२२ वैशाख २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

अक्सिजन अभाव

कोभिड–१९ को उपचारका लागि अहिलेसम्म निश्चित औषधि बनेको छैन। महामारी नियन्त्रणका लागि सहयोगी मानिएको कोरोना खोपको पहुँचमा पनि विश्वव्यापी असमानता छ। धनी राष्ट्रका अधिकांश जनताले खोप पाउँदा विश्वका मध्यम तथा कम आय भएका राष्ट्रका ठूलो जनसंख्याले खोप पाउन सकेका छैनन्।  

नेपालको सन्दर्भमा खोप अभावसँगै कोभिड–१९ को उपचारमा सहयोगी मानिएको एन्टीभाइरल औषधि रेमडेसिभिरलगायतका अन्य औषधिको अभाव पहिलेदेखि नै थियो। महामारीको दोस्रो लहरमा संक्रमितको संख्यामा आएको अप्रत्याशित वृद्धिले अस्पतालमा शैया तथा भेन्टिलेटर अभावसँगै एउटा थप अभाव सिर्जना भएको छ। त्यो हो– अक्सिजन। कोभिड–१९ ले फोक्सोमा बढी असर पार्ने हुँदा शरीरलाई चाहिने अक्सिजन आपूर्तिलाई निरन्तरता दिन बिरामीलाई अक्सिजन सपोर्ट दिनुपर्ने हुन्छ। यसरी दिइने प्राण वायुले जीवन रक्षाको काम गर्छ।  

बिरामीलाई आवश्यक अक्सिजन केही मिनेट मात्रै अभाव हुँदा परिणाम अत्यन्त दुःखदायी हुने गर्छ। बिबिसी हिन्दी सेवाले मंगलबार जनाएअनुसार भारतको आन्ध्र प्रदेशमा ५ मिनेट मात्र अक्सिजन अभाव हुँदा त्यहाँको एक अस्पतालमा उपचाररत ११ कोरोना संक्रमितको मृत्यु भएको छ। चित्तुर जिल्लास्थित तिरुपतिको रुइया अस्पतालको सघन उपचार कक्ष (आइसियु वार्ड) मा भएको घटना हो यो। त्यसो त, छिमेकी मुलुक भारतमा अक्सिजन अभाव भएपछि युद्धस्तरमा यसको आपूर्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयास भएका छन्। १ महिनाअघि कोरोना दोस्रो लहर सुरु भएसँगै भारतमा अक्सिजन अभाव भएर मानवीय संकटको स्थिति आएको भारतीय टेलिभिजनको पर्दामा कारुणिक दृश्य नेपालका सरकारी अधिकारी र अन्य सरोकारवालाले पनि हेरेकै हुन्।  

राजधानी बाहिर कोरोना महामारीको दोस्रो लहर सुरुसँगै अक्सिजन अभाव देखिएको हो। मंगलबार बुटवलको कोरोना विशेष अस्पतालमा पुनः अक्सिजन अभाव भएकाले हाइ डिपेडेन्सी युनिट (एचडियु) का धेरैजसो बिरामीको अक्सिजन मास्क झिकिएको दुःखद समाचार आएको छ। छिमेकी मुलुक भारत र राजधानी बाहिर विशेषगरी मध्य तथा सुदूर पश्चिम क्षेत्रमा देखिएको अक्सिजन अभाव जनसंख्याको अत्यधिक चाप रहेको र महामारीको हिसाबले अत्यन्त जोखिममा रहेको राजधानीमा बढ्दो क्रममा देखिएको छ। अस्पतालमा भर्ना गर्नुपर्ने बिरामीको अत्यधिक चाप र अधिकांश बिरामीलाई अक्सिजन दिनुपर्ने आवश्यकताले राजधानीमा अक्सिजन अभावले केही दिनमै विकराल रूप लिने देखिएको छ।

गत शनिबार राजधानी काठमाडौँका चार अस्पतालले अक्सिजन ग्यास अभाव भएको भन्दै कोरोना संक्रमित बिरामीलाई भर्ना गर्न नसकिने बताए। मेडिकेयर अस्पताल लिमिटेड, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु अस्पताल एन्ड रिसर्च सेन्टर तथा हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालले विज्ञप्ति जारी गर्दै अक्सिजन ग्यासको नियमित आपूर्ति तथा वैकल्पिक व्यवस्था गर्न असहज भएका कारण कोरोना संक्रमणका बिरामीलाई भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने परिस्थिति सिर्जना भएको बताए।

