coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

राजनीतिक नेतृत्वको सान्दर्भिकता

राजनीतिले मुलुकका समस्या समाधान गर्छ भन्ने विश्वास हाललाई आमनागरिकमा समाप्त भएको छ। विशेषगरी प्रमुख राजनीतिक दलको अकर्मण्यताको सिकार मुलुक र मुलुकबासी भएका छन्। मुलुकको लोकतान्त्रिक शासन व्यवस्थाको विकल्प छैन। यसको विकल्प भनेको बढी लोकतन्त्र हो। तर यसका सञ्चालकहरू परिवर्तन गर्नु अहिलेको आवश्यकता भइसकेको छ। मुलुकको राजनीतिका तीन दशक यत्तिकै खेर गइरहेको अनुभव भएको छ। देशले खोजेअनुसारको संविधान पनि प्राप्त भइसकेको छ। तर आमनागरिकको जीवनमा आउनुपर्ने परिवर्तन देखिएको छैन। बरु दिनानुदिन बढ्दै गएको महँगी, बेरोजगारी र बेथितिले सर्वसाधारण आक्रान्त भएका छन्। त्यसैको परिणामस्वरूप अबका विकल्प के हुन सक्छन् भन्ने सोच आमजनमानसमा देखिन थालेको छ।

अहिलेको राजनीतिक नेतृत्वमा रहेका नेताहरूले आफ्नो समयमा त्याग, तपस्या गरेका छन्। तिनैको संघर्षले अहिले मुलुकमा राजनीतिक परिवर्तन देखिएको हो। तर लोकतान्त्रिक मुलुकलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने दृष्टिकोणको सबैमा सर्वथा अभाव देखिएको छ। अब आमरूपमै सर्वसाधारणले यिनीहरूबाट काम चल्दैन भन्ने धारणा व्यक्त गर्न थालेका छन्। बेलामौकामा आफूहरू सुध्रिनुपर्ने आवश्यकता रहेको तिनले बताउने गरेका छन्। प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख विपक्षी नेता एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धनको हिस्सेदार नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पमकल दाहाललगायतले बेलाबेलामा राजनीति सुध्रिनु आवश्यक रहेको बताउने गरेका पनि हुन्। अझ तत्कालीन प्रधानमन्त्री ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलन गरिरहेको बेलामा देउवा, दाहाल, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाललगायतका नेताले हिजोका गल्ती नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे पनि अहिले व्यवहार त्यस्तो देखिएको छैन।  

मुलुकमा क्रियाशील मुख्य दलको नेतृत्व नसुध्रिनुको परिणाम स्थानीय तह निर्वाचनका बेला देखिइसकेको छ। जस्तोसुकै अवस्थामा पनि दलकै उम्मेदवारलाई मतदान गर्दै आएका मतदाताले स्थानीय तह निर्वाचनका बेला आफ्नो निर्णय बदलेका छन्। उनीहरूले स्वतन्त्र उम्मेदवारलाई प्रमुख सहरमा विजयी गराएपछिको सन्देशबारे धेरैले चर्चा गरेका पनि छन्। त्यसैले दलहरूले आफ्नो कार्यशैली बदल्नुपर्ने गम्भीर अवस्था अहिले आइसकेको छ। हिजो जस्तो गरी जस्तासुकै उम्मेदवारलाई उठाउँदा पनि विजयी गराउने भन्ने अवस्था अब छैन। हिजो निकै बलशाली ठानिएका युवाहरूलाई पनि आगामी संघीय र प्रदेश निर्वाचनमा विरासत जोगाउन धौ धौ पर्ने अवस्था आउन लागेको छ। प्रमुख दलभित्रको युवा भनिएको नेतृत्वले पनि सशक्त हस्तक्षेप गर्न नसकेको महसुस आममतदातालाई भइसकेको छ।  

