४ जेष्ठ २०७८ मंगलबार
सम्पादकीय

महामारी नियन्त्रणमा गम्भीर बन

नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र भएकामा शंका छैन। जनस्वास्थ्य मापदण्ड पालना नभएका कारण पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र भएको बताइए पनि यसका अन्य कारणबारे प्रष्ट भएको छैन। त्यसो त नयाँ भेरियन्ट देखिएको र जसको संक्रमण दर ज्यादा भएका कारण पनि संक्रमण तीव्र भएको चर्चा नभएको होइन। यद्यपि यो विषयमा नेपालमा अध्ययन नभएका कारण एकीनसाथ भन्न सकिने अवस्था छैन। बेलायतमा देखिएको ‘युके भेरियन्ट’ नेपालमा पनि पुष्टि भएकै आधारमा यो तर्क गरिएको हो। तर यसैका कारण मात्रै संक्रमण फैलिएको हो वा अन्य कारण पनि भन्ने विषयमा प्रष्टताका लागि भने थप अध्ययन/अनुसन्धान आवश्यक छ। 

नेपालमा संकलित भाइरसका १५ नमुनालाई हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा पठाइएकामा एसजिन नेगेटिभ रहेका १० र ५ पिसिआर पोजेटिभ भएकासमेत गरी १५ नमुनाको जेनेटिक सिक्वेन्स गर्दा एसजिन नेगेटिभ भएका १० नमुनामध्ये ९ मा कोरोना भाइरसको ‘युके भेरियन्ट’ पाइएको र पिसिआर गरिएकामध्ये एकमा ‘डबल म्युटेन्ट भेरियन्ट’ पुष्टि भएको थियो। नेपालमा भाइरस परीक्षण क्रममा एसजिन नेगेटिभ देखिएमा यसलाई ‘युके भेरियन्ट’ हुन सक्ने मानिएको छ। यसैका आधारमा नेपालमा युके भेरियन्ट फैलिएको र त्यसको संक्रमण दर ज्यादा भएकाले कोरोना भयाबहरूपमा बढ्न सक्ने व्याख्या हुँदै आएको हो।

त्यसो त महामारीले तीव्र रूप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ जसका लागि निरन्तर अध्ययनको आवश्यकता पर्छ। त्यति मात्र होइन, नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि निरन्तर अध्ययन गर्नुपर्ने हुन्छ। तर नेपालमा यस किसिमको अध्ययन भन्दा पनि हचुवाकै आधारमा महामारी नियन्त्रणका प्रयास भएको देखिन्छ। 

केही महिनाअघि नेपालमा पहिलोपटक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा कोभिड–१९ भाइरसको आनुवांंशिक अध्ययन भएको थियो जसले समेटेका १५ भाइरसका सिक्वेन्समध्ये एकाध साउदी अरेबिया, युरोप र अमेरिकामा पाइएका भाइरसको सिक्वेन्ससँग मिलेको र अधिकांश भारतमा देखिएका सिक्वेन्ससँग मिल्दोजुल्दो देखाएको थियो । अध्ययनले धेरै देशमा पाइएको भाइरसको ‘डि–६१४–जी’ नाम गरेको उत्परिवर्तित स्ट्रेन नेपालमा पनि रहेको देखाएको हो। त्यसो त संक्रमित मानिसको शरीरभित्र र एक मानिसबाट अर्काेमा सर्दा भाइरसको उत्परिवर्तन (म्युटेसन) निरन्तर भइरहने गर्छ। कोरोना भाइरसले पनि त्यसैगरी लगातार हिसाबले रूप परिवर्तन गर्दै आएको छ।

महामारीले तीव्र रूप लिइरहँदा यसका लागि भाइरसको कुन भेरियन्ट जिम्मेवार छ भन्ने जानकारी भएमा रोकथाम गर्न सजिलो हुन्छ जसका लागि निरन्तर अध्ययनको आवश्यकता पर्छ। त्यति मात्र होइन, नयाँ भेरियन्ट नियन्त्रणमा अहिले उत्पादन गरिएको खोपले काम गर्छ या गर्दैन भन्ने पत्ता लगाउन पनि निरन्तर अध्ययन गर्नुपर्ने हुन्छ।

अमेरिकाको रोग नियन्त्रण केन्द्र (सिडिसी)को भनाइमा पछिल्लो समय विश्वका विभिन्न देशमा फैलिएको संक्रमणमा भाइरसका ६ वटा भेरियन्ट बढी कारक छन् जसमा बेलायतमा देखिएको बि. १.१.७, दक्षिण अफ्रिकामा देखिएको बि.१.३५१, ब्राजिलमा देखिएको पि.१ तथा अमेरिकाको क्यालिफोर्निया र न्युयोर्कमा देखिएका २ नयाँ भेरियन्ट छन्। दक्षिण अफ्रिकामा देखिएका भेरियन्टले मानिसको प्रतिरक्षा प्रणाली छिट्टै बिगार्ने, युके भेरियन्ट अत्यधिक संक्रामक र डबल म्युटेन्ट भाइरस एकबाट अर्काे मानिसमा तीव्र हिसाबले सर्न सक्ने किसिमको भएको व्याख्या हुँदै आएको छ। 

