वर्षायाम उसै पनि रोग र महामारीको सम्भावित समय हो। त्यसैले यतिबेला निकै सजग हुनुपर्छ। यतिखेर विशषेगरी राजधानीमा फैलिँदै गरेको हैजाले यहाँका बासिन्दालाई चिन्तित तुल्याएको छ। हैजा संक्रमितको संख्या बढ्दै गएर आइतबार मात्र १२ पुग्नु र बढ्ने क्रम जारी रहनु चिन्ताको विषय हो। झाडापखालाका बिरामी दैनिक २५० भन्दा बढी निर्क्याैल हुनुले यसको बढ्दो आकार प्रष्टिन्छ।
विशेषगरी फर्निचर उद्योग र घर निर्माणमा कार्यरतहरूमा यो समस्या देखिएको डक्टरले बताएका छन्। यसरी मजदूरी पेसामा संलग्न हैजाको प्रकोपबाट बढी प्रभावित भएका छन्। दिनरात काम गरेपनि आफनै स्वास्थ्यप्रति ध्यान दिन नसक्दा अथार्त् त्यस्तो वातावरण निर्माण गर्न नसक्दा समस्या निम्तिएको छ। हैजाका बिरामीलाई उद्धृत गर्दै डक्टरहरूले नै बताएअनुसार नउमालेको वा निर्मलीकरण नगरिएको पानी पिउनेमा हैजाको रोग देखिएको छ। पानीलाई खासै महत्वपूर्ण नठान्ने र ‘पानी पनि के किनेर खानु’ भन्ने मानसिकताका कारण हैजा फैलिएको हो भन्न सकिन्छ।
हामी स्वास्थ्य बनाउनका लागि खान्छौँ। अनि खानका लागि काम गर्छौँ तर काम गर्ने क्रममा खाने र पिउने वस्तुको गुणस्तरमा ध्यान दिन बिर्सन्छौँ। त्यसैले स्तरीय र मिलाएर खाने÷पिउने भन्दा पनि पेट भर्न र तिर्खा मेट्ने कार्यलाई प्राथमिकता दिन्छौँ। फलस्वरूप स्वास्थ्य बनाउनका लागि कमाइएको धन त्यही स्वास्थ्यमा लाग्ने रोग निको पार्न खर्चन्छौँ। तर हामीले यो वास्तविकतातर्फ कहिल्यै ध्यान दिएका हुँदैनौँ। हामीलाई लागेको रोगको कारण कतै हामी आफैँ त होइनौँ भनेर कहिल्यै सोचेका हुँदैनौँ। जसले हामीलाई बर्बाद पारिरहेको छ। यही बुझाइको कमी नै मुख्य कारण हो कि हैजा जस्ता रोगका कीटाणु फैलिनुमा।
हामीमध्ये धेरैलाई स्वच्छ खानेकुरा र पिउने पानीको महत्व थाहै छैन। जसको असर आफैँलाई परेर त्यो पनि डक्टरले बताइदिएपछि मात्र थाहा हुन्छ। अहिले संघीय राजधानीका अस्पतालहरूमा देखिएका हैजाजन्य रोगका कारण पनि प्रायः पानी नै भएको पुष्टि भएको छ। त्यसैले अति सामान्य कुराबाट सुरु हुने रोगले ठूलो रूप लिन्छ र त्यसलाई बेलैमा सावधानी पुर्याउनुपर्छ भन्ने बुझ्न आवश्यक छ।
अहिले राजधानीमा फैलँदै गरेको हैजाबाट बच्न डक्टरहरूले उपाय बताएका छन्। जुन सामान्य र सबैले सहजै पालना गर्न सकिने खालका छन्। पहिलो त सफा स्वच्छ अर्थात उमालिएको र निर्मलीकरण गरिएको पानीमात्र पिउने। दोस्रो बासी, सडेगलेको नखाने र ताजा तथा राम्ररी पाकेको खानेकुरा एकिन गरेर मात्र खाने अनि तेस्रो सरसफाइमा ध्यान दिने र यसमा पनि विशेष गरेर शौचालय गएपछि वा कुनै काम गरेपछि हात राम्ररी धोएर सफा पार्ने। यति सामान्य तरिका अपनाउँदा मात्र पनि हैजाबाट केही हदसम्म भएपनि जोगिन सकिन्छ।
त्यसो त हामीले बजारमा पाइने बोतलको पानीप्रति कहिल्यै शंका गर्दैनौँ। किन्छौँ र सरासर पिइहाल्छौँ। यसबारे पनि चिन्ता गर्दैनौँ जबकि रोगको सबैभन्दा मुख्य स्रोत नै पानी हो। यस्ता सबै विषयमा सर्वसाधारण जानकार नहुनु स्वाभाविकै पनि हो। त्यसैले सर्वसाधारणलाई अस्वस्थकर खानेकुरा र दुषित पानीबाट टाढै राख्ने जिम्मेवारी सरकारको हो। अझ स्थानीय सरकार यस्ता कुरामा विशेष चनाखो हुनुपर्छ। तर विडम्बना, यस्तै विषयमा सरकारहरू चुकिरहेका छन्। न अनुगमन हुन्छ न त अनुगमन भइहाले पनि दोषीलाई कारबाही नै हुन्छ। परिणाम– हैजा जस्तो रोगले सर्वसाधारण ग्रसित भइरहने, डक्टरहरू उपचार गरिरहने र जनताको गरिबीको ग्राफ बढिरहने क्रम निरन्तर चलिरहेको छ।
यस्तो अवस्थामा सरकार निकै सक्रिय हुनुपर्छ। एकातिर चेतनामूलक जानकारीहरू प्रशस्त फैलाउनुपर्छ भने अर्कोतर्फ अनुगमनको मात्रा बढाउनुपर्छ। जनस्वास्थ्यमा खेलवाड गर्नेहरूलाई हदैसम्मको कारबाही गर्नुपर्छ। त्यसबाहेक सर्वसाधारणले पनि सावधानीका सामान्य उपाय अपनाउन कन्जुस्याइँ गर्नुहुँदैन। आफू यस्ता उपायबारे सतर्क रहने र परिवार, छिमेक तथा अन्यलाई समेत बताइदिनुपर्छ। यसो भयो भनेमात्र हैजाकै कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था सिर्जना हुने छैन। मुख्य कुरा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्ने अवस्था नै आउन नदिनु सर्वोत्तम उपाय हो भन्ने कहिल्यै बिर्सनु हुँदैन।
प्रकाशित: १४ असार २०७९ ००:४३ मंगलबार

