१३ आश्विन २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

फेरि यस्तो नहोस्

यो २१औँ शताब्दीको अत्याधुनिक समयमा पनि जातपातका आधारमा विभेद भइरहेको छ। कानुनले जातीय विभेदलाई अपराध मानेको छ,तर अनेक नाममा समाजमा जातीय विभेद कायमै छ।

प्रेमले जात, धर्म, वर्ग आदि हेर्दैन,हेर्छ केवल मन। यसरी मिलेको मनलाई हाम्रो समाजमा जातका आधारमा पटक–पटक छुटाउने काम भएको छ। प्रेम छुटाउने मात्र होइन, ज्यानै लिने र बेपत्ता पारेका घटना एकपछि अर्को गरी सार्वजनिक भइरहेका छन्। हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर नात्ताका चन्द्रे कामी यतिबेला बेपत्ता छन्। मुगुको सोरु गाउँपालिका–४ लिपुर गाउँकी १९ वर्षीया मल्ल थरकी युवतीसँग उनको महिना दिनअगाडि विवाह भएको थियो। यतिबेला चन्द्रे बेपत्ता हुनुमा कथित उपल्लो जातकी कन्यासँग विवाह गर्नु हो भन्ने खुलेको छ।

अहिलेका धेरै युवा उमेरका व्यक्तिले जातीय विभेदलाई मान्दैनन्, सबैलाई समान ठान्छन्। समाजमा भने उही सडेगलेको परम्परा कायम छ। परिवार र समाजको आग्रहका आधारमा फेरि यी युवा सिकार बनेका छन्। कोही मिलेर अगाडि बढ्न चाहन्छन् भने प्रोत्साहित गर्नु उचित हुन्छ। तर बालविवाहलाई प्रोत्साहन गर्नुपर्छ भन्ने होइन। कानुनी उमेर उल्लंघन हुन लागेको छ भने दुवैलाई सम्झाएर विवाह गर्ने समय पर्खन सकिन्छ।

हाम्रो कानुन अनुसार, विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्छ । यद्यपि अशिक्षा र विभिन्न कारण समाजमा बालविवाह भइरहेका छन्। समाजले बालविवाहलाई रोक्नुपर्छ र उमेर नपुगी विवाह गर्नुपर्ने अवस्था सिर्जना हुन दिनु हुँदैन। २० वर्ष नपुग्दै केटा र केटीबीच प्रेम सम्बन्ध हुनु वा एकले अर्कोलाई मन पराउनु मानवीय स्वभाव हो।

आफूले रोजेको व्यक्तिसँग विवाह गर्न समाज वा परिवार बाधक नहुने हो भने भागेर बालविवाह गर्ने परिस्थिति सिर्जना हुँदैन। जात, धर्म, वर्ग आदि नमिलेकै कारण कति परिवार र समाजले विवाहमा रोक लगाउँछन्,जोडी छुटाएर अन्तै बिहे गरिदिने पनि गर्छन्। जसकारण केटाकेटीले सानो उमेरमा भागी विवाह गरेको पाइएको छ। यसमा पनि समाज र राज्य चनाखो हुनुपर्छ।

प्रेम वा विवाह गरेकै आधारमा मान्छेको ज्यान लिनु र बेपत्ता पार्नु न्यायसंगत होइन। समाजले अझै प्रगतिशीलता अँगाल्न नसकेको संकेत हो यो। समाजमा अझै मालिक र दासको जस्तो सम्बन्ध छ।

कानुन बनेर मात्र के गर्नु, त्यसको प्रयोग हुन सकेको छैन । प्रत्येकपटक यहाँ अपराध हुन्छ। त्यो अपराधको ढाकछोपका निम्ति फेरि प्रयास हुन्छ। अनेकन् निहुँ पारेर दलित समुदायका व्यक्तिमाथि अन्याय गरेको कुराको पक्षपोषण हुन्छ। त्यसका निम्ति स्थानीय नेतादेखि समुदायका अगुवा समेत एकै ठाउँमा हुन्छन्। यस हिसाबले दलितका निम्ति अझै न्यायपूर्ण समाज स्थापित हुन नसकेको प्रस्ट हुन्छ।

