१३ आश्विन २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

भाषाको भर

भाषामा सामाजिक मर्यादाबारे उपदेश दिन रुचाउने सरकार प्रमुखका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अग्रणी छ। उनी हाम्रा परम्परा, संस्कृति, संस्कार आदिबारे प्रवचन दिन रुचि पनि राख्छन्। उनी सञ्चार माध्यमले प्रयोग गरेको तटस्थ सम्बोधन ‘तिमी’ प्रति भने सन्तुष्ट छैनन्। सम्बोधनमा एकरूपताका निम्ति सञ्चार माध्यमले प्रयोग गरेको तिमी शब्द उनलाई मन नपरेका कारण बेलाबेलामा व्यंग्य पनि गर्छन्– हाम्रा सञ्चार माध्यमले आमाबाबुलाई पनि तिमी भन्छन्।

ओलीको यो असन्तुष्टि हुँदाहुँदै पनि संविधान र कानुनमा समेत तटस्थता देखिने भाषा तिमी नै प्रयोग भएको हुन्छ। मुलुकमा लोकतन्त्र आएपछि भाषिक मर्यादा क्रम पनि सबैको उस्तै होस् भनी तिमी प्रयोग हुँदै आएको हो। अन्यथा, हामीकहाँ भाषाका पाँच तह छन्– तँ, तिमी, तपाईँ, हजुर र मौसुफ। नयाँ नेपालमा भाषिक मर्यादा सबैका निम्ति एउटै बनाउने प्रयास हुनु स्वाभाविक हो।  

अरूलाई भाषाको मर्यादा सिकाउने राजनीतिक नेतृत्व आफैँ भने यसको प्रयोगमा कति जानकार छ ? वा भाषिक मर्यादा र अरूप्रतिको सम्मानका निम्ति कति तिनले आफूलाई तत्पर राखेका छन् ? वास्तवमा राज्यको उच्च ओहोदामा बसेका व्यक्तिले गरेका भाषण आदिबाट भाषा र मर्यादा सिक्ने प्रयास समाजले गरिरहेको हुन्छ। हालैका दिनमा प्रधानमन्त्री ओलीले अरूप्रति प्रयोग गर्ने भाषालाई लिएर अहिले बहस भइरहेको छ।  

‘मलाई बहुला कुकुरले टोकेको छ र ?’ भन्ने जस्ता वाक्यको प्रयोगलाई सार्वजनिक शिष्टाचारका हिसाबले ग्रहण गर्न कठिन हुन्छ। कतिपय शब्द वा वाक्यलाई समयक्रमसँगै प्रयोग गर्न छाडिन्छ। यस्तो प्रक्रिया संसारका सबैजसो भाषामा हुन्छ। विशेष गरी अंग्रेजीभाषी दुनियाँमा कतिपय शब्दलाई प्रयोग गर्न छाड्छन्। प्रत्येक वर्ष अखबारहरूले समेत अब आइन्दा प्रयोग नगरिने शब्दबारे जानकारी पनि दिन्छन्।  

हालै न्युयोर्क टाइम्सले ‘ओपएड’ शब्द प्रयोग नगर्ने भन्ने घोषणा गर्‍यो। सम्पादकीय पृष्ठभन्दा विपरीत पृष्ठमा छापिने विचारहरूलाई यो नाम दिने गरिएकामा अब डिजिटलमा कुनै पनि धारणा अर्को पृष्ठ वा विपरित पृष्ठमा भएको भन्न सहज भएन। यसकारण सेप्टेम्बर २१, १९७० देखि प्रयोग गर्दै आएको यो शब्दको प्रयोग नै बन्द गर्ने घोषणा गर्‍यो। ५० वर्षदेखि प्रयोग भइरहेको एउटा शब्दको प्रयोग छाड्ने निर्णयबारे धेरै चर्चा÷परिचर्चा भएका छन्।  

अहिले सूचना प्रविधिको विकासले प्रत्येक व्यक्तिको हातसम्म शब्द, दृश्य र आवाज आइसकेका छन्। प्रधानमन्त्री वा अन्य वरिष्ठ नेताका सार्वजनिकरूपमा व्यक्त गर्नै नमिल्ने वाणीले सामाजिक मर्यादा भत्काउन थालेको छ। धेरैलाई यसरी पो बोल्नु पर्नेरहेछ भन्ने लाग्न सक्छ।

