१५ माघ २०७८ शनिबार
सम्पादकीय

तरकारीको मूल्य चर्को

प्रमुख चाडपर्व सम्पन्न भएका छन्।यस वर्ष असोज र कात्तिकमा प्रमुख चाड दसैँ,तिहार र छठलाई सर्वसाधारणले उत्साहपूर्वक मनाएका छन्।

कोरोना विषाणुको असरका कारण गत वर्ष अहिलेजस्तो उत्साहले चाड मनाउने सुविधा सर्वसाधारणलाई भएन। चाडपर्वपछि जीवन फेरि व्यस्तता र वर्षभरिका कठिनाइ तिर फर्कन्छ।

यस पटक चाडपर्व सकिएलगत्तै सर्वसाधारणले अचानक भान्छा महँगिएको चाल पाएका छन्।सामान्यतः चाडपर्वका बेला राजधानी उपत्यकाका सर्वसाधारण आफ्ना गृह जिल्ला जान्छन्।

यस्तो बेलामा अचानक महँगी बढ्नु स्वाभाविक होइन। जहाँ आपूर्ति धेरै गर्नु पर्दैन भने मूल्य बढ्नुपर्ने अवस्था पनि रहँदैन। तरकारी बजारलाई व्यवस्थित गर्न नसकेका कारण यस्तो भएको हो। मूल्य वृद्धि हुँदा पनि एकैचोटि दोब्बरसम्म हुनु आफैंँमा अस्वाभाविक हो।

खासगरी तरकारी उत्पादक किसान र उपभोक्ता सर्वसाधारणले प्रत्यक्ष फाइदा उठाउन नपाउने स्थिति हामीकहाँ छ। विचौलियाहरूको र जगजका कारण उत्पादक र उपभोक्ताले फाइदा लिन नसकेका हुन्।

त्यसै कारण मूल्य बढे पनि किसानले फाइदा उठाउन सक्दैनन्। मूल्य घटे पनि उपभोक्तासम्म त्यो लाभ आइपुग्दैन। बजारलाई प्रभाव पारेका कारण यस्तो अवस्था आएको हो। बजारको लगाम यथार्थमा उपभोक्ताका हातमा हुनुपर्छ।

यसै पनि आधुनिक बजारमा उपभोक्तालाई राजा मानिन्छ। तर हामीकहाँ उपभोक्ताले आफ्नो प्रभाव देखाउन पाउँदैनन्। उनीहरूले जति महँगो भए पनि विरोध नगरी किन्नुपर्छ।सक्नेले त जसरी पनि किनेर खालान् तर सबै उपभोक्ताको क्रयशक्ति उत्तिकै राम्रो छैन।

नागरिकले गरेको पछिल्लो बजार अनुगमनअनुसार प्रतिकिलोग्राम काउलीको मूल्य १ सय २० बाट बढेर १ सय ५० रुपियाँ पुगेको छ। ८० मा पाइने गोलभेँडालाई १ सय ३० रुपियाँ पर्छ। कात्तिक ११ मा प्रतिकिलोग्राम ६५ मा पाइने बोडीको मूल्य १ सय ३० रुपियाँ पुगेको छ।यी केही प्रतिनिधि तरकारी मात्र हुन्। 

सबैजसो तरकारीको भाउ यसैगरी बढेको छ। तरकारीको मूल्य वृद्धि स्वाभाविक देखिँदैन। स्वाभाविक मूल्य वृद्धि हो भने यतिका धेरै एकै पटकमा मूल्य बढ्दैनथ्यो। बजारमा आपूर्ति कम हुनेजस्तो देखिनासाथ बिचौलियाहरूले बजारलाई नियन्त्रणमा राखेका कारण यस्तो भएको हो।

किसानले धेरै उत्पादन गरे भने पनि तिनको हातमा मूल्य निर्धारणको क्षमता छैन। बजारलाई व्यवस्थित नबनाइ किसान रउपभोक्ता दुवैथरीले फाइदा उठाउन सक्दैनन्।

बजारमा निगरानी गर्नुपर्ने सरकारी पक्ष भने यसलाई बेमौसमी तरकारी भएका कारण मूल्य बढेको भनेर उम्कन चाहन्छ।बेमौसमी तरकारीको मूल्य छ भने किसानलाई समयमै यसतर्फ किन आकर्षित नगरेको? 

