८ मंसिर २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

अन्तर्राष्ट्रिय गन्तव्यको दोस्रो ढोका

बुद्ध जयन्तीको पावन अवसरमा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलले आफ्नो घुम्टो खोलेको छ। यही पवित्र दिनबाट यसले आफ्नो यात्रु सेवा सुरु गरेको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि विश्व हवाई यात्रुका निम्ति नयाँ गन्तव्य बनेको हो। मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल खुलेको सात दशकपछिको यो विकासका आफ्नै आयाम छन्। एकातिर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बर्सेनि बढ्दो छ। अर्कोतिर, मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुँदा आइपर्ने रणनीतिक समस्या हल गर्न पनि वैकल्पिक इन्तजाम गर्नुपर्ने हुन्छ।

२०२३ सालमा तत्कालीन युवराज वीरेन्द्रवीरविक्रम शाहदेवले भैरहवास्थित विमानस्थल उद्घाटन गरेका थिए। त्यसको ५६ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई उद्घाटन गर्ने अवसर प्राप्त भएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाबाट भएको हो।

संयोगले गठबन्धन सरकारको नेतृत्व गरिररहेका नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने मौका पाएका हुन्। चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसनले यसको निर्माण दुई वर्षमै पूरा गर्ने भने पनि समय लागेको थियो। भूकम्पदेखि कोभिड–१९ सम्मको असरले निर्माण कार्यमा ढिलाइ भएको हो।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनसँगै कुबेतको जजिरा एअरलाइन्सले उडान समेत सुरु गरिसकेको छ। राष्ट्रिय ध्वजाबाहक नेपाल एअरलाइन्सले यसअघि नै परीक्षण उडान गरेको थियो। नेपाल एअरलाइन्सकै न्यारो बडी जहाजले समेत सोमबार उडान गरेको थियो। पहिलोपटक यहाँ अवतरण गरी लुम्बिनी प्रदेश र आसपासका यात्रुलाई सुविधा दिएको जजिरा एअरलाइन्सलाई पानीका फोहरा हानेर स्वागत गरिएको थियो।

आफ्नै घरदैलोबाट अन्तर्राष्ट्रिय उडानको युगमा प्रवेश गर्न पाउनु यस क्षेत्रका नागरिकका निम्ति निःसन्देह खुसीको कुरो हो। एसियाली विकास बैंक, ओपेक फर इन्टरन्यासनल, एसियन क्लिन इनर्जी फन्ड र नेपाल सरकारको सहयोगमा यो विमानस्थल निर्माण गर्दा करिब १० अर्ब रूपैयाँ खर्च भएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि प्रत्यक्षरूपमा यसले बुद्ध जन्मस्थल लुम्बिनीलाई जोड्नेछ। विशेषगरी बौद्ध मुलुकहरू श्रीलंका, थाइल्यान्ड, म्यानमार, भुटान, कम्बोडियाका साथै दक्षिण एसियाली मुलुक बंगलादेशलगायतका मुलुकलाई सिधा उडान सुरु गर्न यो विमानस्थल उपयोगी हुने महसुस गरिएको छ। बुद्ध जन्मस्थलको मात्र भ्रमण उद्देश्य भएका व्यक्तिका निम्ति सिधै भ्रमण गर्न यसले सहज पार्छ। यसका साथै मुलुकमा एकमात्र अन्तर्राष्ट्रिय विमास्थल हुँदाको अप्ठ्यारोमा पनि यसले सहज अवस्था सिर्जना गर्नेछ।

कतिपय अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने विमानलाई भारतका कोलकाता, दिल्ली वा बंगलादेशको ढाकातिर मोडिनुपर्ने अवस्था रहेको थियो। देशभित्रै दोस्रो विमानस्थल हुँदा तिनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्छन्। यसले जहाजहरूलाई अतिरिक्त इन्धन बोक्नुपर्ने वाध्यताबाट मुक्त गर्छ।

वैकल्पिक विमानस्थल नजिकै भएका कारण आकस्मिक अवतरणका निम्ति थप इन्धन बोक्नु नपरेपछि तिनले बढी यात्रु बोक्न सक्छन्। नेपाल आउने हवाई यात्रुको संख्या बर्सेनि बढ्दै गएको छ। अहिलेकै स्थितिमा बर्सेनि एक करोड यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओहोरदोहोर गर्छन्। यो संख्या बर्सेनि १० प्रतिशतले बढ्ने पूर्वानुमान छ।

