२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
सम्पादकीय

१,८९,०३,६८९

लोकतन्त्रमा जनता जनार्दन हुन्। जनताको यही मतबाट आफ्नो मुलुकको सार्वभौम अधिकार कुनै व्यक्तिलाई सुम्पिन्छन्। 

मुलुकको सर्वाङ्गीण विकासका निम्ति बिहीबार एक करोड ८९ लाख तीन हजार ६ सय ८९ मतदातासमक्ष विभिन्न दल र स्वतन्त्र उम्मेदवारले मतदानको याचना गर्दै छन्। मतदाता आफ्नो विवेक प्रयोग गर्दै आफू, परिवार र मुलुकको भाग्य र भविष्यको जिम्मेवारी दिने यो यज्ञमा सहभागी हुँदै छन्। लोकतान्त्रिक मुलुकका निम्ति निर्वाचनको दिन सबैभन्दा महत्वपूर्ण हुन्छ। निर्वाचनमा सहभागी भएपछि सबै जिम्मा तिनले दल वा बिनादलका उम्मेदवारलाई राष्ट्र निर्माणको अख्तियारी सुम्पिन्छन्।

मुलुकमा २०१५ सालमा पहिलो संसदीय निर्वाचन भएयता पटक–पटक मतदानका अभ्यास भएका छन्। लोकतन्त्रको अभ्यास जतिजति लामो हुँदै जान्छ, निर्वाचन अनि  यो व्यवस्था उतिउति परिपक्व हुँदै जान्छ। निर्वाचनप्रतिको विश्वास पनि त्यतिकै बढ्दै जान्छ। २०७९ को संसदीय निर्वाचनयता फेरि अर्को मतदानका निम्ति हामी तयार भएका छौं। नियमित रूपमा निर्वाचन हुन पाएको भए यो २०८४ मा मात्र अवसर बनेर आउँथ्यो। तैपनि एउटा विशिष्ट परिस्थितिका कारण मुलुक फेरि निर्वाचनमा होमिनुपरेको छ। 

गत भदौ २३ को जेनजी विद्रोह र त्यसको भोलिपल्ट मुलुकमा भएको तोडफोड, आगजनी र विध्वंसपछि तत्कालीन सरकार, प्रतिनिधिसभा विघटनपछि निर्वाचनको मिति तय भएको हो। निर्वाचन घोषणा भएको ६ महिनामै यो सम्पन्न हुँदै छ। यसले मुलुकमा नयाँ जनादेशसहित दलहरूलाई मुलुकको जिम्मेवारी दिनेछ। नि:सन्देश नयाँ जनादेशसँगै मुलुकका आकांक्षा पूरा गर्न नवनिर्वाचित सांसदहरू दत्तचित्त हुनेछन्। हाम्रो मुलुकमा निर्वाचनको इतिहास राणाकालमै काठमाडौं म्युनिसिपल्टीका नाममा २००४ सालमा भएको थियो।

स्थानीय निकायको निर्वाचनका रूपमा सम्भवत: यो पहिलो हो। तैपनि संसदीय निर्वाचन भने २०१५ सालकै पहिलो हो। पछि २०४८ सालसम्म पञ्चायती व्यवस्था अन्तर्गत राष्ट्रिय पञ्चायतको निर्वाचन भएको थियो। २०३६ सालको आन्दोलनको परिणामस्वरूप २०३७ सालमा जनमतसंग्रह भएको थियो। त्यसबेला पञ्चायत पक्षले पहेँलो र बहुदल पक्षले निलो रङ लिएर मतदान भएको थियो। २०४८ सालपछि नियमित निर्वाचन हुँदै आए पनि २०६१ सालमा राजाले ‘कू’ गरेपछि व्यवस्था केही समय अवरुद्ध भएको थियो। जनआन्दोलनपछि संसद् पुनस्र्थापित भएको थियो, जसलाई राजाले विघटन गरेका थिए।