मानक अंग्रेजी भाषाको प्रसंगमा ‘क्विन्स इङ्लिस’ चर्चा हुने गर्छ। बेलायती राजप्रासादमा महारानी आएपछि यसलाई क्विन्स इङ्लिस’ भनियो। त्योअघि यसलाई ‘किङ्स इङ्लिस’ भनिन्थ्यो। हामीकहाँ राजतन्त्र छैन। तर गणतन्त्रलाई संस्थागत गर्ने प्रारम्भिक दिनमा हामी छौँ। गणतन्त्रको सर्वोच्च स्थानमा रहेका राष्ट्रपति वा प्रधानमन्त्रीले औपचारिक समारोहमा दिने भाषण मानकमात्र भएर पुग्दैन, त्यसमा सामाजिक मर्यादासमेत नाघेको देखिनुहुँदैन। कतिपय शब्द समयक्रमसँगै असान्दर्भिक हुन्छन्, तिनको प्रयोग राजनीतिकरूपमा सही हुँदैनन्। कतिपय उखान समयसँगै असान्दर्भिक मात्र बन्दैनन् कानुनीरूपमा समेत प्रयोग गर्नु वाञ्छनीय हुँदैन।  

केहीअघि प्रधानमन्त्री ओली र उनको विपक्षमा रहेका माओवादी केन्द्र अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रयोग गरेका ‘नाटक’ र ‘नौटंकी’ शब्दबारे समेत चर्चा भएको थियो। कतिपय कलाकर्मीले यी दुई सम्मानित शब्दको प्रयोग आपसको राजनीतिक कटुता दर्शाउन प्रयोग हुनुलाई उचित मानेनन्। ‘नौटंकी’ शब्दलाई अहिले राजनीतिक वृत्तले जसरी नकारात्मकरूपमा प्रयोग गरेको छ, त्यो यथार्थमा संगीत र संवादमा प्रयोग हुने लोक नाट्य हो। केही संस्कृतिमा यसको आफ्नै विशिष्ट महत्व छ।  

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विवाद मिलाउनुपर्ने कठिन स्थितिमा ओली छन्। दुई दिनपछि उनले पुराना सबै पार्टी कमिटी ब्युँताउने निर्णय गरेका छन्। तर दुई दिनअघि आफ्नै दलका वरिष्ठ नेता नेपाललाई ‘पुच्छर’ शब्दले विभूषित गरिरहेका थिए। ‘बहुला कुकुर’ वाला प्रसंगलाई लिएर अखबारमा कार्टुनसमेत छापिएका छन्– यस्ता शब्द सुनेर साना बालबालिकाको भाषा नबिग्रियोस्। अहिले सूचना प्रविधिको विकासले प्रत्येक व्यक्तिको हातसम्म शब्द, दृश्य र आवाज आइसकेका छन्। प्रधानमन्त्री वा अन्य वरिष्ठ नेताका सार्वजनिकरूपमा व्यक्त गर्नै नमिल्ने वाणीले सामाजिक मर्यादा भत्काउन थालेको छ। धेरैलाई यसरी पो बोल्नु पर्नेरहेछ भन्ने लाग्न सक्छ।

अहिले जस्तो परिस्थिति एमालेभित्र छ, त्यो स्थिति अन्य दलमा पनि नआएको होइन। विगतमा नेपाली कांग्रेसका नेताहरू गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईबीच पनि विवाद थियो। तर त्योबेला यी नेताले एकअर्कालाई मर्यादा नाघेर गाली गरेका सुनिएको थिएन। पूर्वपञ्चहरूको दल राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकेन्द्रबहादुर चन्दले आफ्नै सरकार ढाल्न उद्यत कमल थापालगायतका नेताको प्रसंगमा संसद्मै भनेका थिए– ‘जब पानीजहाजमा प्वाल पर्छ र डुब्ने स्थिति आउँछ, मुसाहरू पानीजहाजबाट हाम फाल्छन्।’ साहित्यिक नेता चन्दले त्यो बेला बिम्ब प्रयोग गरेका थिए। त्योबेला उनले कसैलाई पनि मुसा भनेनन् तर उनले गरेको लक्ष्य सबैले बुझे।  

राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन्। तर जस्तै परिस्थितिमा पनि मर्यादा ननाघी दिइएका अभिव्यक्तिले मात्र फेरि अर्को पटक व्यवहार गर्न सहज बनाउँछ। आज ओली र नेपालबीचको सम्बन्धमा आएको समस्या सिद्धान्त भन्दा वचनले नै बढी हो। त्यसमा पनि उच्च ओहदामा रहेका व्यक्तिले सबैलाई लक्ष्य गरी जथाभावी बोलेपछि त्यसले स्वाभाविकरूपमा नकारात्मक प्रभाव पार्छ। पछिल्ला दिनमा ओलीले आफ्नै दलका वरिष्ठ नेतामात्र होइन, न्यायालयलाई समेत आक्रमण गरेका छन्। लोकतन्त्रमा असहमति हुन्छन्, ती असहमति प्रयोगका भाषामा समेत ध्यान दिन सक्दामात्र भोलिका दिनमा अरूलाई उपदेश दिनसमेत सहज हुनेछ।

प्रकाशित: १८ असार २०७८ ०३:०० शुक्रबार

Download Nagarik App
Download Nagarik App