विगत दुई वर्ष कोभिड–१९ का कारण धेरै यात्रुले ओहोरदोहोर गर्न पाएनन्। स्थिति सामान्य हुँदै गएपछि हवाई यात्रु संख्या बढ्दै जानेछ। यस हिसाबले पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक हुन्छ। हामीकहाँ पूर्वाधार निर्माणको अग्रगामी सोच प्रायः देखिँदैन।

कति वर्षपछि सडक साँघुरो हुन्छ वा त्यसको स्तर वृद्धिका निम्ति के गर्नुपर्ला भन्ने सोच पहिल्यै आउने हो भने पछि समस्या पर्दैन। यस्तो सोचको विकास हुन्थ्यो भने दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति सात दशक कुर्नुपर्ने थिएन। पूर्वाधार निर्माणमा विशेषगरी सरकारका योजना निर्माताहरूको भूमिका महत्त्वपूर्ण हुन्छ। पूर्वाधार निर्माण जति हुन सक्यो, त्यति विकासको गति अगाडि बढ्छ। यसले अन्य पक्षमा सकारात्मक प्रभाव पार्छ।

हामीकहाँ पूर्वाधार निर्माणको लहर आएको छ। तर, सँगै यस्ता पूर्वाधार बनाइसकेपछि पनि त्यसको भार भने यात्रुमै थप्ने गरिएको हो। अहिले नेपालबाट उडान गर्ने आन्तरिक र बाह्य उडानको टिकट मूल्य बढाइएको छ। यसले गर्दा आमउपभोक्ताका निम्ति सेवा महँगो हुनेछ। त्यति मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बजारमा टिकट खरिद गर्ने यात्रुले यहाँको सेवा महँगो भएपछि त्यसले स्वतः असर पार्न सक्छ। नागरिक उड्डयन प्राधिकरणले नयाँ बिमानस्थल सेवा शुल्क दोब्बर पारेको छ भने अन्तर्राष्ट्रिय उडानमा यो तीन गुणा बढी भइसकेको छ। त्यसैले पूर्वाधार निर्माणका निम्ति लगाइने करको पनि एउटा सीमा हुनु आवश्यक छ।

संयोगले मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएकै दिन निकट छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनीको भ्रमण गरेका छन्। अति विशिष्ट पाहुना बोकेर आएको विमान पनि यहाँ अवतरण गर्न सकेको भए त्यसले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रचार हुन्थ्यो।

नेपालप्रति मोदीको सद्भाव रहेको देखाउने यो एउटा अवसर पनि थियो। उनलाई त्यहीँ अवतरित हुन नेपाल सरकारले प्रेरित गर्न सकेको देखिएन। सुरक्षाका कारणले मात्र उनी त्यहाँ अवतरित नभएका होइनन्। यो विमानस्थलको परीक्षण उडान पनि भइसकेको हो। मोदीले नेपालमा आउँदा आफूलाई छुट्टै आध्यात्मिक सन्तुष्टि मिलेको बताएका छन्। वास्तवमा उनी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी त्यहाँबाट बरु हेलिकोप्टरमा बुद्ध जन्मस्थल गएका भए आमनेपालीलाई सन्तुष्टि प्राप्त हुने थियो।

जे होस्, अन्तर्राष्ट्रिय गन्तव्यका निम्ति नेपालको दोस्रो ढोका खुल्नु आफैँमा पूर्वाधार निर्माण क्षेत्रमा कोशे ढुंगा हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सञ्चालनमा आएपछि मुलुकमा गौरव गर्न लायक तीनवटा यस्ता पूर्वाधार हुनेछन्। सुन्दर प्रकृतिको काखमा बसेको नेपालले पर्यटनमार्फत वैदेशिक मुद्रा आर्जन गर्न सक्छ। मुलुकको पर्यटन विकास र समृद्धिका निम्ति यी अन्तर्राष्ट्रिय विमानस्थलको उच्चतम उपयोग गर्नेतिर सरकारको रणनीतिक योजना र तयारी हुनुपर्छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०१:५० बुधबार

Download Nagarik App
Download Nagarik App