१३ आश्विन २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

फोहर व्यवस्थापनको दीर्घकालीन समाधान

काठमाडौँ उपत्यकामा फोहर व्यवस्थापन जहिल्यै चुनौतीको विषय बन्दै आएको छ। यसको दीर्घकालीन समाधान निकाल्ने गरी काम गर्न सकेको देखिएको छैन। वास्तवमा फोहरको दीर्घकालीन समाधान निकाल्न गाह्रो छैन।

दुनियाँका महानगरहरूले यसको व्यवस्थापन मात्र गरेका छैनन्, त्यसबाट यथेष्ट आम्दानीसमेत गर्न सकेका छन्। आजको दिनमा फोहर व्यवस्थापन गर्न नसकेर सडकमा असरल्ल छाड्ने अवस्थामा पुग्नु भनेको अकर्मण्यताबाहेक केही होइन। फोहर व्यवस्थापनको क्षेत्रमा धेरै अध्ययन, अनुसन्धान र काम भएको छ। अरूले कसरी फोहर व्यवस्थापन गरेका छन् भन्ने अध्ययन मात्र गर्ने हो भने पनि यो सजिलै समाधान हुन सक्छ।

एक, फोहरलाई सुरुमै कुहिने र नकुहिने भनी विभाजन गर्न सकिन्छ। अचेल फोहरलाई विभिन्न हिसाबमा घरबाटै छुट्याउन सकिन्छ। त्यसमध्ये पनि कतिपय रिसाइकल गर्न सकिने सामग्री हुन्छन्। तिनको प्रयोग गरेर सम्बन्धित परिवार र महानगरले आम्दानी गर्न सक्छन्। कुहिने फोहरलाई यहीँ प्रांगारिक मलका रूपमा उपयोग गर्न सकिन्छ। त्यसबाट करेसादेखि कौसीसम्म खेती गरेर आम्दानी बढाउन सकिन्छ। यसै पनि हामीले तरकारीसमेत आयात गरेर खाने गरेका छौँ। कम्तीमा हाम्रै भान्छाबाट निस्किएको फोहर प्रयोग गरेर फेरि भान्छाकै निम्ति तरकारी प्राप्त गर्न सकिन्छ।

दुई, फोहर व्यवस्थापनबारे जान्न भारतको नयाँदिल्ली वा सिंगापुर जहाँको अनुभव हेरे पनि हुन्छ। एसियाकै जापान, दक्षिण कोरियालगायतका मुलुकले यसको राम्रो व्यवस्थापन गरेका छन्। सिंगापुरले फोहरबाट बिजुलीसमेत उत्पादन गर्छ। फोहर जलाएको खरानीलाई समेत प्रशोधन गरी समुद्रमा जमिन थप्ने कामसमेत सिंगापुरले गरेको छ। यसरी फोहर जलाएर बनाइएको एउटा छुट्टै भूभाग सिंगापुरमा छ। 

जहाँ यसले बालबालिकालाई वातावरण, खगोल आदिबारे जानकारी गराउने ठाउँका रूपमा विकास गरिरहेको छ। सिंगापुरले घर–घरबाट उत्पादन हुने फोहरको ६१ प्रतिशतलाई रिसाइकल गर्दै आएको छ। बाँकी ३९ प्रतिशतलाई सिधै यसको जलाउने ठाउँ र ल्यान्डफिल्ड साइटमा पठाउने गरेको छ। यसरी जलाउँदा बढी कार्बन फुटप्रिन्ट बन्ने र भविष्यमा फोहरका लागि ल्यान्डफिल्ड साइटको अभाव हुने महसुस गरेर शून्य फोहर अर्थात् जिरो वेस्ट नेसनको अवधारणालाई यसले अगाडि बढाउँदैछ।

हामीकहाँ ल्यान्डफिल्ड साइट कति वर्षका निम्ति आवश्यक हुन्छ, त्यसपछिको विकल्प के हो ? आदि जस्ता विषयमा ध्यान दिएको पाइँदैन। अहिलेकै गतिमा फोहर व्यवस्थापन गर्न खोज्ने हो भने यसको समाधान निस्किँदैन। त्यसैले फोहरलाई सकेसम्म घर–घरबाटै कम उत्पादन गर्ने, त्यसमध्ये पनि धेरैलाई पुनः प्रयोग गर्ने र बाँकीलाई ल्यान्डफिल्ड साइटमा लैजाने हो भने सहज हुन्छ। सहजै कुहिनेखालका फोहरलाई घर–घरमै व्यवस्थापन गर्न सकिन्छ।

