११ कार्तिक २०७७ मंगलबार
सम्पादकीय

स्वास्थ्य संरचना

सम्पादकीय

कोरोना संक्रमितले अस्पतालमा भर्ना नपाएर ज्यान गुमाउनुपर्ने अवस्था आउनुमा सरकारी तयारीको कमी प्रमुख कारण हो। कोरोना संक्रमणको दर फैलिएसँगै सरकारले त्यसैअनुसार स्वास्थ्य संरचनाहरू (अस्पतालमा शैया, उपकरण, जनशक्तिलगायत) विस्तार गर्न नसक्दा समस्या देखिएको हो। संक्रमणको प्रारम्भिक अवस्थामा तयार पारिएका कोभिड अस्पतालमा मात्रै भर पर्दा अहिले तीव्र दरमा संक्रमित बढेपछि ती अस्पताल भर्ना लिनसमेत असमर्थ भएका छन्। सात महिनाअघि प्रारम्भिक संक्रमण हुँदा तयार पारिएका कोभिड अस्पतालका संरचना अहिले संक्रमित सवा लाख पुग्न लाग्दा पनि खासै विस्तार नहुनु दुभाग्र्यपूर्ण अवस्था हो। अक्सिजनसहितको बेड समयमै उपलब्ध गराउन सकिएको भए कतिपय संक्रमितलाई बचाउन नसकिने होइन तर त्यस्ता संरचनाको अभावमा सर्वसाधारण अकालमै ज्यान गुमाइरहेका छन्।

अस्पतालमा भेन्टिलेटर, आइसियु बेड, अक्सिजनसहितको बेड जस्ता सुविधा उपलब्ध हुन त परै जाओस्, सामान्य बेडसमेत पाउन मुस्किल छ। कोभिड अस्पतालका रूपमा विस्तार गरिएका अस्पतालहरूको अवस्था पनि उस्तै छ। त्यसमाथि काठमाडौँ बाहिरका कोभिड अस्पतालहरू त नाम मात्रका छन्, त्यहाँ न आवश्यक उपकरण एवं साधनस्रोत नै छ न दक्ष जनशक्ति। अस्पतालहरूले उल्टै अक्सिजनसहितको बेड नभएको बरु सिलिन्डर किनेर घरमै अक्सिजन दिनु भन्ने जवाफ दिन थालेका छन्। त्यसैले त अहिले कतिपय संक्रमित होम आइसोलेसनमा त कतिपय अस्पताल जाँदाजाँदै मृत्युवरण गर्न बाध्य भएका छन्। यो अवस्थामा पनि सरकार भने मुकदर्शक मात्रै बनिरहेको छ।  

एकातिर स्वास्थ्य संरचना विकास नगर्ने अर्काेतिर संक्रमितलाई होम आइसोलेसनमै बस्न प्रेरित गर्ने सरकारी नीतिले अवस्था भयाबह बन्दै गएको छ। सुविधा सम्पन्न भनेर मानिएको राजधानी काठमाडौँमा नै बिरामीले उपचार पाउने अवस्था छैन भने उपत्यकाबाहिरको अवस्था झनै विकराल छ। काठमाडौँमा संक्रमितको दर ह्वात्तै बढ्दा समेत सरकारले थप संरचनाहरू विस्तार गरेको छैन। विज्ञहरूले मेडिकल कलेजहरूलाई कोभिड अस्पतालमा विस्तार गर्नेदेखि वीर अस्पतालको निर्माणाधीन नयाँ भवन र महांकालस्थित पहिले सैनिक अस्पताल रहेको भवनबाट तत्कालै स्वास्थ्य सेवा उपलब्ध गराउन सुझाव दिइरहेका छन्। त्यसका साथै सुरक्षाकर्मी परिचालन गरेरै भए पनि छिटोभन्दा छिटो अस्थायी किसिमका अन्य कोभिड अस्पताल निर्माण गरेर स्वास्थ्य सेवा दिन सके धेरैको ज्यान बचाउन सकिने सुझाव पनि विज्ञहरूको छ। 

सरकारले राजधानी काठमाडौँमा निर्माणाधीन वीर अस्पतालको संरचना, सैनिक अस्पतालको संरचनादेखि मेडिकल कलेजहरूलाई सुविधा सम्पन्न कोभिड अस्पतालका रूपमा विकास गर्दै अन्य अस्थायी प्रकृतिका कोभिड अस्पतालहरू विस्तार गर्न जरुरी छ। राजधानीबाहिरको हकमा प्रदेश र स्थानीय सरकारहरूसँग समन्वय गर्दै भइरहेका विभिन्न भौतिक संरचनालाई कोभिड अस्पतालका रूपमा विकास गर्न जरुरी छ जहाँ अक्सिजन सपोर्टसहितका बेडहरू व्यवस्था हुनुपर्छ।

 

