१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

तेस्रो लहरमा जोगिने तयारी

रक्षाबन्धन र गाईजात्रासँगै यो साताबाट नेपालमा चाडपर्वको मौसम सुरु भएको छ। चाडपर्वहरू हाम्रा संस्कृतिका महत्त्वपूर्ण धरोहर हुन्। मानिसको सामाजिक तथा धार्मिक जीवनमा यिनको महत्त्व अत्यन्त छ। तर, सर्वसाधारणले गत वर्ष यस्ता चाडपर्व घरभित्रै मनाए  र सामाजिक एवं पारिवारिक रूपमा मनाउन पाएनन्। विश्वव्यापी रूपमा लाखौँ र नेपालमा हजारौँ मानिसको ज्यान लिएको कोरोना महामारीका कारण यस्ता चाडपर्व परम्परागत रूपमा मनाउन नपाइएको हो।

अझै पनि महामारीको नियन्त्रण नभइसकेको अवस्थामा यसपटक पनि आमजनसाधारणले हेलचक्र्याइँ गर्ने स्थिति छैन। नेपालमा भाइरसको संक्रमण दर अझै  पनि २० प्रतिशतको हाराहारीमा छ। महामारी नियन्त्रणका हिसाबले यो अत्यन्त उच्च दर हो। अर्काेतिर महामारीका कारण दिनहुँ २०–२५ व्यक्तिको मृत्यु सामान्य तथ्यांक  र समाचार बन्ने गरेको छ। विज्ञका अनुसार नेपालमा भाइरसको प्रजनन दर अर्थात् ‘आर भ्यालु’ एकभन्दा बढी छ। आर भ्यालु एक हुनु भनेको एक संक्रमितले सरदरमा अर्काे एकजनालाई संक्रमण गर्छ भन्ने हो। एकभन्दा बढी ‘आर भ्यालु’ हुनुलाई विज्ञले संक्रमण उकालो लागिरहेको बताएका छन्। 

सामान्यतः एक जना संक्रमितले आफ्नो संक्रमणकालमा अन्य कति जना सम्मलाई भाइरस सार्न सक्छ भन्ने आर भ्यालुले निर्देशित गर्छ। दैनिक संक्रमितको संख्या, संक्रमणको अवधि  र निको भएका बिरामीको संख्याको हिसाबले गरेर यो भ्यालु अथवा फ्याक्टर निकालिन्छ। यसरी भाइरसको संक्रमण दर, मृत्युदर र आर भ्यालु सबैले नेपालमा संकट नियन्त्रणभित्र नरहेको प्रस्ट्याउँछन्।  

कोरोना महामारीको पहिलो र दोस्रो लहरले हालसम्म नेपालमा साढे १० हजारको ज्यान गइसकेको छ। गत वर्षको जेठको पहिलो साता नेपालमा कोरोनोका कारण पहिलो मृत्यु भएको थियो। पहिलो लहरअन्तर्गत गत चैतअघि तीन हजारको मृत्यु भएकामा विगत पाँच महिनामा थप साढे सात हजारले अकालमा मृत्युवरण गरेका छन्। 

कोरोना महामारी सुरु भएको यति धेरै अवधिपछि यति ठूलो संख्यामा मानवीय क्षति हुनुले हामी समयमै चनाखो नभएको  र आसन्न संकट व्यवस्थापनको तयारी यथेष्ट नभएको प्रस्ट हुन्छ।पहिलो लहर र दोस्रो लहर सुरु हुनुअघि नेपालले महामारीको प्रतिकार्यका लागि केही समय पाएको थियो। तर त्यसको सही उपयोग हुन सकेन। सन् २०१९ को डिसेम्बरको अन्तमा चीनको वुहानबाट सुरु भएको महामारी चीन, युरोप, भारत हुँदै नेपाल आउँदा केही साता लागेको थियो भने दोस्रो लहरले नेपाललाई लपेट्नुभन्दा एक महिनाअघि भारतमा दोस्रो लहर भयावह बनेको थियो।

यो पृष्ठभूमिमा भाइरसको तेस्रो लहरको सम्भावना देखिएको छ। दोस्रो लहरबाट सबैभन्दा धेरै प्रभावित रहेको छिमेकी मुलुक भारतले सेप्टेम्बर अक्टोबरदेखि तेस्रो लहर सुरु हुन सक्ने आकलनसहित युद्धस्तरमा तयारी सुरु गरेको छ। मोदी सरकारले यो लहरको प्रतिकार्यका लागि २३ हजार एक सय २३ करोड रूपैयाँ विनियोजन गरेको छ। 

यसअघि वृद्धवृद्धालाई अधिक प्रभावित पारेको कोरोना भाइरसले तेस्रो लहरमा बालबालिकालाई अधिक प्रभाव पार्न सक्ने मानिएकाले त्यसअनुरूप तयारी भइरहेको भारत सरकारले जनाएको छ। बालबच्चाका उपचारका लागि आवश्यक पर्ने शड्ढया, सघन उपचार कक्ष, औषधि लगायत संरचनागत सुधारलाई भारतले प्राथमिकता दिएको छ। यसैगरी बालबालिकालाई पनि खोप अभियानमा समेट्ने तयारी भारतले अगाडि बढाएको छ।

