४ माघ २०७७ आइतबार
सम्पादकीय

खोपको खोजी

सात महिनाअघि चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस महामारीले हालसम्म विश्वका झन्डै दुई करोड ६ लाख मानिसलाई संक्रमित गरेको छ भने साढे सात लाखको ज्यान गएको छ। उपचारमा रोगको चरण अनुसार विभिन्न औषधि उपयोगी भए पनि हालसम्म यसैका लागि भनेर नाम तोकिएको छैन। कुनै निश्चित औषधिको आधिकारिक घोषणा र अनुमोदन नभए पनि यसको उपचारका लागि ‘रेमडेसिभिर’, ‘डेक्सामिथासोन’, ‘इन्टरफेरोन बेटा’ लगायत अन्य एन्टिभाइरल औषधि प्रयोगमा आएका छन्।

यो शताब्दीकै सबैभन्दा ठूलो संक्रामक रोगको उपचार निम्ति प्रमाणित खोप कहिलेसम्म बन्ला भन्नेमा विश्वव्यापी चासो छ। पछिल्ला महिना कोभिड–१९ रोकथामका लािग सुरक्षित र प्रभावकारी खोप निर्माणमा विश्वव्यापी प्रतिस्पर्धा देखिएको छ। विश्वशक्ति राष्ट्र तथा औषधि निर्माता कम्पनीदेखि स–साना बायोटेक फर्म पनि यो दौडमा सामेल छन्। खोप निर्माण र घोषणा उनीहरूका लागि प्रतिष्ठाको विषय बनेको छ। खोपमा विश्वव्यापी माग रहने हँुदा यसबाट हुने मुनाफा उत्तिकै आकर्षक छ। अहिलेसम्म अमेरिकी कम्पनी मोर्डना, चिनियाँ कम्पनी सिनोभ्याक, जर्मन कम्पनीको सहकार्यमा अमेरिकी कम्पनी फाइजर र अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा औषधि निर्माता कम्पनी अस्ट्राजेनेका अग्रपंक्तिमा छन्। खोप निर्माणको यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका बीच यही साता रुसले आधिकारिक रूपमा दर्ता गरेर विश्वमा कोरोनाभाइरसको पहिलो खोप निर्माणको श्रेय लिन खोजेको छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यो खोप सुरक्षित भएको दाबी गरेका छन्। परीक्षणको तेस्रो तथा अन्तिम चरणको नतिजा नआउँदै घोषणा गरिएको रसियाली खोप कति प्रभावकारी र सुरक्षित होला भनेर जनस्वास्थ्य विज्ञले आशंका व्यक्त गरेका छन्।  

शीतयुद्धकालीन सामरिक हातहतियार निर्माणको होडलाई सम्झाउने गरी अहिले शक्ति राष्ट्र खोप निर्माणको प्रतिस्पर्धामा उत्रेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरअघि नै खोपको घोषणा हुन सक्ने बताएका छन्। नोभेम्बरमा हुने राष्ट्रपति चुनावअघि नै खोप घोषणा हुन सके बढी मत आकर्षित गर्न सजिलो पर्ने भएर उनले यसो भनेको हुनुपर्छ। खोपजस्तो विषयमा राजनीतिक दाउपेचभन्दा वैज्ञानिक प्रमाण महत्वपूर्ण हुन्छ। खैर, खोपले स्वीकृति पाउनुअघि गरिने परीक्षणका विभिन्न चरणमा कुनै सम्झौता हुनु हुँदैन। त्यसो भए खोपको प्रभावकारितामा प्रश्न उठ्छ र यसले जनस्वास्थ्यमा झन् नराम्रो असर पार्न सक्छ। खोप सुरक्षा र प्रभावकारिता दुवै हिसाबले सफल हुनुपर्छ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबीच खोपको घोषणा भइहाले पनि नेपालमा यो आइपुग्न कति समय लाग्ला भन्ने जिज्ञासा भइरहेको छ। नेपाल सरकारले विश्व स्वास्थ्य संगठन र खोप वितरण गर्ने अन्तर्राष्ट्रिय एलायन्स गाभीसँग निरन्तर सम्पर्क र छलफलमा रहेको बताएको छ। निम्न तथा मध्यम आय भएका राष्ट्रमा आधारभूत खोपको सहज पहुँचका निम्ति सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा गाभीको स्थापना भएको हो। गाभीले अघिल्लो साता एक विज्ञप्तिमार्फत अल्पविकसित मुलुकमा पनि खोपको उपलब्धता सुनिश्चित हुने बताएर आशा जगाएको छ। 

