१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

अलबिदा म्याराडोना

अर्जेन्टिनी डिएगो म्याराडोनालाई विश्वका खेलकर्मी र फुटबलका पारखी महान् फुटबलरको संज्ञा दिन्छन्। तिनै महान् फुटबलर म्याराडोनाको ब्युनस आयर्सस्थित आफ्नै घरमा हृदयघात भएपछि बुधबार ६० वर्षको उमेरमा निधन भएको छ। म्याराडोनाको निधनपछि विश्वको खेलकुद क्षेत्र नै स्तब्ध बनेको छ। फुटबलको अद्भूत कलाबाट विश्वलाई मन्त्रमुग्ध बनाएका म्याराडोनाको जन्म सन् १९६० मा अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको एक झुपडीमा भएको थियो। उनको पूरा नाम डिएगो अरमान्डो म्याराडोना भए पनि उनी डिएगो म्याराडोनाबाटै चिनिने गर्थे। छोटो समयमा नै म्याराडोनाले सारा विश्वलाई आफ्नो खेल कौशलबाट प्रभावित पारेका थिए। त्यसैले पनि उनी यस शताब्दीका खेलकर्मी र फुटबलरको मनमस्तिष्कमा रहे/रहिरहनेछन्।  

सन् १९९७ मा ३७ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट संन्यास लिए पनि उनी अहिलेको पुस्तामाझ पनि उत्तिकै लोकप्रिय छन्। उनी जहाँ पुग्थे, त्यहाँ हजारौँ समर्थक उपस्थित हुने गरेको तथ्यले पनि उनको लोकप्रियतालाई सहजै अनुमान गर्न सकिन्थ्यो। उनी आफैं पनि आफ्ना समर्थकप्रति उत्तिकै संवेदनशील थिए। दुई साताअघि मात्र ब्युनर्स आयर्सस्थित ला प्लाटा अस्पतालमा मस्तिष्कको सफल शल्यक्रिया गराएका म्याराडोना बुधबार मात्र अस्पतालबाट घर फर्किने योजना थियो। तर सडकमा रहेका आफ्ना हजारौँ समर्थकलाई भेट्नकै लागि उनी गत नोभेम्बर ११ मै अस्पतालबाट घर फर्किएको भनी अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको तथ्यले पनि आफ्ना समर्थकप्रति उनको सम्मान झल्कन्छ। तर उनका समर्थकहरूका लागि त्यो भेट नै अन्तिम बनिदियो। उनको निधनप्रति अर्जेन्टिनामा तीन दिनको राष्ट्रिय शोक मनाइनेछ। उनको पार्थिव शरीरलाई कासा रोसरास्थित त्यहाँको राष्ट्रपति कार्यकालमा राखिनेछ जहाँ मानिसले तीन दिनसम्म श्रद्धाञ्जली अर्पण गर्नेछन्।  उनको निधनपछि ब्राजिलका अर्का महान् फुटबलर पेलेले श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्– मैले निकै आत्मीय साथी र विश्वकै एक महान् खेलाडी गुमाएँ। आशा छ, एक दिन हामी सँगै आकाशमा फुटबल खेल्नेछौँ।

छोटो समयमा नै म्याराडोनाले सारा विश्वलाई आफ्नो खेल कौशलबाट प्रभावित पारेका थिए। त्यसैले पनि उनी यस शताब्दीका खेलकर्मी र फुटबलरको मनमस्तिष्कमा रहे/रहिरहनेछन्।

