२ पुस २०८१ मंगलबार
image/svg+xml
सम्पादकीय

स्वच्छ हावा नैसर्गिक अधिकार

पछिल्ला दिनमा राजधानी काठमाडौँ प्रदूषणका हिसाबले विश्वमै अग्रणी स्थानमा रहेको समाचार प्रवाह भइरहेको छ।

स्वाभाविक रूपमा हिउँद याम र वसन्त क्रतुमा तुलनात्मक रूपमा प्रदूषण बढ्ने गर्छ। यो मौसममा पानी कम पर्दा र हावाको यथेष्ट प्रवाह नहुँदा वायुमण्डलमा रहेका विषाक्त कण थेग्रिन र बढारिन पाउँदैनन्। यही कारण प्रदूषण स्तर बढ्छ। गत वर्ष प्रदूषण स्तर अत्यधिक हुँदा केही दिन विद्यालय बन्द गर्नुपरेको थियो। यो वर्ष प्रदूषण मानव स्वास्थ्यका लागि अस्वस्थकर स्तरमा उक्लेको छ तर अत्यधिक अस्वस्थकर र खतरनाक तहमा पुगेको छैन।

विश्वकै अत्यधिक प्रदूषित देशको सूचीमा नेपाल पर्छ। त्यसैगरी विश्वका सबैभन्दा बढी प्रदूषित शहरमा राजधानी काठमाडौँ रहेको छ। पछिल्ला वर्षका तथ्यांकले यही देखाउँछ। वर्षभरको वायु प्रदूषणको औसत हिसाबले यस्तो देखिएको हो। यसरी हेर्दा बर्सातको समयबाहेक प्रदूषण नेपाल र राजधानी काठमाडौँका लागि सर्वकालिक समस्या हो। राजधानी र देशभरको प्रदूषणबारे मौसम धुम्मिएका बेलामा मात्रै ध्यान पुग्ने गर्छ। प्रदूषणसम्बन्धी यस्ता समाचार आएपछि नीति निर्माता र वातावरण अभियन्ता पनि यही मौसममा मात्र सक्रिय देखिने गर्छन्।

मानव स्वास्थ्यमात्र होइन, प्रकृतिको स्वास्थ्य एवं परिस्थिकीय प्रणालीमा समेत अत्यन्त नकारात्मक प्रभाव पार्ने वायु प्रदूषणबारे छलफल र चर्चा मौसमी हिसाबमा मात्र हुनु उचित होइन। वायु प्रदूषणका लागि जिम्मेवार केही कारक तत्त्वले जलवायु परिवर्तनसमेत गराएको अध्ययनले देखाएको सन्दर्भमा यो विषय झन पेचिलो बन्दै गएको छ।

मानिसको रौँको व्यासभन्दा कैयन् गुना सानो आकारको कण वायु प्रदूषणका लागि सबैभन्दा खतरनाक मानिएको छ। पिएम २.५ सूक्ष्म कण मानिसको फोक्सोको भित्री तहसम्म पुग्ने र त्यसले रक्तसञ्चार प्रणालीमा बाधा पारी दम, मुटुरोग तथा श्वासप्रश्वाससम्बन्धी अन्य रोग निम्ताउन सक्छ।

पछिल्ला अध्ययनले वायु प्रदूषणले मस्तिष्कघात, फोक्सोमा क्यान्सर, सरदर उमेर घटाउने र कोभिड–१९ बाट हुने मृत्यु दरसमेत बढाएको देखाएका छन्। वायु प्रदूषणका कारण विश्वमा प्रत्येक वर्ष झन्डै ७० लाख मानिसको मृत्यु हुने गरेको छ भने लाखौँको स्वास्थ्य हिसाबले बाँच्ने उमेरमा ह्रास आएको अध्ययनले देखाएका छन्।

यसैगरी घरबाहिरको प्रदूषण (आउटडोर पोलुसन) का कारण प्रौढमा हृदयरोग, हृदयाघात, चिनी रोग र मस्तिष्क कोषमा क्षय हुने पाइएको छ। डब्लुएचओले विश्वमा अस्वस्थ खाना तथा चुरोट सेवनका कारण सिर्जना हुनेजत्तिकै रोगभार वायु प्रदूषणजन्य रोगको रहने गरेको बताएको छ। विशेष गरी काठमाडौँ उपत्यकामा प्रदूषणका कारण पछिल्ला वर्षमा दम, उच्च रक्तचाप, मुटु रोग, ब्रोंकाइटिसलगायतका रोगीको संख्या बढेको देखिएको छ।

नेपालको सन्दर्भमा वायु प्रदूषणका कारण सन् २०१९ मा नेपालमा ४२ हजार १ सयजनाको मृत्यु भएको ‘स्टेट अफ ग्लोबल एयर–२०२०’ नामक अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनले देखाएको थियो। सन् २०१६ को विश्व स्वास्थ्य संगठनको एक अध्ययन प्रतिवेदनले प्रदूषणका कारण काठमाडौँमा मात्रै वर्षमा झन्डै १० हजार मानिसको मृत्यु हुने देखाएको थियो। यी तथ्यांकले वायु प्रदूषण जनस्वास्थ्यको सबैभन्दा ठूलो चुनौती बनेको प्रष्ट हुन्छ।