यसो गर्न नसक्ने हो भने मल बनाउनका निम्ति कम्पनीहरू खडा गरेर काम गराउन नसकिने होइन। हामीकहाँ फोहरको दीर्घकालीन समस्या समाधानका निम्ति कुनै कम्पनी आउन खोजे भने पनि तिनलाई प्रोत्साहित गर्ने गरेको देखिँदैन। कतिपय अवस्थामा राजनीतिक व्यक्ति, कर्मचारी र अन्य सरोकारवालाले अतिरिक्त लाभ नलिइ यस्तो अनुमति दिन खोज्दैनन्। वास्तविकरूपमा काम गर्न चाहने व्यक्तिहरूले अनाहकमा कमिसन दिनुपर्ने अवस्था भएपछि ती आफैँ निरुत्साहित हुन्छन्।

फोहर हामीकहाँ अहिले पनि राम्रो आम्दानी गर्ने स्रोतका रूपमा रहेको छ। केही व्यक्तिले फोहर उठाएरै राम्रो आम्दानी गरिरहेका छन्। त्यसैले फोहर व्यवस्थापन गर्न चाहँदा पनि कतिपय अवस्थामा रोक लाग्ने अवस्था छ। फोहरमा एकातिर चाहिने भन्दा बढी राजनीति पनि छ भने अर्कोतिर यसलाई दीर्घकालीन समाधानतर्फ लैजाने इच्छाशक्तिको अभाव देखिन्छ। काठमाडौँ महानगरपालिका मुलुककै ठूलो र सम्पन्नमध्ये एकमा पर्छ। यसले अरूलाई नमुनायोग्य काम गरेर देखाउनुपर्छ। काठमाडौँको काम हेरेर अन्य नगरपालिकाले पनि सिक्न सक्छन्।

वास्तवमा काठमाडौँ उपत्यकाका तीनै जिल्लालाई एउटा वृहत्तर महानगरपालिकाका रूपमा विकास गरी यसलाई अधिकार सम्पन्न निगम जस्तो बनाउनु उचित हुन्छ। काठमाडौँ महानगरपालिकासँग जोडिएका अन्य महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका छन्। यति सानो क्षेत्रमा रहेका धेरै निकायका कारण पनि काममा झन्झट देखिन्छ। राजनीतिक दलका हिसाबले धेरै निकाय बनाउँदा नेता तथा कार्यकर्तालाई सहभागी गराउन सजिलो हुन्छ।

तर, यसले व्यस्थापकीय समस्या सिर्जना गरेको छ। काठमाडौँ महानगरपालिकाभित्र जसरी काम हुन्छ, त्यसैगरी यससँग जोडिएका अन्य नगरपालिकासँगको सीमामा रहेका नगरपालिका आदिमा काम गराउन सकिँदैन। दुईटा निकाय हुँदाका समस्या आफैँमा जटिल छन्। कतिपय अवस्थामा साना खहरे वा खोल्साले छुट्याएका ठाउँमा समेत काम गराउन नसकेको देखिन्छ।

स्थानीय तह निर्वाचनमा मुलुक व्यस्त भएका बेला काठमाडौँको फोहर ५० दिनदेखि उठ्न सकेको छैन। ल्यान्डफिल्ड साइटमा फोहर लैजान जहिल्यै समस्या हुने गरेको छ। सडक निर्माणको आश्वासन दिएर पनि समयमा पूरा नहुँदा पनि यसमा समस्या आउँछ। अहिले टेकूमै फोहर व्यवस्थापन गर्नसमेत अवरोध हुन थालेको छ। पानीझरी पर्दासमेत फोहर लैजान सक्ने अवस्था हुँदैन।

यस्तो स्थिति सधैँ राख्नु उचित हुँदैन। फोहर व्यवस्थापनको दीर्घकालीन योजना र कमभन्दा कम फोहर उत्पादन गर्नेतर्फ सबैको ध्यान जानु आवश्यक छ। पर्यटकलाई स्वागत गरेर विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य राखेको मुलुकले राजधानीकै फोहर व्यस्थापन गर्न नसक्ने अवस्थाले नकारात्मक प्रभाव पार्छ। अतः फोहरलाई मोहरमा बदल्न सक्ने गरी योजना बनाउन महानगरको नयाँ नेतृत्व सफल होस्। यसो भयो भने नगरको स्वच्छता मात्र कायम हुँदैन, नागरिकमा पनि सन्तोषको भाव पैदा हुन्छ।

प्रकाशित: ११ जेष्ठ २०७९ ०१:२६ बुधबार

Download Nagarik App
Download Nagarik App