तर नेपालको सन्दर्भमा कुन भेरियन्टले के÷कस्तो असर गरेको हो भन्ने पत्ता लागेको छैन। नेपालमा कोरोना भाइरसको आनुवांशिक अध्ययन गर्न नेक्स्ट जेनेरेसन सिक्वेन्सिङ मेसिन र त्यसमा प्रयोग गर्नका लागि रसायन (रिएजेन्ट) नभएका कारण अध्ययन नभएको हो। त्यसो त त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागले २ करोड मूल्य पर्ने मेसिन हालसालै खरिद गरे पनि त्यसमा  आवश्यक पर्ने रसायन (रिएजेन्ट) को अभावका कारण अध्ययन नभएको हो। यसले पनि कोरोना भाइरस महामारी नियन्त्रणका लागि गरिनुपर्ने हाम्रो तयारी कति फितलो छ भन्ने देखाएको छ। जबकि कोरोना भाइरस महामारी सुरु भएको एक वर्ष भन्दा बढी बितिसक्दा पनि भाइरसको आनुवांशिक अध्ययन गर्न आवश्यक पर्ने सामान्य मेसिन र त्यसमा आवश्यक पर्ने रसायनको जोहो नगर्नु भनेको विडम्बनापूर्ण अवस्था हो।

वैज्ञानिक प्रमाणका आधारमा गरिने निर्णय मात्रै महामारी नियन्त्रणमा प्रभावकारी हुन्छ। अहिलेसम्मका प्रयासमा वैज्ञानिक प्रमाण भन्दा पनि हचुवा शैली हावी हुने गरेको छ। त्यसैले त मुलुकका कतिपय स्थानमा महामारी नियन्त्रणबाहिर जान थालिसकेको छ। नेपालगन्ज, वीरगन्जदेखि तराई–मधेसका सीमावर्ती सहरहरूमा अत्यासलाग्दो हिसाबले संक्रमण फैलिरहेको छ। अन्य स्थानको अवस्था पनि त्यस्तै हुँदै गएको छ। यतिसम्म कि कतिपय स्थानमा परीक्षण गरिएका नमुनामध्ये ६० प्रतिशत भन्दा ज्यादामा संक्रमण देखिन थालेको छ। सुर्खेतमा ४६ वटा नमुना परीक्षण गरिएकामा २९ जना संक्रमित हुनुले पनि भयाबह अवस्थालाई संकेत गरेको छ। नेपालगन्जदेखि विराटनगरसम्मका तराई–मधेसका सहरहरूको अवस्था पनि उस्तै छ। यता काठमाडौँ उपत्यकामा पनि दिन÷प्रतिदिन संक्रमण फैलिँदै गएको देखिन्छ। त्यति मात्र होइन, पछिल्लो समय मृत्यु दर पनि बढ्दै गएको छ। त्यसैका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको जोखिम भएका स्थल बन्द गर्न वा सीमित समय मात्र खोल्न अपिल गरे पनि व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन।

कोरोना संक्रमण रोकथामका लागि सरकारको तयारी ज्यादै फितलो छ भने सर्वसाधारणमा हेलचेक्र्याइँ पनि अत्यधिक देखिन थालेको छ। अझ पछिल्लो समय विश्वविद्यालय र स्कुलहरू कोरोनाको हटस्पटका रूपमा देखिएका छन् भने विगतमा भन्दा फरक अहिले बालबालिकामा समेत अत्यधिक संक्रमण देखिन थालेको छ। यो अवस्थामा सरकार शैक्षिक संस्था बन्द गराउन चाहन्छ तर सञ्चालकहरूको दबाबका कारण निर्णय गर्न पनि सकिरहेको छैन। त्यसैले आफ्ना बालबालिकालाई विद्यालय नपठाउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालय झारा टराइको विज्ञप्तिमा अल्झिएको छ। त्यसैले यो अवस्थामा सरकारले झारा टार्ने हिसाबले निर्णय गर्ने होइन, जनस्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गराउनेदेखि परीक्षणको क्षमता बढाउने, अस्पतालहरूमा भौतिक पूर्वाधारदेखि जनशक्ति व्यवस्थापन गर्नेतर्फ ध्यान दिन आवश्यक छ। त्यसका लागि अस्पतालमा अक्सिजनसहितको शैया थप गर्नेदेखि प्रयोगशालाको क्षमता वृद्धि गर्ने र त्यसैअनुसार परीक्षणको दायरा बढाउनैपर्छ। यसका साथै संक्रमणको कारण र रोकथामका लागि आवश्यक पर्ने अध्ययन/अनुसन्धानको वातावरण बनाउनेदेखि समग्र तयारीमा गम्भीर बन्नै पर्छ। 

प्रकाशित: ५ वैशाख २०७८ ०९:४० आइतबार

को हुनेछ नागरिक नायक २०७८ ?
को हुनेछ नागरिक नायक २०७८ ?