प्रधानमन्त्री केपी शर्मा ओलीमा केही गरौं भन्ने हुटहुटी प्रशस्त देखिन्छ। उनी प्रायः सामाजिक सञ्जालमार्फत् केही न केही आशाका सन्देश दिइरहेका हुन्छन्। कहिले उनी सामाजिक अभियन्ता वा कलाकारलाई भेट्छन्। कहिले उनी कुनै उद्योगधन्दा वा विकासको काम भइरेको सन्देश दिन्छन्। देशमा केही भएन भन्ने निराशाबिच यस्ता सन्देशले स्वाभाविकरूपमा आशाको सन्देश दिन्छ। खासमा प्रधानमन्त्री, मन्त्री, सचिव र अन्य जिम्मेवार निकायले यस्ता विषयमा निरन्तर जानकारी गराइरहँदा त्यसले पार्ने प्रभाव निकै राम्रो हुन्छ।
ओलीले सोमबार सामाजिक सञ्जालमार्फत् २० अर्ब रूपैयाँ चिनियाँ लगानीमा सिन्धुलीको मरिण गाउँपालिका– ४ मा राँगाभैसीको मासु उद्योग सञ्चालनमा आउन लागेको जानकारी दिएका छन्। उद्योग विभागमा यति ठुलो लगानीको कम्पनी दर्ता भएर सञ्चालनमा आउन लागेको खबर आफैंमा उल्लेख्य घटना हो। यसै पनि हाम्रा निम्ति यस्ता ठुला आकारका कम्पनी स्थापना हुनु र आर्थिक गतिविधि सञ्चालन हुनुले अर्थ राख्छ।
कतिपयका निम्ति मासु उत्पादन गर्ने कम्पनीभन्दा नाक खुम्च्याउने अवस्था पनि आउन सक्छ तर यो हाम्रो समाजको यथार्थ पनि हो। मानिसले जे उपभोग गर्छन्, त्यसको उत्पादन र आपूर्ति गर्नु स्वाभाविक हो। यस्ता उपभोग्य सामग्रीको उत्पादन, बजार र उपभोगको आफ्नै संयन्त्र हुन्छ। चीन र भारतजस्ता विशाल दुई मुलुकका बिचमा अवस्थित नेपालका निम्ति अनेकन अवसर छन् भन्ने यो पनि एक उदाहरण हो। चीनको ठुलो जनसंख्याका निम्ति मासुकै आपूर्ति गर्न पनि ठुलो मात्रामा उत्पादन र आपूर्ति हुनुपर्छ भन्ने हो। उत्पादन संयन्त्रमा जति श्रम, ऊर्जा र अन्य पहल आवश्यक हुन्छ त्यसै अनुसारको प्रतिफल प्राप्त हुन्छ।
प्रधानमन्त्री ओलीको गत मंसिरमा भएको चीन भ्रमणका क्रममा चीनको सिचुवान प्रान्तस्थित छेन्दु जियान फुड कम्पनीले मरिण–४ सिन्धुलीमा भैसीको मासु प्रशोधन उद्योग स्थापना गर्ने सम्झौता गरेको थियो। उद्योगले वार्षिक दुई लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अंग, टाउको) उत्पादन गर्ने योजना छ। यसमा सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको पाँच हजार एक सय ५६ जनालाई रोजगारी दिने पनि हो। यस उद्योगबाट वार्षिक डेढ खर्ब रूपैयाँको मासु चीनतर्फ निर्यात हुनेछ।
हाम्रो मुलुकले गत आर्थिक वर्ष निर्यातबाट केही आशाप्रद सन्देश दिएको छ। भारत र अस्ट्रेलियामा एक वर्षमा एक खर्ब ६ अर्ब ७९ करोड रूपैयाँ बराबरको सोयाबिन तेल निर्यात गर्न मुलुक सफल भएको छ। यसमा कच्च पदार्थ मात्र ल्याएर प्रशोधन गरी निर्यात गर्दा मात्रै पनि यति उल्लेख्य काम भएको छ। देशभित्रै कच्चा पदार्थ, जनशक्ति, उर्जा, व्यवस्थापन आदि प्रयोग गरेर उत्पादन गर्दा निःसन्देह त्यसको असर तलसम्म पुग्छ। रोजगारीले परिवारहरूलाई देशमै बस्नसक्ने अवस्था आउँछ। त्यति मात्र होइन अहिले रोजगारी खोज्न विदेश जाने प्रवृत्तिमा केही हदसम्म रोक लाग्छ।
भारत र चीनमा निर्यात बढाउने गरी अद्वितीय किसिमका वस्तु उत्पादन गर्दा हाम्रो व्यापार घाटा काम गर्न मदत पुग्छ। हाम्रो मुलुकको कुल व्यापार घाटा १५ खर्ब २५ अर्ब नौ करोड रूपैयाँ पुगेको छ। यो घाटा काम गर्न हामीले चुस्त किसिमले योजना बनाउने र निर्यात सुनिश्चित गर्ने हो भने लामो समय लाग्दैन। भारत र चीनले मात्रै पनि हाम्रा केही वस्तु सहजै आयात गरिने दिन निश्चित भयो भने हामीलाई अगाडि बढ्न गाह्रो छैन। त्यसै पनि आजको समय विशिष्ट छ। विभिन्न देशले एकअर्काप्रति निर्भर हुनुपरेको छ। हामीले पछिल्ला वर्षमा धेरै आयात गर्नुपरेको पेट्रोलियम, खाद्यान्न तथा फलफूल हो। पेट्रोलियममा निर्भरता घटाउने विकल्प आइसकेका छन्। देशभित्रै खाद्यान्न र फलफूलको उत्पदन बढाउने हो भने यो व्यापार घाटा कम गर्न सहज हुन्छ। हामीले यही मासु उत्पादनमा जस्तै केही ठुला उद्योग सञ्चालन गर्ने हो भने व्यापार घाटाको स्थिति फेरिन बेर लाग्दैन।
राँगाभैंसीको मासु उत्पादन गर्दा दैनिक पाँच सयवटा वस्तु खरिद गर्नुपर्ने हुन्छ। उत्पादन बढाउँदै गएपछि दैनिक पाँच हजारवटा राँगाभैंसी आवश्यक हुन्छ। यसले पशुपालन व्यवसाय गर्न किसानलाई प्रोत्साहन हुन्छ। यसले किसानलाई प्रत्यक्ष तथा परोक्ष दुबै तवरले लाभ हुन्छ। केही न केही यहाँ भइरहनुपर्छ। हामीले कुनै पनि काम सुरु नै नगर्ने हो भने प्रगति हुन सक्दैन। यस्ता सम्भावना हेरेर नेपाललाई औद्योगिक बाटोमा अगाडि बढाउने यो प्रेरणाका निम्ति प्रधानमन्त्री ओलीलाई साधुवाद भन्नैपर्छ। यस्तै ठुला उद्योग खोल्न र प्रत्यक्ष वैदेशिक लगानी ल्याउन नै प्रधानमन्त्रीले आफ्नो प्रभाव प्रयोग गर्नुपर्छ। त्यसो भयो भने आशाको सञ्चार हुन सक्छ।
प्रकाशित: १४ श्रावण २०८२ ०६:०९ बुधबार

