१६ चैत्र २०८० शुक्रबार
सम्पादकीय

१,७७,३३,७२३

आज घरदैलोको सरकार छान्ने दिन हो। आगामी पाँच वर्षका निम्ति नेपाली बालिग मतदाताले छानेका उम्मेदवारले यो सरकार सञ्चालन गर्छन्।

हाम्रो दैनिक जीवनमा सबैभन्दा धेरै प्रभाव पार्ने सरकार पनि हो यो। देशभरका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाताले गर्ने निर्णयले आगामी सरकारको चरित्र निर्धारण हुन्छ। यो निर्वाचनको स्थानीय स्तरमा मात्र होइन, आगामी प्रदेश र संघीय निर्वाचनमा पनि यसले सर्वाधिक प्रभाव पार्छ। त्यसैले विवेकको मत दिने यो दिन हाम्रा निम्ति आफैँमा दूरगामी महत्वको छ। आफ्नो अमूल्य मत दिने यो एक क्षणमा विवेक गुमाउँदा आगामी पाँच वर्षका प्रत्येक क्षणमा पछुताउनु पर्नेछ।

स्थानीय तह सरकारका गाउँपालिका र नगरपालिकाका निम्ति यो निर्वाचन हुँदैछ। मुलुकका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिकाले निर्वाचनमार्फत् नयाँ नेतृत्व पाउँछन्। यो निर्वाचनमा ३५ हजार २ सय २१ पदाधिकारी निर्वाचित हुन्छन्। मतदाताको सहभागिता, निर्वाचनमा सहभागी दल, उम्मेदवार र मतदाताको सहभागिताका हिसाबले पनि यो निकै ठूलो अभ्यास हो।

हामीकहाँ संसदीय निर्वाचन जति धेरै पटक भएको छ, त्यति स्थानीय सरकारको निर्वाचन भएको छैन। विगतमा स्थानीय निकायका रूपमा रहेका गाउँ विकास समिति र नगर विकास समितिभन्दा अहिलेको संरचना भिन्न छ। त्यो बेलाका स्थानीय निकायको अधिकार र कर्तव्यभन्दा अहिलेका पालिका सरकारको धेरै छ। त्यो अधिकारले यस क्षेत्रको आकर्षण पनि बढाएको छ। त्यही भएर अहिले निर्वाचनमा सहभागी हुन संघीय र प्रादेशिक तहमा प्रतिनिधित्व गरेका व्यक्तिसमेत सरिक भएका छन्।

स्थानीय तह निर्वाचन एक हिसाबले मतदानको मेला पनि हो। यसको महत्व यसपटक निर्वाचनमा आममतदाताले आफ्नो निर्वाचन क्षेत्रमा फर्किन देखाएको उत्साहले पनि दर्शाउँछ। झण्डै दसैँ–तिहारका बेलामा जस्तै गरी राजधानी काठमाडौँका सडक खाली देखिएका छन्। मतदाताले राजधानी छाड्ने क्रममा देखिएको दृश्यले पनि यसको औचित्य पुष्टि गर्छ। हिजो सबैलाई काठमाडौँ बढी शक्तिशाली लागेको थियो।

तर सिंहदबारको अधिकार गाउँमा फर्किएपछि त्यहीँ आफ्नो अभ्यास गर्न सकिन्छ भन्ने विश्वास पनि बलियो भएको छ। स्थानीय सरकारले राम्ररी काम गर्न सके भने आफ्नै गाउँघर बसौँबसौँ लाग्ने हुन्छन्। कसैले पनि सेवा, सुविधा र आकर्षणका निम्ति गाउँ छाड्नु पर्दैन। यो परिस्थिति आगामी केही आवधिक निर्वाचन सम्पन्न गरेपछि पक्कै पनि आउनेमा विश्वस्त हुन सकिन्छ।

निर्वाचनको पूर्वसन्ध्यासम्म यसमा प्रभाव पार्ने ठूला घटना भएका छैनन्। विगतमा निर्वाचनका क्रममा आक्रमण÷प्रत्याक्रमणका घटना हुने गरेकामा त्योभन्दा शान्त स्थिति छ। केही नेताले मौन अवधिको अवज्ञा गरेकोबाहेक सञ्चारमाध्यमलगायतले यसको पालना गरेका छन्। केही दलविशेषका व्यक्तिले मौन अवधिमा पैसा बाँड्ने काम गरेका छन्। केही त समातिएका पनि छन्।