खोप नबनेको र यसको प्रभावकारितामा प्रश्न उठेको अवस्थामा निराश हुनुभन्दा संक्रमण नै फैलन नदिने अन्य विकल्पलाई रोज्नुपर्छ। त्यो हो– भौतिक दूरी निरन्तर कायम राख्ने, मास्क लगाउने र रोग सर्न सहयोग पु-याउने हाम्रा अन्य आनीबानीमा परिवर्तन गर्ने। यसैगरी हामीले हाम्रो कमजोर स्वास्थ्य प्रणालीलाई क्रमशः मजबुत पार्दै लैजानुपर्छ। 

यहाँ महत्वपूर्ण पक्ष के छ भने, नेपाल सरकारले अन्य निम्न आय भएका राष्ट्रले खोप पाउँदा हामी पनि स्वतः खोप पाउँछौँ भनेर हात बाँधेर बस्नु हँुदैन। जनस्वास्थ्य विज्ञ तथा कूटनीतिज्ञहरू नेपालले अहिलेदेखि लबिङ गर्नुपर्छ भनिरहेका छन्, यो सही पनि हो। जसरी खोप निर्माणमा प्रतिस्पर्धा चलेको छ, निश्चित के छ भने यो प्रतिस्पर्धा खोप उपलब्ध भएको अवस्थामा पनि जारी रहनेछ। नेपाल सरकार यसमा सक्रिय हुन आवश्यक छ। विश्वका विभिन्न देशसँग नेपालको विशिष्ट र विशेष सम्बन्ध छ। संकटको यो बेला यस्ता सम्बन्धको उपयोग गर्नुपर्छ। नेपालले आफ्ना मित्रसँग छलफल र सम्पर्क गहन पार्नुपर्छ। प्रयास नगर्दा आउने नतिजा र प्रयास गरेपछि आउने नतिजा फरक हुन्छ नै। यसैगरी खोप उपलब्ध भइहालेमा नेपालले देशभित्र कसरी वितरण गर्ने र कसलाई सबैभन्दा पहिले दिने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ। रोगको संक्रमणका हिसाबले सबैभन्दा बढी जोखिममा रहेका वर्ग तथा समूह प्राथमिकतामा पर्न सक्छन्। त्यस्तै, खोपको वितरण पहँुच, शक्ति र आर्थिक हैसियतभन्दा पनि समानताका आधारमा न्यायोचित हिसाबले हुनुपर्छ। उच्च आय भएका राष्ट्रले खोप पाउने र निम्न आय भएकाले कुरेर बस्नुपर्ने स्थितिको सिर्जना भए त्यो दुःखद हुनेछ। यी र अन्य आधार तोकेर यो बहुप्रतिक्षित खोपका लागि नेपालले वैज्ञानिक तथा समानुपातिक वितरण योजना बनाउन सक्छ र योजनालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार–प्रसार गर्न सक्छ। यसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा एउटा सकारात्मक वातावरण सिर्जना भई अन्तर्राष्ट्रिय जगत्को ध्यान नेपालमा पर्न सक्छ।  

खोपको अपेक्षासँगै पछिल्ला दिनमा अन्तर्राष्ट्रिय स्तरमा कोरोना भाइरस नियन्त्रणका लागि खोप अन्तिम समाधान होला÷नहोला भन्नेमा आशंका गरिएको छ। खोपको प्रभावकारिता शतप्रतिशत नहुने र खोपसँगै मानिसको आनीबानी, जनस्वास्थ्य प्रणाली र अन्य वैकल्पिक औषधिको प्रयोगलाई पनि उत्तिकै ध्यान दिन वैज्ञानिक तथा जनस्वास्थ विज्ञले सुझाएका छन्। खोप अल्पकालीन र अस्थायी सुरक्षा व्यवस्था हुन सक्ने उनीहरूको राय छ। विभिन्न अध्ययनले कोभिड–१९ विरुद्ध शरीरले निर्माण गरेको ‘एन्टिबडी’ को प्रभाव केही समयमै हराएर जाने देखाएका छन्।  

खोप नबनेको र यसको प्रभावकारितामा प्रश्न उठेको अवस्थामा निराश हुनुभन्दा संक्रमण नै फैलन नदिने अन्य विकल्पलाई रोज्नुपर्छ। त्यो हो– भौतिक दूरी निरन्तर कायम राख्ने, मास्क लगाउने र रोग सर्न सहयोग पु¥याउने हाम्रा अन्य आनीबानीमा परिवर्तन गर्ने। यसैगरी हामीले हाम्रो कमजोर स्वास्थ्य प्रणालीलाई क्रमशः मजबुत पार्दै लैजानुपर्छ। यसो गर्न सके मात्र महामारी नियन्त्रणका हाम्रा प्रयास सफल हुन सक्छन्।

प्रकाशित: ३० श्रावण २०७७ १०:४४ शुक्रबार

Download Nagarik App
Download Nagarik App