८ वैशाख २०८१ शनिबार
सम्पादकीय

मानसिक समस्याको मर्म

कोरोना संक्रमण महामारीका कारण दैनिक जीविका र स्वास्थ्य समस्यालाई लिएर यतिबेला आम मानिस छटपटीमा छन् । यसले समाजमा मानसिक स्वास्थ्य समस्यामा जटिलता ल्याउने संभावना छ । बालबच्चादेखि बूढाबूढीसम्म कोरोना महामारीले बाहिर निस्कन पाएका छैनन् भने कामकाजी उमेरका व्यक्तिहरूसमेत यो समस्याबाट अछूतो छैनन् । कतिपयले कोरोनाका कारण आफन्त गुमाएका छन् भने कतिपयले रोजगारी । दैनिक छाक कसरी टार्ने भन्ने समस्याले धेरैलाई पिरोलेको छ भने भविष्यप्रतिको चिन्ताले पनि उत्तिकै अत्याएको छ । निम्न र मध्यम वर्गलाई दैनिक छाक टार्ने समस्याले पिरोलेको छ भने उद्योगी÷व्यवसायीलाई व्यापारबाट भएको घाटादेखि बैंकको ऋणले उत्तिकै चिन्तित बनाएको छ । कोरोनाको प्रभावबाट कोही अछूतो छैनन् र हरेकका आ–आफनै समस्या छन् जसले गर्दा उनीहरूलाई वर्तमान र भविष्य दुवैको चिन्ताले सताएको छ । यस्तो अवस्थामा समाजमा मानसिक समस्याको जटिलता बढ्ने कुरा नकार्न सकिँदैन ।  

एकातिर मानसिक समस्यामा नयाँखाले जटिलता थपिएको छ भने अर्काेतिर कोरोना महामारीले सिर्जना गरेको संकटका कारण निको भइसकेका मानसिक रोगीमा पुनः सोही समस्या बल्झिन थालेको छ । मनोचिकित्सकहरूका भनाइमा निको हुँदै गरेका र औषधि सेवन गरेर घरमै बसिरहेका मानसिक रोगीहरू पुनः उपचारका लागि आउन थालेका छन् भने त्यो संख्या उल्लेख्य छ । कोरोनापछि उत्पन्न असहज परिस्थिति, लकडाउनलगायतका कारण सेवन गरिरहेको औषधिको सहज उपलब्धता नभएकाले पनि केही हदसम्म समस्या बल्झिएको हो । त्यति मात्र होइन, यस्ता मानसिक रोगीमा कोरोनाको जोखिम पनि उच्च छ । मानसिक अस्पतालको भौतिक संरचना संक्रामक रोगीलाई ध्यानमा राखेर निर्माण नभएकाले अस्पतालहरू नै संक्रमणको उच्च जोखिममा छन् । त्यसमाथि मानसिक अस्पतालमा उपचाररत बिरामीले कोरोना रोकथाम तथा सुरक्षा साधन प्रयोग गर्न नमान्ने भएकाले पनि जोखिम बढेको छ । कतिपय बिरामीले मास्क, स्यानेटाइजरलगायत सुरक्षा उपाय अपनाउन नमान्ने भएकाले पनि जोखिम बढेको हो । त्यसैले बढ्दो संक्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले स्थिर अवस्थामा रहेका बिरामीलाई मानसिक स्वास्थ्य उपचार सेवासहित घरमै पठाउन थालेको छ भने दूर मानसिक स्वास्थ्य सेवा पनि सुरु गर्न थालेको छ । एकातिर अस्पतालको यस किसिमको सेवा र अर्काेतिर अस्पताल आउन सहज नभएकाले पनि कतिपय व्यक्तिले मानसिक स्वास्थ्यबारे टेलिफोनमार्फत मनोचिकित्सकसँग परामर्श लिइरहेका छन् । अस्पताल आउन सहज वातावरण हुने हो भने अस्पताल आउने मानसिक रोगीको संख्या धेरै हुन सक्ने चिकित्सकको राय छ ।  

त्यसो त कोरोना सिर्जित मानसिक समस्यासँगै आत्महत्याका घटना पनि बढिरहेको देखिन्छ । चैत ११ देखि साउन ४ गतेसम्ममा २ हजार २ सय १८ जनाले आत्महत्या गरेको तथ्यांकले पनि त्यस्तै संकेत गर्छ । गत वर्ष ५ हजार ७ सय ३४ जनाले आत्महत्या गरेकामा यो वर्ष ६ हजार २ सय ६१ जनाले आत्महत्या गरेको सरकारी तथ्यांकले पनि यसलाई पुष्टि गर्छ । यसरी समाजमा आत्महत्याको संख्या जसरी बढिरहेको छ, त्यसलाई न्यून गर्ने पहल अहिले नै नगर्ने हो भने आगामी दिनमा समस्या विकराल बन्न सक्छ । मनोचिकित्सकहरूको भनाइमा ‘आत्महत्या अस्थायी किसिमको सोचको परिणाम भएकाले यसमा विशेषज्ञ मनोपरामर्श उपलब्ध गराएर न्यून गर्न सकिन्छ ।’ त्यसैले पनि समाजमा हुने आत्महत्या दरलाई न्यून गर्न मनोचिकित्सकहरूको सहयोगमा अभियान सञ्चालन गर्न जरुरी छ । त्यसो त सरकारले पछिल्लो समय आत्महत्या गर्नेहरूको संख्या बढ्न थालेपछि समस्यामा परेकालाई परामर्श दिन मनोचिकित्सकहरूको सहयोगमा हटलाइन सेवा सुरु गर्न खोजेको छ । यही सेप्टेम्बर १० देखि ११६६ नम्बरको हटलाइनमार्फत चौबीसै घण्टा परामर्श दिने व्यवस्था गर्न लागिएको छ । सरकारको यो पहलकदमीलाई सकारात्मकरूपमा लिन सकिन्छ तर त्यो पर्याप्त छैन ।  

त्यसैले सरकारले मानसिक स्वास्थ्य अस्पतालहरूमा आवश्यक पर्ने सामग्री, पूर्वाधारदेखि जनशक्तिसमेत उपलब्ध गराएर तत्कालका लागि प्रभावकारी दूर मानसिक सेवा सञ्चालनमा ध्यान दिनुपर्छ । यसका साथै समुदायस्तरमा नै मनोपरामर्श सेवा उपलब्ध गराउनेदेखि व्यक्तिको समस्या के÷कस्ता छन् र तिनीहरूलाई के÷कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयको पहिचान गर्दै त्यसैअनुसारको कार्यक्रम कार्यान्वयन गर्न पनि आवश्यक छ । अहिले तत्कालको अवस्थामा जसरी कोरोना महामारीले स्वास्थ्य संकट निम्त्याएको छ, त्यसैगरी भविष्यमा यसको प्रभावका रूपमा मानसिक स्वास्थ्यको समस्या भयाबह देखिन सक्छ । सरकारले यो पक्षलाई ध्यान दिँदै समुदायस्तरमा नै मनोचिकित्सकहरू परिचालन गरी मनोपरामर्शका कार्यक्रम सञ्चालन गरी यसलाई न्यूनीकरण गर्नेतर्फ अहिलेदेखि नै ध्यान दिनुपर्छ । अन्यथा, हामी आगामी दिनमा मानसिक स्वास्थ्य संकटको दुष्चक्रमा फस्नेछौं ।

प्रकाशित: १९ भाद्र २०७७ ०६:०० शुक्रबार

Download Nagarik App
Download Nagarik App