नेपालमा वातावरण संरक्षण र प्रदूषण नियन्त्रणका लागि केही प्रयास भए पनि तिनको कार्यान्वयन अत्यन्त फितलो छ। नेपालको सांविधानको धारा ३० मा हरेक नागरिकले सफा र स्वच्छ वातावरणमा बाँच्न पाउने हकको व्यवस्था छ। १५औँ पञ्च वर्षीय योजनाले प्रदूषण नियन्त्रण, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवर्धन गर्ने लक्ष्य लिएको छ। राष्ट्रिय वातावरण नीति, २०७६ ले प्रदूषण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी वायु गुणस्तर अनुगमन प्रणालीको विकास, मापदण्ड तर्जुमा तथा कार्यान्वयन, विद्युतीय सवारीसाधनको प्रयोगलगायतमा जोड दिएको छ।

वातावरण संरक्षण ऐन, २०७६ मा कसैले पनि मापदण्डविपरीत प्रदूषण गर्न नपाउने व्यवस्था छ। काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा प्रदूषण नियन्त्रणका लागि विभिन्न योजना प्रस्ताव गरे पनि तिनको कार्यान्वयन कमजोर देखिएको छ।

वायु प्रदूषणका लागि स्थानीय र बाह्य कारण जिम्मेवार छन्। बाह्य कारणमा नेपाल बाहिरबाट आउने प्रदूषित हावा हो भने स्थानीय कारणमा जंगली आगो, बालीनाली भित्र्याएपछि बाँकी रहेको घैमल बाल्नु, गाडीले गर्ने उत्सर्जन, सडकबाट निस्कने धुलो लगायतका कारण प्रमुख छन्। राजधानी काठमाडौँमा रहेका इँटा उद्योगले गर्ने उत्सर्जन पनि वायु प्रदूषणका कारक मानिन्छ। यसरी हेर्दा वायु प्रदूषण निम्त्याउने स्रोतमाथि नियन्त्रण गनुपर्ने देखिन्छ। एकातिर, सार्वजनिक सवारी साधनलाई स्वच्छ ऊर्जामा आधारित बनाउन आवश्यक छ भने अर्काेतिर उत्सर्जन कम गर्ने सवारी साधनमात्र भित्र्याउन अनुमति दिनुपर्छ।

सार्वजनिक सरोकारको यो विषयमा सरकारी स्तरमा गरिने प्रयास सँगसँगै नागरिक स्तरमा पनि यो विषयमा जनचेतना बढाउन आवश्यक छ। सर्वसाधारणले पनि वायु प्रदूषण बढ्नमा आफू कति जिम्मेवार छु भन्ने हेक्का राख्न जरुरी छ। आफ्नो कारणले प्रदूषण नबढोस् भन्नेमा प्रत्येक व्यक्तिको ध्यान पुग्नुपर्छ। घर बाहिर फोहोर तथा अन्य वस्तु नबाल्दा यसले प्रदूषण कम गर्छ। 

आफूले चलाउने सवारी साधनले कति प्रदूषण गरीरहेको छ भन्ने ध्यानमा राख्ने र कमभन्दा कम जैविक ऊर्जा उपयोग गर्न ध्यान दिनुपर्छ। सवारी साधनको समयमा मर्मत सम्भार गर्नाले पनि उत्सर्जनमा कमी आउन सक्छ। इँटा उद्योगलाई राजधानी उपत्यका बाहिर विस्थापन गर्न एकातिर आवश्यक छ भने अर्काेतिर यिनले प्रयोग गर्ने प्रविधिलाई सुधार गर्न आवश्यक छ।

यो विषयमा युवा पिँढीलाई सचेत पार्न वायु प्रदूषणको विषयमा विद्यालय तथा कलेजका पाठ्यपुस्तकमा पाठ्यसामग्री राख्नुपर्छ। आज हामीले हाम्रो वातावरण जोगाउन प्रयास नगर्ने हो भने भावी सन्ततिलाई कस्तो धर्ती उपहार दिन सकौँला? त्यसैले वायु प्रदूषण नियन्त्रणको प्रयास समग्रतामै हुनुपर्छ।

यसका निम्ति व्यक्तिदेखि राज्यसम्म गम्भीर हुने र प्रदूषण कम गर्ने योजना कार्यान्वयन गर्ने हुनुपर्छ। यो छलफल र चर्चा मात्र गर्ने विषय होइन, गंभीरताका साथ ठोस काम गर्न ढिला भइसकेको छ। हामी प्रदूषणले निसास्सिएका छौँ, स्वच्छ हावा हाम्रो नैसर्गिक अधिकार हो। त्यसका निम्ति हामी सबैको प्रयास आवश्यक छ। 

प्रकाशित: १८ चैत्र २०७८ ००:५८ शुक्रबार

Download Nagarik App
Download Nagarik App