१२ जेष्ठ २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

सत्ता बेहोसीको कोरोना बेथिति

एक वर्षदेखि अत्यन्तै व्यस्तताका साथ सत्ता खेल मञ्चन भइरहेका छन्। र, सत्ता खेलको एक मात्र उद्देश्य कसरी आफू कुर्सीमा टाँसिइरहने भन्ने हो। आमनागरिकले अहिले जस्तो यसअघि कहिल्यै यति धेरै असहाय महसुस गरेका थिएनन्। सामाजिक सञ्जालमा आममानिसले हारगुहार गरिरहेका छन्, परिवारजनलाई कसरी जोगाउने भनेर। अस्पतालमा शैया पाउन मारामार भइरहेको छ। अत्यन्तै कठिन अवस्थाका बिरामीले समेत चिकित्सकको मुख समयमा देख्न नपाउने कठिन अवस्थाबाट मुलुक र मुलुकबासी गुज्रिरहेका छन्। आमनागरिकको यो हाहाकार भइरहेका बेला नेताहरूका सत्ता बैठकहरू चलिरहेका छन्। एकातिर सत्ता खेलकुद र अर्कोतिर बिरामी मानिसका निम्ति अस्पतालका शैया र अति सघन कक्ष (आइसियु) खोज्दाखोज्दै ज्यान गएका खबर अखबारमा एकसाथ छापिएका छन्।  

यस्तो कहालीलाग्दो अवस्थाको यो चित्र भावी पुस्ताले कसरी पढ्ने हुन् ? कोरोना महामारीको यो कठिन बेलामा आफ्ना पुर्खाले पाएको दुःखबारे अहिलेको समाचार सामग्री पढेर भावी पुस्ताले कति धेरै पीडित महसुस गर्नुपर्ने होला ? तर राजनीति गर्नेका निम्ति एउटा चुनावबाट अर्को चुनावको मात्र चिन्ता हुन्छ। तिनले त्यही चुनावलाई मात्र हेरेर काम गर्छन् भन्ने हामीले अहिलेसम्मका गतिविधिबाट प्रष्ट देखिरहेका छौँ। राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री केपी शर्मा ओलीसम्मका गतिविधिबाट यही देखिन्छ। राष्ट्रपति भण्डारीलाई आफ्नो दल मिलाउन जति चिन्ता छ, त्यति चिन्ता अहिलेको विषम परिस्थितिमा काम गरिरहेका स्वास्थ्यसेवीप्रति छैन। त्यस्तो हुन्थ्यो भने अस्पतालको अवस्थाबारे जानकारी लिन अहिलको नेतृत्व वर्ग तयार हुने थियो।  

अहिलेको यो कठिन अवस्था हाम्रो राजनीतिक नेतृत्वको किंकर्तव्यविमुढ स्थितिका कारण आएको हो। छिमेकी भारतमा कोरोना कहरले उत्पात मच्चाइरहेका बेला यहाँको चिकित्सक र जानकार समाजले बेलैमा आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराइरहेको हो। भारतमा बिरामीले अस्पतालमा शैया पाउन छाडेको स्थिति देखेपछि यहाँको अवस्था पनि त्यही हुन्छ भन्ने अनुमान किन गरिएन ? भारतमा कुम्भमेलादेखि निर्वाचन र्‍यालीसम्म चलिरहेका थिए। त्यसकै सिको गरेर प्रधानमन्त्री ओलीदेखि अन्य नेताहरू ठूल्ठूला सभा/समारोह गर्नमा व्यस्त रहेका हुन्। आज मुलुकले त्यही विडम्बनापूर्ण अवस्थाले सिर्जना गरेको परिणाम भोगिरहेको छ। आज परिवारका परिवार कोरोनाको नयाँ स्वरूपबाट प्रताडित भएका छन्। एकै घरमा मृत्युको छायाँ परेको छ। यो अवस्थामा कैयन्ले आफ्ना प्रियजन गुमाएका छन्।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएको एक महिनायता शुक्रबारसम्म ५ सय ४३ जनाको मृत्यु भइसकेको छ। गत चैत १४ गतेसम्म यसबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ मात्र थियो। पछिल्लो चरणमा थपिएको संख्यापछि कुल ३ हजार ५ सय ७९ जनाको स्वर्गारोहण भइसकेको छ। हाम्रो जस्तो जनसंख्या भएको मुलुकमा यतिका नागरिकको अनाहकमा भएको मृत्यु ठूलो क्षति हो। राज्यका निम्ति त यो क्षति हुँदै हो, परिवारका निम्ति यो अपुरणीय क्षतिको धेरै अर्थ हुन्छ। परिवारका कमाउने व्यक्तिहरू बित्दा बाँकीका निम्ति जीवन निर्वाह कठिन हुन्छ। 