भक्तपुरको एक अस्पतालले पनि अक्सिजन अभाव भनेर बिरामीलाई अन्यत्र सार्न भनेको र यसरी अन्यत्र सार्ने क्रममा २ जनाको मृत्यु भएको घटनासमेत सार्वजनिक भएको छ। कोरोना बिरामीका लागि अत्यावश्यक अक्सिजन आपुर्ति अचानक देखिएको समस्या होइन। यसको पूर्वानुमान पहिले नै थियो। तर सुरुदेखि नै नेपालमा अक्सिजन अभाव नहुने ठानियो र त्यसका लागि यथेष्ठ तयारी हुन सकेन। देशभर अक्सिजन उत्पादन गर्ने २ दर्जन उद्योगले बजारको मागअनुसार आपूर्ति गर्न सकेका छैनन्। यसैगरी नेपालमा लिक्विड अक्सिजन उत्पादन नहुने भएकाले भारतबाट ल्याउने गरिएको छ। अक्सिजन  उत्पादकहरू नेपालमै तरल अक्सिजन उत्पादन हुन सकेमा ठूलो ट्यांकरमा अक्सिजन भण्डारण गर्न सकिने बताउँछन्। यसैगरी महामारीको यो अवस्थामा पर्याप्त अक्सिजन कन्सन्ट्रेटरको व्यवस्था गर्न सकेमा पनि अक्सिजन अभावको समस्या सम्बोधन गर्न सकिन्छ। कन्सन्ट्रेटरले हावामा भएको नाइट्रोजनलाई फालेर बिरामीलाई अक्सिजन उपलब्ध गराउन सहयोग गर्छ।  

सरकारले अक्सिजनको निरन्तर आपूर्तिलाई सर्वाेपरि प्राथमिकतामा राख्न जरुरी छ। यसो हुन नसकेमा टार्न सकिने मानवीय संकटका लागि सरकार जिम्मेवार मानिनेछ। महामारीविरुद्धको लडाइँ युद्धस्तरमा गर्नुपर्ने यो बेला सरकारले कूटनीतिक हिसाबले पनि सक्रिय हुन जरुरी छ। 

अर्काेतिर अक्सिजनको अभाव सिर्जना भएसँगै बढी मूल्यमा भारततर्फ निकासी हुनु र आमसर्वसाधारणले घरमा ल्याएर अक्सिजन सिलिन्डर भण्डारण गर्नुले पनि अभाव झन बढेको छ। सरकारले यसरी अनावश्यकरूपमा अक्सिजन सिलिन्डर भण्डारण गर्नेलाई कारबाही सुरु गरे पनि त्यो पर्याप्त छैन। सरकारले एकातिर अक्सिजन सिलिन्डर आयातमा भन्सार छूटको घोषण गरेको छ तर महामारीको अवस्थापछि ती सिलिन्डर यत्तिकै खेर जाने भनेर अक्सिजन उद्यमीले सिलिन्डर खरिदमा खास चासो देखाएका देखिँदैन। सिलिन्डर अभावलाई सम्बोधन गर्न सरकारले  २० हजार सिलिन्डर चीनबाट आयात गर्ने, पहिलो लटमा केही हजार सिलिन्डर हवाई मार्गबाट ल्याउने र अन्य सिलिन्डर स्थलमार्गबाट ल्याउने तयारी गरेको छ। 

यसैगरी औद्योगिक क्षेत्रमा हुने अक्सिजन खपतलाई पनि रोक लगाइएको छ। सरकारले अक्सिजनको आपूर्ति व्यवस्थित गर्ने अभिप्रायले अक्सिजन आपूर्ति गर्दा जिल्ला प्रशासन कार्यालयमार्फत गर्ने भनेर गरेको निर्देशन पनि त्यति व्यावहारिक देखिएको छैन। यसले आपूर्ति व्यवस्था सहज नभै झन कर्मचारीतन्त्रको झन्झटमा पर्न सक्ने देखिएको छ। सरकारले अस्पताललाई कोटा निर्धारण गरेर संकट झन बढेको भनेर कतिपय अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नु भनेपछि अक्सिजनको जोहो गर्न बिरामीका आफन्त भौतारिनुपरेको छ। यस्तो अवस्था आउनु दुःखद हो। सरकारले यो निर्णयलाई समीक्षा गरेर पुनर्विचार गर्नुपर्ने देखिएको छ।  

यी सबै पृष्ठभूमिमा सरकारले अक्सिजनको निरन्तर आपूर्तिलाई सर्वाेपरि प्राथमिकतामा राख्न जरुरी छ। यसो हुन नसकेमा टार्न सकिने मानवीय संकटका लागि सरकार जिम्मेवार मानिनेछ। महामारीविरुद्धको लडाइँ युद्धस्तरमा गर्नुपर्ने यो बेला सरकारले कूटनीतिक हिसाबले पनि सक्रिय हुन जरुरी छ। नेपाललाई सहयोग गर्न चाहने मित्र राष्ट्र तथा निकायलाई अनुरोध गरेर र विभिन्न देशमा रहेका नेपाली राजदूतावासको सक्रियतामा अक्सिजन अभाव सम्बोधन गर्न सकिन्छ।  

प्रकाशित: २९ वैशाख २०७८ ०२:५० बुधबार

Download Nagarik App
Download Nagarik App