१६ वैशाख २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

दण्डहीनताको दबदबा

केही वर्षयता कानुन हातमा लिने प्रवृत्ति बढ्दै गएको छ। भिडले आफैँ अघि सरेर कुनै पनि व्यक्तिमाथि आक्रमण गर्दा न्याय मर्छ। आरोप लाग्दैमा कोही पनि दोषी हुँदैन। आरोपितमाथि आधार प्रमाणका आधारमा न्यायालयले निर्णय दिन्छ। न्यायालयबाहेक कानुनले तोकेका निकायले पनि प्रमाणका आधारमा मात्र दण्ड/जरिवानाको आदेश गर्न सक्छन्। भिडले आफैँ निर्णय सुनाउने वा दण्ड गर्न खोज्नु अपरिपक्वताको लक्षण हो। भिडले आफैँ यस्तो गर्न खोज्दा सम्झाउने विवेक भएका व्यक्तिहरूको समेत समाजमा उपस्थिति हुन छाडेको देखिन्छ। यथार्थमा भिडको विवेक हुँदैन। भिडमा हुने व्यक्तिमा भिडको मानसिकता (क्राउड बिहेभियर) ले काम गर्न थाल्छ। त्योबेला व्यक्तिगत जिम्मेवारीको प्रश्न गौण हुन्छ। भिडले कसैलाई मार्न अघि सर्‍यो भने बाँकी पनि त्यतै दौडिन्छन्। विवेक भएका व्यक्ति पहिल्यै पाखा लाग्छन्।  

मोरङको लेटाङमा भीडले आक्रमण गरी आइतबार एकजना प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ। होलीको दिनमा आफूमाथि दुव्र्यवहार भएको स्थानीय बालिकाको सिकायतका आधारमा शिक्षक मनोज पौडेलविरुद्ध स्थानीय आक्रोशित भएका थिए। आरोपित शिक्षकलाई प्रहरीको जिम्मा लगाउँदा आक्रमण नहोस् भनी गरिएको व्यवस्थापनलाई नबुझ्दा भिडले आक्रमण सुरु गरेको थियो। भिडले आरोपित शिक्षकलाई नियन्त्रणमा लिई आक्रमण गर्न लागेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। भिडबाट ती शिक्षकलाई जोगाउनु र न्यायको कठघरामा उभ्याउनु प्रहरीको दायित्व हो। तर दायित्व निर्वाह गर्ने काममा खटिएका प्रहरीले अन्ततः आक्रमणमा परी घाइते भइ मृत्यु वरण गर्नुपर्ने अवस्था आउनु आफैँमा चिन्ताको विषय हो।  

उक्त घटनामा परी एसएसपीसहित २९ जना प्रहरी घाइते हुने अवस्था आउनु समाजमा फैलिँदै गएको अराजक व्यवहार हो। प्रहरीमाथि आक्रमण हुन नदिन स्थानीय अगुवा व्यक्तिहरूको पनि भूमिका हुनु आवश्यक छ। सर्वसाधारण आफैँ आक्रोशित भई प्रहरीमाथि आक्रमण गर्नु गम्भीर अपराध हो। शान्तिसुरक्षामा खटिएका प्रहरी, कर्मचारी र अन्य पेसाकर्मी कोहीमाथि पनि आक्रमण गर्न पाइँदैन। सभ्य समाजमा कसैमाथि हात हाल्नेबित्तिकै त्यो व्यक्ति दोषी हुन्छ। त्यसमाथि कानुनी कारबाही अवश्यम्भावी छ। आरोपित शिक्षकमाथि कुटपिट हुन लागेपछि प्रहरीले नजोगाएको भए, तिनी त्यहीँ मारिने निश्चित थियो। यस हिसाबले पनि प्रहरीले आफूलाई मिटाएर पनि आरोपितलाई बचाएका छन्।