सकेसम्म सर्वसाधारणलाई अस्पताल पुग्नै नपर्ने, पुग्नु परे पनि उपचार सहज हुने अवस्था अहिलेका निम्ति अपरिहार्य हुन्छ। तर त्यस दिशामा राज्यको ध्यान पुगेन। हाम्रो सीमित स्वास्थ्य सेवालाई ध्यानमा राखेर रणनीति बनाउनुपर्ने थियो। त्यो नगरेका कारण आज अवस्था भयाबह बनेको छ। अस्पतालबाट चिकित्सिकहरू आफैँले भनिरहेका छन्– आजको दिनमा हामी आफैँले बिरामी भएर सुत्नुपर्ने भयो भने पनि शैया पाउन सकिँदैन। कैयन् चिकित्सक निरन्तरको अस्पताल शैया मागलाई धान्न नसक्ने अवस्थामा पुगेका छन्। परिवारजन बिरामी हुँदा अस्पताल पुर्‍याउन नसक्नु वा अस्पताल पुर्‍याए पनि अक्सिजन दिन र अन्य उपचार उपलब्ध गराउन नपाएर मृत्यु हुँदाको पीडा सहन सजिलो छैन। 

असल नेतृत्व नहुँदा जसरी डोनाल्ड ट्रम्पको बेलामा अमेरिकाले दुःख पायो, जसरी अहिले नरेन्द्र मोदीका कारण भारतले दुःख पाइरहेको छ, त्यही अवस्था अहिले नेपालले भोगिरहेको छ। अहिलेको यो दुःखद अवस्थाका निम्ति राजनीतिक नेतृत्व प्रमुखरूपमा जिम्मेवार छ। 

राजधानी काठमाडौँमा शैया नपाए पनि जहाँ पाइन्छ त्यहाँ लैजानुपर्ने अवस्थामा सर्वसाधारण छन्। कतिपय बिरामीको अवस्था अत्यन्त गम्भीर हुँदा तिनलाई अन्यत्र लैजान सजिलो हुँदैन। सबै ठाउँमा न्यूनतम स्वास्थ्य सुविधा पुर्‍याउनुपर्छ भनेर डा. गोविन्द केसीले अभियान सञ्चालन गर्दा त्यसको महत्व नबुझ्ने व्यक्तिहरूलाई पनि अहिले यो किन भनिएको रहेछ भन्ने खुलेको छ। यो महामारीका बेला सुगमका बिरामीसमेत उपचारका निम्ति जुम्ला जस्ता दुर्गम भनिएका ठाउँमा समेत पुग्न थालेका छन्। कुनै बेला दुर्गममा उपचार नपाएर सुगमतिर जानुपथ्र्यो। यो घटनाबाट समेत पाठ सिक्दै भविष्यका निम्ति जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुर्खेतलगायतका सुगम ठाउँबाट उपचारका निम्ति पुग्न लागेको खबर आफैँमा सुखद त हुँदै हो, सँगै यसको सन्देशलाई मनन् पनि गर्न सक्नुपर्छ।  

कोरोना संक्रमणपछिको अहिलेको संकटले हाम्रो मुलुकको स्वास्थ्य अवस्थाको दूरवस्थालाई मात्र देखाएको छैन, यसले हाम्रो राजनीतिक नेतृत्वमा रहेको अकर्मण्यतालाई समेत उजागर गरेको छ। वास्तवमा हामीकहाँ उपचार भन्दा पनि सावधानीमा जोड दिएको भए अहिलेको अवस्था आउने नै थिएन। हामी यसै पनि व्यवस्थित ढंगले बस्न सक्ने अवस्था थियो। 

विशेषगरी भारतसँगको सीमालाई नियमित गर्नतिर ध्यान गएन। उता महामारीले उग्र रूप लिइरहेका बेला यता त्यहीअनुसारको तयारी भएको भए बेलैमा संक्रमित पहिचान गरी यसलाई निर्मूल गर्न सकिने थियो। त्यतिमात्र होइन, देशैभरि ठप्प पार्नुपर्ने अवस्था पनि थिएन। संक्रमण यो रूपमा अगाडि बढ्छ भन्ने जानकारी चिकित्सकहरूले नदिएका होइनन्। असल नेतृत्व नहुँदा जसरी डोनाल्ड ट्रम्पको बेलामा अमेरिकाले दुःख पायो, जसरी अहिले नरेन्द्र मोदीका कारण भारतले दुःख पाइरहेको छ, त्यही अवस्था अहिले नेपालले भोगिरहेको छ। अहिलेको यो दुःखद अवस्थाका निम्ति राजनीतिक नेतृत्व प्रमुखरूपमा जिम्मेवार छ। बेलैमा चेतेर नियन्त्रणको भरपर्दो उपाय अपनाउने र बिरामीको उपचार गराउने व्यवस्था सरकारले गरोस्। 

प्रकाशित: २६ वैशाख २०७८ ०३:१७ आइतबार

Download Nagarik App
Download Nagarik App