गत वर्ष रुकुममा नवराज विकको निर्मम हत्या भएको घटना ताजै छ। २०७७ जेठ १० गते गाउँलेहरूबाट नवराजसँगै अन्य ६ जनाको हत्या गरिएको थियो।  यस घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आक्रोश जन्माएको छ। नवराजको त्यो घटनाबाट फेरि पनि हाम्रो समाजले सिकेको देखिएन। नवराजको दोष थियो,कथित उच्च जातकी युवतीसँग प्रेम गर्नु।

अहिले प्रेम र विवाहकै विषयमा चन्द्रेलाई बेपत्ता पारिएको छ। विभेद उनको नामदेखि नै भइरहेको देखिन्छ। आखिर उनको नाम चन्द्र हुन नसक्ने होइन,त्यसमा एकार लगाइएको छ। दलित समुदायका व्यक्तिको नाममा समेत विभेद छ भने तिनले कथित माथिल्लो समुदायका व्यक्तिसँग बिहेबारी गर्दा सांघातिक आक्रमण हुनु अनौठो भएन।

नवराज, चन्द्रेजस्तै अनेकन् नाम हत्या र बेपत्ता पारिनेको सूचीमा छन्। दलित समुदायको भएकै आधारमा हिरासतमा मारिएका छन्, सार्वजनिक स्थलमा कुटिएका छन्–यस्ता घटनाको लेखाजोखा कमै छ।

हाम्रो समाजमा सीमान्तकृतहरूको संख्या ठूलो छ। कतिपयले मानिसका रूपमा भोग्न पाउने मौलिक हक पाएका छैनन्। देशमा परिवर्तन आएको,मुलुक संघीयताबाट अगाडि बढेको, समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको आदि मिठा प्रसंग अझै उनीहरुका लागि सान्दर्भिक भइसकेको छैन।

अतः राजनीतिमा लोकतन्त्रको गीत गाएर मात्र पुग्दैन। त्यसका निम्ति प्रत्येक व्यक्तिले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित हुनुपर्छ। राजनीतिक अधिकारले त्यतिबेला मात्र पूर्णता प्राप्त गर्छ, जतिबेला ती अधिकार यथार्थमै कार्यान्वयन हुन्छन्। व्यक्तिको बाँच्न पाउने संविधानप्रदत्त अधिकारको समेत सम्मान हुन सकेको छैन।

आफूले चाहेको व्यक्तिसँग प्रेम वा विवाह गर्न पाउने अधिकारको रक्षा हुन सक्दैन भने त्यस्तो लोकतन्त्र खोक्रो हुन्छ। केही समययता देखिँदै आएका यस्ता आक्रामक व्यवहार अन्त्यका निम्ति सरकारले कार्ययोजना बनाएर अघि बढ्नुपर्ने स्थिति आएको छ।

यस्ता विषयमा व्यापक प्रचारप्रसार गर्ने, कानुनको कार्यान्वयन र पालनामा कडाइ गर्ने, सबै नागरिकले सम्मानपूर्वक बाँच्न पाउने कानुनी अधिकारबारे जनस्तरसम्म तालिम दिने आदि काम हुन आवश्यक छ। एउटा मान्छे र अर्को मान्छेबीच जात, धर्म, वर्ण, लिंगका आधारमा होइन,समानता र समताका आधारमा सम्बन्ध स्थापित हुनुपर्छ भन्ने विश्वास नबढाई हुँदैन। 

हाम्रै एकथरी नागरिकले प्रेम र विवाहका कारण मारिनु वा बेपत्ता पारिनुजस्तो अमानवीय व्यवहार अर्को के हुन सक्छ? आज मानिसले आफूलाई श्रेष्ठ सम्झिँदै अन्य जनावरप्रति समेत असल व्यवहार गर्नुपर्ने आग्रह राख्दै आएको छ। मानिस र मानिसबीच अहिले देखिएको असामान्य व्यवहारले हामीलाई सभ्य समाजका रूपमा स्थापित गर्न सक्दैन त्यसैले चन्द्रे कामीमाथि भएको अहिलेको अमानवीय व्यवहारबारे गम्भीर छानबिन र कारबाही हुनुपर्छ। फेरि अर्को दोस्रो व्यक्तिले यस्तै विभेद भोग्नु नपरोस् । यसका निम्ति सरकार, नागरिक समाज र सर्वसाधारणको ध्यान पुगोस्।

प्रकाशित: ६ पुस २०७८ ०१:२७ मंगलबार

Download Nagarik App
Download Nagarik App