अहिले ती शिक्षकमाथि आरोपमात्र लागेको हो। आरोपकै आधारमा आक्रमण गरिहाल्ने हो भने भोलि उनी निर्दोष ठहर भए भने पछुतोबाहेक केही हुँदैन। आरोपितले गल्ती गरेका भए कानुनअनुसार स्वतः कारबाही हुन्छ। कम्तीमा हाम्रो कानुनी व्यवस्थामाथि विश्वास गर्नुपर्छ। कानुन, प्रहरी र राज्यका व्यवस्थामा विश्वास नगर्ने हो भने समाज सञ्चालन सहज हुँदैन। भोलि कोही पनि सुरक्षित हुँदैन। यसरी आक्रमण भएपछि प्रहरी पनि टुलुटुलु हेरेर बस्न थाल्यो भने अझ स्थिति भयाबह हुन्छ। वास्तवमा तत्कालीन नेकपा (माओवादी) भूमिगत जीवन छाडी सार्वजनिक राजनीतिमा फर्केपछि यस्तै अराजकताको स्थिति देखिन थालेको थियो। ट्राफिक प्रहरीले समेत सडकमा व्यवस्थापन गर्न नसक्ने अवस्था आएको बेला थियो, त्यो। सडकमा त्यस्तो अराजकता देख्दा प्रहरीले राम्ररी काम गर्न सकोस् भन्ने आग्रह हुन्थ्यो। पछि प्रहरीले सडक आन्दोलन हुँदा र सार्वजनिक सम्पत्ति तोडफोड गर्दासमेत केही गर्न नसक्ने अवस्था देखिएको थियो। विस्तारै प्रहरीले आफूलाई काम गर्न सक्ने ठाउँमा पुर्‍यायो। अहिले लेटाङमा देखिएको जस्तो अवस्था जताततै देखिन थालेको छ। डिउटीमा रहेका चिकित्सकमाथि आक्रमण भएका कैयन् घटना देखिएका छन्। यस्तो स्थितिमा ती चिकित्सकले राम्ररी काम गर्न सक्दैनन्।  

तसर्थ लेटाङ घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कारबाही गर्नु आवश्यक छ। उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले सोमबार आठ जनालाई र कर्फ्यु उल्लंघन गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। यो घटनामाथि गम्भीर छानबिन आवश्यक छ। दोषी देखिएका जति सबैमाथि गम्भीर कारबाही हुनुपर्छ। अन्यथा, यस किसिमको प्रवृत्ति दोहोरिन्छ। समाजमा दण्डहीनताले बास गर्‍यो भने भोलि कोही पनि सुरक्षित हुन सक्दैन। यसै पनि अचेल सिधै जोसुकैमाथि आक्रमण गरिहाल्ने प्रवृत्ति देखिन थालेको छ। कुनै ठाउँमा घटना भयो भने तत्काल आक्रमण गर्ने जत्था तत्पर हुन्छ। सडकमा पनि सामान्य घटना हुनासाथ आक्रमण गर्ने र त्यसमा धुरा पस्नेहरू भेटिन्छन्। सडक दुर्घटना नै भयो भने पनि शान्तिपूर्वक प्रतीक्षा गरी प्रहरीलाई आवश्यक अनुसन्धान गर्न दिने हो। त्यसो भयो भनेमात्र जो दोषी हो उसले सजाय पाउँछ, अर्कोलाई न्याय हुन्छ। अनाहकमा घटनामाथि घटना गराउँदा वास्तविक दोषी उम्कने स्थिति पनि आउन सक्छ।

अराजक प्रवृत्तिमाथि रोक लगाउनु आज जरुरी भइसकेको छ। कानुन हातमा लिँदा पनि कारबाही नभएका घटना छन्। विशेषगरी कुनै दल निकट व्यक्ति र कार्यकर्ता भए भने तिनलाई जसरी पनि उन्मुक्ति दिने प्रयास हुन्छ। यस्तो स्थितिले न्याय मर्छ। समाजमा दण्डहीनता बढ्छ। समाजमा दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसले शान्ति र अमनचयन समाप्त पार्छ। समाजमा घटना हुन सक्छन्, तिनलाई राम्ररी छानबिन गरी कारबाही गर्न सक्ने वातावरण सिर्जना गर्नु समाजका प्रत्येक नागरिकको कर्तव्य हो। प्रहरी भनेका बर्दीका नागरिक हुन् भने नागरिक विनाबर्दीका प्रहरी। आफ्नै समाजका छोराछोरी सुरक्षाकर्मीमाथि आक्रमण गर्दा सभ्य समाज निर्माण गर्ने वातावरण हुँदैन। यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न गम्भीर दण्ड/सजाय हुनु आवश्यक छ।

प्रकाशित: ८ चैत्र २०७८ ०२:३२ मंगलबार

Download Nagarik App
Download Nagarik App