त्यति हुँदा पनि सरकार भने यो सबै अवस्थालाई नजरअन्दाज गरिरहेको छ। काठमाडौँ बाहिर पनि स्वास्थ्य संरचना विकास गरिएको छैन बरु भएका संरचनाहरू पनि बिग्रन थालेका छन्। उदाहरणका लागि प्रदेश १ को बिपी प्रतिष्ठानलाई लेभल थ्रि अस्पताल घोषणा गरिएसँगै सय बेडको कोभिड अस्पताल बनाए पनि संक्रमित बढ्दै गएपछि त्यो पर्याप्त छैन। अस्पताल सञ्चालन भएको ३ महिनामै नयाँ जडान गरिएका भेन्टिलेटर बिग्रिएका छन्। एक्स रे र एबिजी मेसिन पनि बिग्रिएको छ। संक्रमितलाई पाइपबाट सिधै अक्सिजन दिने बेड जम्मा ९ वटा मात्र छन्। त्यसैले कोभिड अस्पतालमा भर्ना भएकालाई पनि अक्सिजन चाहिँदा पालैपालो दिनुपर्ने अवस्था छ। अन्य प्रदेशको अवस्था त्योभन्दा नाजुक छ। गत चैतमा तयार गरिएका संरचनामा नै अहिलेसम्म काम चलाइएको छ, थप विस्तार गरिएको छैन।  

सरकारले स्वास्थ्य संरचना विस्तार नगरिरहेका बेला विश्व स्वास्थ्य संगठनले संयोजन गरेको एक बृहत् अन्तर्राष्ट्रिय अध्ययनले कोभिड–१९ को उपचारमा प्रयोग भइरहेका रेम्डेसिभिर, हाइड्रोक्सिक्लोरोक्विनलगायतका औषधिको प्रभावकारितामाथि पनि गम्भीर प्रश्न उठाएको छ। जबकि नेपालमा पनि गम्भीर किसिमका बिरामीलाई यी औषधि प्रयोग गर्ने गरिएको छ। यसरी कोभिड संक्रमणको मृत्यु दर घटाउन हाल प्रयोग भएका कुनै पनि औषधिले खास प्रभाव नदेखाउनु आफैँमा निराशाजनक अवस्था हो। त्यसैले यो संक्रमणको प्रभाव कम गर्न स्वास्थ्य सावधानी अपनाएर संक्रमण नै हुन नदिने, संक्रमण भई अप्ठयारो भएको अवस्थामा सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने र यसविरुद्धको संभावित खोप पर्खिनु नै हो। 

तर सरकारले स्वास्थ्य संरचना पनि विस्तार नगर्ने आमसर्वसाधारणले स्वास्थ्य सावधानी पनि नअपनाउने अहिलेको अवस्थाले स्थिति भयाबह हुन सक्छ। त्यसमाथि दसैँ, तिहार जस्ता चाडपर्व आएकाले बजारदेखि सबैतिर अनावश्यक भिडभाड हुने, देशव्यापीरूपमा आवतजावत व्यापक हुने र नातेदार, इष्टमित्रबीच भेटघाट हुने भएकाले यो संक्रमण अझै तीव्र र देशव्यापी बन्ने संभावना पनि उत्तिकै छ। त्यसैले यो अवस्थामा आमसर्वसाधारणले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, साबुन–पानीले हात धोइरहने, सेनिटाइजर प्रयोग गर्ने जस्ता स्वास्थ्य सावधानी अपनाउन जरुरी छ भने अनावश्यक भिडभाड नगर्न पनि उत्तिकै आवश्यक छ। 

यसका साथै सरकारले राजधानी काठमाडौँमा निर्माणाधीन वीर अस्पतालको संरचना, सैनिक अस्पतालको संरचनादेखि मेडिकल कलेजहरूलाई सुविधा सम्पन्न कोभिड अस्पतालका रूपमा विकास गर्दै अन्य अस्थायी प्रकृतिका कोभिड अस्पतालहरू विस्तार गर्न पनि उत्तिकै जरुरी छ। राजधानी बाहिरको हकमा प्रदेश र स्थानीय सरकारहरूसँग समन्वय गर्दै भइरहेका विभिन्न भौतिक संरचनालाई कोभिड अस्पतालका रूपमा विकास गर्न जरुरी छ जहाँ अक्सिजन सपोर्टसहितका बेडहरू व्यवस्था हुनुपर्छ। र, आमसर्वसाधारणलाई स्वास्थ्य सावधानी पालना गर्न÷गराउन पनि उत्तिकै कडाइ गर्न जरुरी छ। त्यसो गर्न सकिए मात्रै कोभिड–१९ बाट हुन सक्ने संभावित मृत्यु दर घटाउन सकिन्छ। अब पनि सरकार रमिते र मुकदर्शक बन्ने होइन, आवश्यक पहलकदमी लिएर प्रोएक्टिभ बन्न सक्नुपर्छ। अन्यथा गल्तीको समीक्षा गर्दै पछि पछुताएर मात्र काम छैन। 

प्रकाशित: २ कार्तिक २०७७ १०:२६ आइतबार

Download Nagarik App
Download Nagarik App