coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

मतदान अर्थात अभिमतको दान

निर्वाचनको सबैभन्दा महत्त्वपूर्ण कार्य मतदान हो। उम्मेदवार बन्नु, मत माग्नु वा निर्वाचनमा अरू तरिकाले भाग लिनुभन्दा बढी जिम्मेवारी मतदाताको हुन्छ। मत र दान दुई शब्द मिलेर बनेको यो शब्दभित्रको पवित्रतालाई महसुस गर्नुपर्छ। मतलाई दानका रूपमा दिइएको हो।

दानका रूपमा दिइएको वस्तु वा सेवाको कुनै मूल्य हुँदैन। फेरि दानमा लिएको कुराका निम्ति केही माग पनि गरिँदैन। पाँच वर्षसम्म जनप्रतिनिधि बनेर सेवा गर्ने योग्य व्यक्तिलाई हामीले आफ्नो अमूल्य मत दान गरेको हो। मतदानलाई मूल्यमा किन्न सकिन्न, त्यही भएर यसलाई अमूल्य भनिएको हो। मूल्य लगाउन सकिने भए जोसँग पैसा छ उसैले किनेर यसलाई हासिल गर्न सक्छ।

हामीले विगतका कठिन दिनमा समेत आफ्नो मतलाई पैसामा साटेका छैनौँ। यस्तो अमूल्य मतलाई हामीले योग्य उम्मेदवार छानेर सदुपयोग गरेका छौँ। जतिबेला हामीकहाँ राजनीतिक अधिकार सुनिश्चित भएको थिएन, त्यो बेला पनि हामीले यसको सदुपयोग गरेका छौँ। पञ्चायतका बेला जनपक्षीय उम्मेदवारका निम्ति गरिएको मतदान यथार्थमै दान थियो। त्यो दान मात्र थिएन, समसामयिक परिस्थितिप्रतिको हाम्रो विरोध पनि थियो। र, परिवर्तनप्रतिको उत्कट अभिलाषा समेत त्यसबाट प्रकट भएको थियो। यसकारण हाम्रो मुलुकमा निर्वाचनको धेरै लामो इतिहास नभए पनि यसको पवित्र परम्पराबाट हामी निर्देशित छौँ।

निर्वाचनसँगै अचेल मतदानसँग जोडिएको पवित्रताको पक्षमा विचलन आउन थालेको छ। मतदाताका निम्ति भोजभतेर आयोजना गर्नुपर्ने अवस्था आएको छ। कसैको केही खाइदिएर मतदान गर्नु भनेको सोह्रै आना बेठीक कार्य हो। कुनै पनि मतदाताले यस्तो गर्नुहुँदैन। हुँदाहुँदा मतदातालाई नचिनेका मानिसले दिएको खाना नखानू भनेर प्रहरीले सतर्क गराउनुपर्ने अवस्थासमेत आएको छ।

नेपाल प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिअनुसार अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नखान आग्रह गरेको हो। स्थानीय तह निर्वाचनको सिलसिलामा प्रचारमा हिँडेका दलका नेता, उम्मेदवार तथा कार्यकर्ता यसरी दिएको प्रसाद वा सगुन खाँदा बिरामी परेपछि सचेत बनाएको हो। हामीकहाँ विकृतिका अनेक प्रकार देखिएका छन्। अरूलाई खाना दिँदा पनि अशुद्ध र विषादियुक्त दिनु भनेको हाम्रो संस्कृति र परम्परामै आएको विचलन पनि हो। निर्वाचनको सिलसिलामा समेत यस्ता कार्य हुनु आफैँमा चिन्ताको विषय हो।

यसरी दिएको खाना मतदातालाई पनि पर्न सक्छ। पहिला बसमा यात्रा गर्ने मानिसलाई अपरिचित व्यक्तिले दिएको खाना खाँदा लुटपाटमा पर्ने गरेका थिए। त्यसैले अपरिचित व्यक्तिले दिएको खाना नखान प्रहरी र वस सेवा दुवैले जानकारी गराउने गरेका थिए। त्यसैले मानिसमा धेरै सचेतता पनि आएको हो।