यस स्थितिमा समग्र सुधारका निम्ति दलहरूले अहिल्यैदेखि कदम चालेनन् भने आउने दिन सहज छैनन्। आमजनमानसको मनस्थिति बुझिसकेका कारण अहिले स्वतन्त्र उम्मेदवारी दिनेदेखि वैकल्पिक दलको घोषणा गर्नेसम्मका गतिविधि हुन थालेका छन्। नयाँ दलको घोषणा वा स्वतन्त्र उम्मेदवारीप्रति आममानिसको चासो अहिले उल्लेख्य रहेको छ। यसै पनि नेपाली मतदाता राजनीति राम्ररी बुझ्ने र विश्लेषण गर्ने क्षमता राख्छन्। निर्वाचनका बेला उनीहरूले आश्चर्यजनक परिणाम दिने गरेका छन्। कुनै पनि दललाई दोहोर्‍याएर मत दिनुअघि एकपटक सोच्ने र विश्लेषण गर्ने गरेको देखिन्छ। यसकारण पनि आगामी निर्वाचन प्रमुख दलका निम्ति सहज छैन। यही मौकाको फाइदा उठाउन र राजनीतिलाई विकास निर्माणको माध्यम बनाउन सकिने उद्देश्यका साथ पेसागत व्यक्तिहरू निर्वाचनमा सरिक हुँदैछन्। राम्रो शिक्षादीक्षा लिएका युवाहरूलाई नेपालको राजनीति सुधार गर्न सकिन्छ भन्ने लाग्न थालेको छ।  

केही वर्षअघिसम्म राजनीतिलाई फोहरी खेल भन्दै युवाहरू त्यसबाट टाढिने गरेका देखिन्थ्यो। स्थानीय तहको निर्वाचनमा युवा सहभागिता बढी देखियो। र, यो प्रवृत्ति आगामी दिनमा अरू बढ्ने देखिन्छ। इन्जिनियरिङ, पत्रकारिता र अन्य विधाबाट धमाधम उम्मेदवारी घोषणा हुन थालेको देख्दा मुलुकको राजनीतिले फेरि कोल्टे फेर्न थालेको अनुभूति हुन्छ। अहिले राजनीतिको केन्द्रमा रहेका नेताहरू पनि कुनै बेला युवा जोससहितका थिए। उनीहरूमा परिवर्तनको उत्कट अभिलाषा पनि देखिन्थ्यो। अहिले आएर तिनै नेताहरू अकर्मण्यताको सिकार भएका छन्। उनीहरूले दलभित्र सहज नेतृत्व हस्तान्तरणको प्रणाली बसाएनन्। निश्चित समयावधिपछि उनीहरूले राजनीति छाड्नुपथ्र्यो। वृद्ध भएर शरीर चल्न छाड्दा पनि राजनीति गरिरहने होइन। खास काम सम्पन्न गरिसकेपछि यसबाट अलग्गिनु उचित हुन्छ।  

निर्णय क्षमता कमजोर भइसकेका, शरीर चलाउन पनि नसक्ने र नयाँ पुस्ताका नागरिकले के चाहन्छन् भन्ने जानकारी नराख्ने हो भने जोसुकै असान्दर्भिक हुने अवस्था आउँछ। प्रत्येक पुस्ताका नयाँ भावना हुन्छन्। तिनले राजनीतिबाट खोजेको गति पनि भिन्न हुन्छ। हिजोको जेल, नेल वा संघर्ष आजका निमित्त असान्दर्भिक भइसकेको छ। त्यो गौरवको सम्झना गर्न मात्र सकिन्छ। तर सबैलाई त्यही हिजोको इतिहास भजाएर आजका निम्ति पनि खुसी राख्न सकिन्न। हिजो पुर्खाले के गरे भन्ने भन्दा पनि भोलिका निम्ति के गरिँदैछ भन्ने पक्ष महत्वपूर्ण हुन्छ। भविष्य सुनिश्चित ठानेनन् भने युवाले विद्रोह गर्ने अवस्था आउँछ। निर्वाचन प्रणालीबाटै सुधार भयो भने त्यो सहज हुन्छ। अन्यथा, अन्य विकल्प पनि खुल्न सक्छन्। त्यतिबेला भने निर्वाचन जस्तो सहज हुँदैन। त्यसैले आमनागरिकको भरोसा बन्ने गरी दलहरूले भूमिका खेल्ने बेला भइसकेको छ। अन्यथा असान्दर्भिक हुने खतरा बढ्दो छ। 

प्रकाशित: ९ असार २०७९ ००:१६ बिहीबार

Download Nagarik App
Download Nagarik App