जनस्वास्थ्य तथा महामारी विज्ञले पहिलो  र दोस्रो लहर सुरु हुनुअघि समयमै तयारी गरेको भए हजारौँको मृत्युलाई टार्न सकिने बताएका छन्।विशेषगरी यो लहरले युवा समूहलाई बढी प्रभावित गरेको सन्दर्भमा समयमै उपचार तथा खोपको व्यवस्था भएको भए उनीहरूको ज्यान जोगाउन सकिन्थ्यो भन्ने तर्क उनीहरूको छ।

अर्काेतिर दोस्रो लहरमा अक्सिजन  र शय्याका अभावमा बिरामीको अकाल मृत्यु भएको तथ्यबाट हामीले सिक्नुपर्छ। अबका दिनमा पनि अक्सिजनको अभाव र शय्याको अभावलाई मृत्युको कारक मानियो भने त्यो मानवीय अपराध हुन्छ।

सम्भावित तेस्रो लहरले गर्ने क्षति रोक्न छिमेकी भारत सरकारले देखाएको तत्परता  र गम्भीरताबाट नेपालले पनि सिक्न आवश्यक छ।सम्भावित तेस्रो लहरमा सरकारले बालबालिकालाई केन्द्रमा राखेर आफ्नो तयारीलाई अझ सशक्त पार्नुपर्ने देखिएको छ। नेपाल सरकारले बालबालिकाको उपचारको थप व्यवस्था गर्ने तयारी भइरहेको बताएको छ, तर त्यो तयारी यथेष्ट नभएको मानिएको छ। सरकार यसमा गम्भीर हुनैपर्छ। बालबालिकाबाहेक अन्य जोखिममा रहेका वर्गको उपचारका लागि सरकारले तेस्रो लहरको प्रतिकार्यका लागि बजेटसहित ठोस योजना सार्वजनिक गर्न आवश्यक छ। विज्ञहरूसँगको छलफल र अन्तर्राष्ट्रिय अनुभवका आधारमा यस्तो तयारी गर्न सकिन्छ।

यसैगरी महामारी नियन्त्रणको सबैभन्दा महत्त्वपूर्ण  र प्रभावकारी उपाय खोप भएका कारण सकेसम्म छिटो खोप अभियानले सबै लक्षित जनसंख्यालाई समेट्न सक्नुपर्छ। मंगलबारसम्म नेपालको कुल जनसंख्याको १३ प्रतिशतले खोपको दुवै डोज पाएका छन्।आंशिक डोज पाउनेको संख्या साढे १६ प्रतिशत छ। गत वर्षको माघदेखि सुरु भएको खोप अभियान खोपको अभावका कारण बीचमा  रोक्नुपरेको थियो।

पछिल्ला दिनमा खोप खरिदमा भएको प्रगतिले खोप अभियानले निरन्तरता पाएको छ। यो अभियानलाई अझ व्यवस्थित पार्न  र सकेसम्म छिटो सबैलाई समेट्ने दिशामा सरका रले थप प्रयास गर्नुपर्ने देखिएको छ। खोपका दुवै डोज लगाएकामा गम्भीर संक्रमण नदेखिएको र मृत्यु नभएको हिसाबले पनि खोपको महत्त्व झन् बढेको छ। सरकारले चैत मसान्तसम्म खोपका लागि योग्य मानिएको जनसंख्यालाई खोप लगाउने बताएको छ।सरकारले यो प्रतिबद्धता पूरा गर्न सके त्यसलाई ठूलै उपलब्धि मान्न सकिन्छ।

महामारीको दोस्रो लहर मृत्यु  र संक्रमणदरका हिसाबले पहिलो लहरभन्दा बढी घातक देखिएको परिप्रेक्ष्यमा तेस्रो लहर झन् बढी घातक भएमा परिणाम झन् भयावह हुन सक्छ। यो परिस्थितिमा महामारी नियन्त्रणका लागि अझै सशक्त हिसाबले काम गर्नुपर्ने देखिएको छ।निश्चित रूपमा नागरिकले जनस्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक छ  र तेस्रो लहरलाई थेग्न नागरिकको तहबाट अपनाउनुपर्ने संयमको महत्त्व झन् बढेको छ। सँगसँगै  रोगको  रोकथाम  र उपचारका लागि सरकारले स्वास्थ्य सेवा प्रणालीलाई थप सशक्त पार्न गम्भीर हुन आवश्यक छ। महामारीका कारण हुने थप मानवीय क्षति कुनै पनि हिसाबले स्वीकार्य मान्न सकिन्न।

प्रकाशित: ९ भाद्र २०७८ ०३:१२ बुधबार

Download Nagarik App
Download Nagarik App