२२ असार २०८१ शनिबार
image/svg+xml
सम्पादकीय

राष्ट्रकविप्रति श्रद्धासुमन

आठ दशकभन्दा लामो समयसम्म नेपाली साहित्य सिर्जनामा अनवरत क्रियाशील राष्ट्रकवि माधव घिमिरेको १०१ वर्षको उमेरमा मृत्यु भएसँगै काव्यधाराको एउटा युग अन्त्य भएको छ । लालित्यपूर्ण काव्यधाराका विशिष्ट सर्जक घिमिरेको निधनसँगै शताब्दी लामो नेपाली साहित्यको एउटा धरोहर अन्त्य भएको हो । अधिकांश समय नेपाली साहित्यको सेवामा समर्पण गरेका घिमिरेलाई समालोचकहरू सफल समकालीन स्वच्छन्दतावादी कविका रूपमा स्मरण गर्छन् । मानिस र प्रकृतिका बारेमा अत्यन्तै सुन्दर र बेजोड तरिकाले सिर्जना गर्ने घिमिरेलाई राष्ट्रप्रेमका बारेमा लेख्ने एक महान् कविभन्दा अत्युक्ति हुँदैन । यस हिसाबले पनि घिमिरेलाई नेपाली साहित्यले सधैँ श्रद्धा र स्मरण गरिरहनेछ । नेपाली साहित्य र वाङ्मयका एक विशिष्ट साधक घिमिरेले काव्य र कविताका माध्यमबाट राष्ट्र, राष्ट्रियता र नेपाली साहित्यमा जे–जस्तो योगदान पु¥याए, त्यसका लागि पनि उनको सधैँ स्मरण हुनेछ ।

लमजुङको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेले सर्वदर्शनमा शास्त्री गरेका थिए । घिमिरेले सुरुमा ‘मधुश्री’ उपनामबाट पनि साहित्य सिर्जना गरेका थिए । सानै उमेरदेखि सिर्जनालाई अँगालेका घिमिरेले राणाकाल, प्रजातन्त्र, बहुदल र गणतन्त्रसम्मको शासन व्यवस्थामा जे–जस्ता साहित्य सिर्जना गरे, त्यसबाट देशकै सान उचो बनाउने काम गरे । यस हिसाबले घिमिरेले धेरै शासन व्यवस्था मात्रै देखेनन्, सिंगै युग भोगे । तैपनि कसैसँग सम्झौता गरेनन्, निरन्तर आफ्नो साधनामा लागिरहे । २०५४ सालमा ‘हिमालवारि हिमालपारि’ कृतिका लागि साझा पुरस्कारबाट सम्मानित घिमिरेले फेरि २०५८ सालमा पनि ‘चारुचर्चा’ निबन्धका लागि सोही पुरस्कार पाए । २०६७ सालमा पद्मश्री साधना सम्मान र २०७५ मा महाउज्ज्वल पदक लगायतबाट सम्मानित घिमिरेलाई २०६० सालमा सरकारले राष्ट्रकविको उपाधिबाट विभूषित गरेको हो ।  

‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ बोलको गीत होस् वा ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ लगायतका गीत नै किन नहोऊन्, तिनमा व्यक्त भावले उनको राष्ट्रप्रेम झल्काएको छ ।

घिमिरेले प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ, त्यसपछि उपकुलपतिदेखि कुलपतिसम्मको जिम्मेवारी सम्हाले । उनले नेपाली कवितामा स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली संयोजन गरेर कविता लेख्ने काम गरे । घिमिरेले आफ्नो जीवनकालमा बीसभन्दा बढी कृति लेखे । त्यसमध्ये २०१५ सालमा उनले आफ्नी जेठी पत्नी गौरीको स्मृतिमा लेखेको ‘गौरी’ खण्डकाव्य नेपाली साहित्यिक समाजमा निकै चर्चित छ । कृतिमा उल्लिखित मर्मस्पर्शी भावनाका कारण होला जुनसुकै उमेर समूहका व्यक्तिबीच पनि यो कृति स्मरणीय छ । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले मञ्चन गरेका दुई गीति नाटक ‘शकुन्तला’ र ‘मालती मंगले’ होस् वा ‘आफ्नै बाँसुरी आफ्नै गीत’ शीर्षकको निबन्ध संग्रह नै किन नहोस्, उनको सर्वाधिक लोकप्रिय कृतिका रूपमा चिनिन्छ । ‘नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे’ बोलको गीत होस् वा ‘गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली’ लगायतका गीत नै किन नहोऊन्, तिनमा व्यक्त भावनाले उनको राष्ट्रप्रेमलाई झल्काएको छ । ‘बसी राम्रो देउराली त’ बोलको गीत होस् वा ‘आजै र राति के देखँे सपना मै मरी गएको’ बोलको गीत नै किन नहोस्, यी गीतमार्फत घिमिरेले नेपाली गीति क्षेत्रमा छुट्टै स्थान बनाउन सफल भए । र, नेपाली संगीत क्षेत्रमा रुचि राख्ने जोकोहीका लागि पनि यी गीत यादगार छन् ।  

‘गौरी’ का अतिरिक्त ‘राजेश्वरी’, ‘राष्ट्रमाता’, ‘अश्वत्थामा’ ‘नवमञ्जरी’, ‘नयाँ नेपाल’, ‘घामपानी’, ‘किन्नर–किन्नरी’लगायतका उनका कृति चर्चित छन् । पछिल्लो समय घिमिरेले ‘ऋतम्भरा’ महाकाव्य लेखे पनि त्यसलाई आफ्नै जीवनकालमा सार्वजनिक गर्न भने पाएनन् । गत वर्ष स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका घिमिरेले निको भएर फर्किएपछि ऋतम्भराको लेखन सिध्याएका थिए । यस हिसाबले घिमिरेले बाँचुन्जेल नेपाली साहित्यको सेवा गरे । त्यसैले पनि उनी  देशकै अमूल्य निधि हुन् । र, आफ्ना यी साहित्यिक कृतिका कारण उनी सधैँ अमर रहिरहनेछन् । राज्यबाट राष्ट्रकविको सम्मान पाएका घिमिरेको मृत्युपछि राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ, जुन राज्यले मृत्युपर्यन्त उनलाई गरेको सम्मान हो । नेपाली साहित्यका यी धरोहरप्रति हाम्रो पनि श्रद्धासुमन ।

प्रकाशित: ४ भाद्र २०७७ ०६:०५ बिहीबार

Download Nagarik App
Download Nagarik App