अद्भूत र असाधारण क्षमता भएका म्याराडोनाले आफूलाई फुटबलका महानायकका रूपमा स्थापित गराए। उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाउँदा चार पटकसम्म विश्वकप फुटबलमा दरिलो सहभागिता जनाए। म्याराडोनाको विवादित ‘ह्यान्ड अफ गड’ गोल पनि सदैव चर्चित रह्यो। म्याराडोनाले आफ्नै कप्तानीमा सन् १९८६ मा विश्वकप दिलाउँदा इङ्ल्यान्डविरुद्धको क्वार्टरफाइनलमा हातले गोल गरेका थिए। त्यसको चार वर्षअघि मात्र इङ्ल्यान्ड र अर्जेन्टिनाबीच फकल्यान्ड युद्ध भएका कारण त्यो खेल निकै तनावपूर्ण थियो। जहाँ म्याराडोनाले हातले गोल गरिदिए। जसलाई म्याराडोनोले पछि थोरै टाउको र थोरै भगवान्को हातले गोल गरेको भनेका थिए। त्यसैले त्यसलाई ‘ह्यान्ड अफ गड’ का नामले जान्ने गरिन्छ र यही गोलले नै इङ्ल्यान्ड पराजित भएको थियो। उनी गरिबीसँग लड्दै युवास्थामा फुटबलका सुपर स्टार बनेका थिए। विलक्षण प्रतिभाका धनी म्याराडोनाले १६ वर्षकै उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा पदार्पण गरेका थिए। उनी छोटो कद तर मोटो शरीरका थिए। उनको उचाइ पाँच फिट मात्र थियो तर उनले आफ्ना ख्यातिको उचाइ भने विश्वमाझ सदाका लागि अमर बनाए। म्याराडोनाले बार्सिलोना र नेपोली क्लबबाट फुटबल खेलेका थिए। इटालियन क्लब  नेपोलीलाई दुई पटक सिरी ‘ए’ को उपाधि दिलाएका थिए। अर्जेन्टिनाबाट चार विश्वकपमा सहभागिता जनाएका उनले राष्ट्रिय जर्सीमा ९१ खेलबाट ३४ गोल गरेका छन्। उनले सन् १९९० को इटालीमा भएको विश्वकपमा पनि अर्जेन्टिनालाई फाइनलसम्म डो-याएका थिए जहाँ अर्जेन्टिना वेस्ट जर्मनीसँग पराजित भएको थियो। सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा भने उनी लागु औषध परीक्षणमा असफल भएपछि बीचमै घर फर्किएका थिए। लागु औषध प्रयोगका कारण उनले कैयौँपटक प्रतिबन्धको सामनासमेत गर्नुप-यो।

सन् १९९५ मा उनी बोका जुनियर्स क्लबका लागि खेल्न थाले। त्यहाँ पनि उनी लागु औषध परीक्षणमा असफल भए। त्यतिखेर उनी ६ वर्षमा तेस्रोपटक लागु औषध परीक्षणमा असफल भएका थिए। यसले उनको फुटबल करियर नै नष्ट पारिदियो। उनले सन् १९९७ मा ३७ वर्षको उमेरमा व्यावसायिक फुटबलबाट संन्यास नै लिए। चतुर, तेज, अद्भूततवरबाट फुटबलमा नियन्त्रण गर्न सक्ने र अविश्वसनीय ड्रिब्लिङ क्षमता भएका म्याराडोना आफ्नो त्यही क्षमताले प्रशंसकलाई मन्त्रमुग्ध पार्थे। त्यति हुँदाहुँदै पनि बेलाबखत निकै नै विवादित काम गरेर आफ्ना प्रशंसकलाई दुःखी पनि बनाए। असाधारण क्षमताका कारण उनले आफ्नो करियरलाई त चम्काए तर लागु औषधको लतका कारण आफैँमा दाग पनि लगाए। एकपटक म्याराडोनाले भनेका थिए– ‘मैले आफ्ना विरोधीलाई ठूलै फाइदा पु-याएँ। थाहा छ, यदि मैले लागु औषध नलिएको भए कस्तोखालको खेलाडी हुन्थेँ ?’ सन् १९८४ मा जब नेपोली क्लबका लागि खेल्न थालेका थिए, तब उनी इटालियन माफिया कोमोरोको सम्पर्कमा आएका थिए। त्यसको दुई दशकसम्म उनले लगातार लागु औषध लिए र रक्सी पिए। खराब लतका बाबजुद पनि उनी फुटबल र समग्र खेलकुदकर्मीका सधैँ प्यारो नै भए। मैदानमा विपक्षीका लागि ठूलो चुनौती बन्ने म्याराडोनाका लागि भने पछिल्ला समय उनको स्वास्थ्य समस्या नै चुनौती बनेको थियो। र, उनी बुधबार आफ्नै स्वास्थ्य समस्यासँग पराजित भएर सदाका लागि अस्ताए। 
अलबिदा म्याराडोना।

प्रकाशित: १२ मंसिर २०७७ ०४:५२ शुक्रबार

Download Nagarik App
Download Nagarik App