वास्थ्य मापदण्डबारे जानकार गराउने र यसबाट टाढै रहन आवश्यक रणनीतिक तयारी गर्न आवश्यक छ।
कोभिड–१९ को संक्रमण फेरि फैलियो भने पनि त्यसलाई बुद्धिमत्तापूर्वक संबोधन गर्नेबाहेक अन्य विकल्प छैन। कोभिडको त्रासदी, अन्तर्राष्ट्रिय क्षेत्रमा भएका तनाव आदिले सर्वसाधारणको जीवन महँगीमा परेको छ। अब हामीलाई पटक–पटक बन्दाबन्दीमा जाने अवस्था छैन। त्यसैले सकेसम्म कोभिडबाट जोगिएर दैनिक जीवन चलाउन सक्षम बनाउने रणनीति राज्यको हुनुपर्छ। पछिल्ला दिनमा बढ्न थालेको कोभिड–१९ संक्रमणप्रति सजग हुने हो। तर, त्यसबाट आत्तिने भने होइन। र, यसका निम्ति प्रत्येक व्यक्तिले आफैँ जिम्मेवार भएर अगाडि बढ्नु उचित हुन्छ। व्यक्तिमा जवाफदेही रह्यो भने राज्यले भोलिका दिनमा भयाबह स्थिति सामना गर्नु पर्दैन।
प्रकाशित: २४ असार २०७९ ००:४० शुक्रबार