मुलुकको राजनीतिक व्यवस्था पटक–पटकका आन्दोलनका कारण अहिलेको अवस्थामा रहेको हो। पूर्ण लोकतान्त्रिक शासन व्यवस्था कायम नहुन्जेल यो परिवर्तन भइरहेको छ। नेपाल अहिले भने लोकतान्त्रिक व्यवस्थाको उद्भवकै क्रममा रहेको छ। तर, लोकतान्त्रिक व्यवस्थाको विकल्प भनेको झन् बढी लोकतन्त्र हो भन्नेमा अब कसैको द्विविधा छैन। यसैलाई फलाउन, फुलाउन र यसैका माध्यमबाट मुलुकलाई अग्रगमनतर्फ लैजान सबैको ऐक्यबद्धता र प्रतिबद्धता रहेको छ। आमनागरिकमा मुलुकमा विकासको भन्दा बढी नेतृत्व परिवर्तनको बढ्ता चिन्ता देखिएको छ। यो निर्वाचनले नि:सन्देह तिनका अपेक्षा पूरा गर्न मद्दत गर्नेछ। 

यसपटकको निर्वाचन जेनजी विद्रोहपछि हुन लागेको हो। निर्वाचनपछि आमनागरिकले खोजेअनुसारको परिवर्तन यसले दिनेछ भन्ने अपेक्षा आमरूपमा भइरहेको छ। प्रतिनिधिसभाका दुई सय ७५ स्थानमध्ये समानुपातिकतर्फ एक सय १० स्थान र प्रत्यक्षतर्फ एक सय ६५ स्थानका निम्ति यो निर्वाचन हुन गइरहेको हो। प्रत्यक्षतर्फ सबैभन्दा बढी मत ल्याउने दल र स्वतन्त्र उम्मेदवार निर्वाचित हुनेछन्। समानुपातिकतर्फ सिंगो मुलुकलाई एक निर्वाचन क्षेत्र मानेर प्राप्त मतका आधारमा दलीय हिसाबले राष्ट्रिय मान्यता प्राप्त गर्न सफल दललाई स्थान विभाजन गरिनेछ।

निर्वाचनले मुलुकको भविष्य कस्तो बनाउने भन्ने निष्कर्ष निकाल्छ। त्यसकारण पनि आममतदाताको बुद्धिमत्तापूर्ण निर्णयले यसलाई सारवान् बनाउन सक्छ। निर्वाचनका बेला दलहरूमा आपसी प्रतिस्पर्धा हुन्छ। विजयी हुन अनेकन् प्रयास गरिएको पनि हुन्छ। निर्वाचन सम्पन्न भइसकेर परिणाम आएपछि मुलुक फेरि सामान्य अवस्थामा फर्कनुपर्छ। निर्वाचनका बेलाको हारजितको भावनाभन्दा राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्नेतर्फ सबैको ध्यान पुग्नुपर्छ।

विश्वका कैयन् मुलुकले आफूलाई प्रगतिपथमा लगेका छन्। हामी मात्र रुग्ण भइरहनुपर्ने अभिशप्त अवस्थामा परिवर्तन आउनुपर्छ। मुलुकले धेरै राजनीतिक प्रयोग गरिसकेको छ। यी सबै प्रयोगबाट बाहिर निस्किएर एउटा इमानदार प्रयास गर्ने बेला भइसकेको छ। मतदाताले आफ्नो जिम्मेवारी मतदानका दिनमा पूरा गर्नेछन्। बाँकी जिम्मेवारी पूरा गर्न विजयी र अन्य नेताहरू तत्पर हुनुपर्नेछ। मुलुकको जीवनमा घटित हुन लागेको यो समयले भविष्यका निम्ति एउटा मानक स्थापित गर्न सकोस्। जय जनता जनार्दन!

प्रकाशित: २१ फाल्गुन २०८२ ०६:१० बिहीबार

Download Nagarik App