यस्तो अवस्था आउन नदिन गम्भीरतापूर्वक सबैले ध्यान दिनुपर्छ। तुलनात्मकरूपमा शान्तिपूर्ण देखिएको यो अवस्था निर्वाचन सम्पन्न हुँदासम्म कायम रह्यो भने हामी विश्वस्त हुन सकिन्छ परिपक्वताका लक्षण देखिन थालेछन् भनेर। लोकतन्त्र तब परिपक्व हुन्छ जब आवधिक निर्वाचन सहज ढंगले सम्पन्न हुन थाल्छन्। स्थानीय निर्वाचनको तयारी सुरु भएपछि पनि यसप्रति प्रमुख दलले शंका व्यक्त गरिरहेका थिए। तर, आममतदाता भने निर्वाचनप्रति विश्वस्त भइरहेको देखिएको छ। निर्वाचनप्रति मतदाताको रुचि जगाइरहन पनि यस व्यवस्थाका जीवन्त पक्ष उजागर भइरहनु आवश्यक छ।

लोकतन्त्रलाई दह्रिलो र भरलाग्दो बनाउन निर्वाचन शुद्धताको सुनिश्चितता आवश्यक छ। विगतमा हामीकहाँ निर्वाचनका सिलसिलामा मतपत्र च्यात्ने, पराजित भइसकेका नेतालाई विजयी बनाउन तिकडम गर्नेजस्ता खेल पनि भएका छन्। यसपटक पनि त्यस्ता व्यवहार भए भने हाम्रो निर्वाचन शुद्धताको प्रयासमा धब्बा लाग्छ। त्यति मात्र होइन, यसका निम्ति खटिएका निर्वाचन आयोगजस्ता जिम्मेवार निकायको विश्वसनीयतामा पनि शंका हुन्छ।

त्यसैले निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्त बनाउन प्रयास गर्नुपर्छ। मतदान सुरु भएपछि अन्त्य र त्यसपछि जनताले दिएको अभिमतलाई सुरक्षित ढंगले गणना गरी निर्विघ्न विजयी उम्मेदवारको घोषणा महत्वपूर्ण कार्य हो। त्यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय र प्रशासनको भूमिका हुन्छ। त्यसैगरी सचेत नागरिक समाजले यसलाई ध्यानपूर्वक हेर्नुपर्छ। त्यसो भयो भने मात्र लोकतन्त्रको पवित्रता जोगिन सक्छ।

स्थानीय तह सशक्त हुँदा त्यहीँ आमनागरिकले सुविधा पाउन सम्भव हुन्छ। त्यसका निम्ति इमानदार र सक्षम व्यक्तिलाई विजयी गराउने महानतम कार्यमा आममतदाताले आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ। अन्तिम घडी राजधानीबाट विभिन्न दलहरूले गाउँगाउँमा मतदाता लिएर गएका छन्। यातायात र भोजन आदिको खर्च भएको पनि देखिएको छ। यस्तो पक्षलाई निर्वाचन आयोगले रोक्न नसके पनि आगामी दिनमा शुद्धीकरणका निम्ति हेर्नुपर्ने देखिन्छ। दलहरूले मतदातालाई लिएर गए पनि आफ्नो विवेकको मत भने आफैँ दिए हुन्छ। कसैको सामान्य खर्चमा त्यसलाई साट्नु हुँदैन।

मुलुकका भाग्य विधाता रहेका मतदाताले आफ्नो विवेक प्रयोग गरे भने गलत व्यक्ति निर्वाचित भई भ्रष्टाचार गर्ने वा हाम्रा गाउँ र नगरपालिकालाई अक्षम बनाउने खतरा कम हुन्छ। हाम्रा गाउँ र नगर राम्रा नभई देश राम्रो देखिँदैन। आज सहरमा बस्ने मानिस न्यूनतम मानवीय स्वास्थ्यका पक्षबाट समेत वञ्चित छन्। त्यो अवस्थामा सुधारका निम्ति स्थानीय तहमा गतिला उम्मेदवार विजयी हुनुपर्छ। राम्रा उम्मेदवार चिन्न गाह्रो छैन। तिनलाई राम्ररी चिनेर व्यवहार गर्न गम्भीर हौँ। लोकतन्त्रलाई लयमा ल्याउने यो क्षणलाई सबैले सार्थक तुल्याऔँ।

प्रकाशित: ३० वैशाख २०७९ ०६:२२ शुक्रबार

Download Nagarik App
Download Nagarik App