किसानमा अचेल उत्साहको कमी हुँदै गएको देखिन्छ।बजारमा आफ्ना उत्पादनले सहज प्रवेश नपाउने र अर्कैले बढी नाफा आर्जन गर्ने भएपछि स्वाभाविक रूपमा किसान निरुत्साहित हुन्छन्।

अहिले तरकारीले राम्रो बजार पाउन सक्थ्यो,मूल्य पनि बढी लिन सकिन्थ्यो भने निश्चय नै उनीहरू अहिले उत्पादन बढाउन तिर लाग्ने थिए। किसानहरूले उत्पादनको मूल्य नपाएका कारण कहिले गोलभेँडा सडकमा फ्याँक्नु परेको, कहिले किसानले दूध पोख्नु परेको हामीले देख्दै आएका छौँ। किसानलाई कसरी सहज स्थितिमा पुर्‍याउन सकिन्छ भन्नेमा राज्यको ध्यान पुग्नै सकेको छैन।

राजधानी उपत्यकाको माग यहाँको उत्पादनले नधान्ने भएकाले भारतबाट समेत ल्याउने गरेको देखिन्छ। तर यहाँका किसानलाई प्रोत्साहित गर्ने हो भने भारतदेखि तरकारी ल्याउनुपर्ने आवश्यकता पर्दैन। भारतसँगको व्यापारघाटा यसै पनि चुलिएको छ। त्यो कम गर्दै जान पनि तरकारी, फलफूलको उत्पादन बढाएरआयात प्रतिस्थापन गर्न सकिन्छ।

राजधानी काठमाडौँ वरिपरिका धादिङ, चितवन, नुवाकोट, काभे्रपलान्चोक, सिन्धुपाल्चोक आदि जिल्लाका किसानलाई प्रोत्साहित गर्ने हो भने उत्पादन बढाउन गाह्रो छैन। यसले तिनको जीवनस्तरपनि उठ्न सक्थ्यो।

तरकारी बजारमा रहेका बिचौलिया हटाउनुपर्ने आवाज उठेको कैयन् वर्ष भइसकेको छ। तर यस दिशामा कुनै पनि सरकारको ध्यान पुग्न सकेको छैन। देश अझै पनि कृषिप्रधान भनेर चिनिन्छ।

अहिलेको राजनीतिक नेतृत्वमै अधिकांश नेता किसान परिवारबाट आएका छन्। किसानका समस्या समाधान गर्ने तिर भने तिनको ध्यान जान सकेको छैन।

तरकारी आमजनजीवनसँग प्रत्यक्ष जोडिएको वस्तु हो। यसले आमसर्वसाधारणको जीवनलाई सहज वा असहज बनाउन सक्छ। सीमित आम्दानीमा जीविका गर्नुपर्ने व्यक्तिका निम्ति बजार अस्थिर भइरहँदा धेरैतिर असर पर्छ। तिनले आफ्नो स्वास्थ्यवस्थालाई ठीक राख्न तरकारी उपभोग गर्न नसक्ने अवस्था रहन्छ।

यसै पनि नेपालीले मांसाहार भन्दा बढी तरकारीमै जोड दिन्छन्। मांसाहार भनेको धेरैजसोका निम्ति विलासी वस्तु जस्तो हो। तरकारी भने हरेक भान्छामा पाक्ने निश्चित छ। त्यसैले सर्वसाधारणको जीवनलाई सहज तुल्याउन र बजारलाई स्थिर राख्न पनि सरकारको ध्यान पुग्नुपर्छ।

सरकारले बजारअनुगमन संयन्त्र पनि बनाएको छ। तर त्यसले नियमित रूपमा काम गरेको देखिँदैन। चाडवाड आएका बेला देखाउनका निम्ति केही दिन अनुगमन हुन्छ, त्यसपछि त्यो त्यत्तिकै रोकिन्छ।

बजारलाई केले प्रभाव पारेको छ भनी निरन्तर अध्ययन गर्ने र त्यसलाई नियन्त्रणमा राख्ने काम सरकारले गर्नुपर्छ। बजारलाई अनाहकमा प्रभावित तुल्याउने बिचौलिया तत्वलाई उन्मूलन गर्न विशेष रणनीति अपनाउनुपर्छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०७:०४ बिहीबार

Download Nagarik App
Download Nagarik App