अहिले निर्वाचनको सिलसिलामा पनि यस्तो अवस्था आउनु आफैँमा अनौठो विषय हो। निर्वाचनमा कसैले कसैलाई पनि प्रलोभन दिने वा ख्वाउने अवस्था आउनु विकृतिको पराकाष्ठा पनि हो। हुँदाहुँदा मतदानजस्तो पवित्र पक्षसमेत विवादमा पर्न थालेको छ।

निर्वाचनका बेला मतदाताले सबैका कुरा राम्ररी सुन्ने र आफ्नो क्षेत्रको उन्नयनका निम्ति योगदान गर्न सक्ने व्यक्तिलाई पवित्र मनले आफ्नो अभिमत दिने हो। यसरी मत पाउने व्यक्तिले पनि राम्ररी काम गर्न सक्छन्। मतदातालाई समेत ख्वाइपियाइ गरेर चुनाव जित्ने व्यक्तिले जनसेवी काम गर्न सक्दैनन्।

तिनले पनि अहिले खर्च गरेको रकम उठाउनमै आफ्नो ध्यान केन्द्रित गर्छन्। निर्वाचन धेरै महँगो हुन थालेको कारण पनि यही हो। उम्मेदवारले आफू यताउता हिँड्नका निम्ति खर्च गर्नुमा मात्रै सीमित हुन सक्दैनन्। निर्वाचनमा उम्मेदवारले खर्च गर्ने भनी तोकिएको सीमा हेर्ने हो भने जोसुकै उम्मेदवार बन्न सक्छन्। तर सामान्य गाउँपालिका वा नगरपालिकाको वडाध्यक्ष बन्न समेत करोड रुपियाँसम्म खर्च गर्नुपर्ने परिस्थिति आउनु भनेको निर्वाचनमा विकृति आउनु हो। यस्तो अवस्थाबाट मुक्त हुन मतदाताले कोसिस गर्नुपर्छ।

स्थानीय तह निर्वाचनमा स्रोत/साधन दोहन गरेर पनि कमाउन सकिने महसुस गरेर कैयन् ठेकेदार, क्रसर व्यापारी, डोजर सञ्चालक आदि पनि सहभागी भएका छन्। अहिले निर्वाचन जित्ने हो भने भोलिका दिनमा पालिका तहबाट फाइदा उठाउन सकिन्छ भन्ने हो। यस्ता व्यक्तिले स्वाभाविक रूपमा भोजभतेर गरेर भए पनि निर्वाचनमा विजय हासिलको प्रयास गर्छन्। पैसा र पाखुराको बलमा निर्वाचन जित्ने बानी लाग्यो भने त्यसले अन्ततः हाम्रो प्रणालीलाई भ्रष्ट बनाउँछ।

विगतमा स्थानीय तहमा काम गर्ने व्यक्तिले तलबभत्ता पाउँदैनथे, यो शुद्ध सेवाको विषय जस्तो थियो। आज राजनीति पेसाका रूपमा विकास भएको छ। त्यसैले स्थानीय तहका पदाधिकारीले समेत तलबभत्ता पाउँछन्। त्यसले पनि अहिले स्थानीय तहमा आकर्षण बढाएको छ। सेवा भावको अन्त्य र एउटा जागिर जस्तो स्थिति भएको हुनाले पनि अहिले विकृति बढ्दो छ।

यो स्थितिमा पुग्न जसले जेसुकै हर्कत गर्न सक्ने अवस्था आएको छ। त्यही भएर पवित्र मतदान पनि बिक्रीको वस्तु बनेको हो। कतिपय ठाउँमा मतदातालाई हजारको नोट राखेर ढोगेका खबरसमेत आएका छन्। मत किन्न खासगरी मौन समयको दुरूपयोग हुन्छ। यो बेलामा गम्भीर अनुगमन आवश्यक छ।

प्रकाशित: २७ वैशाख २०७९ ०२:५४ मंगलबार

Download Nagarik App
Download Nagarik App