२१ पुस २०८२ सोमबार
image/svg+xml
सम्पादकीय

सगरमाथा संकथन

नेपाली सधैँजसो त्यस्ता अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुने गर्छन् जसको गठन, उठान र बैठान सबै विदेशीद्वारा नै हुने गर्छ। यस्ता कार्यक्रममा जाने, उनीहरूका भनाइमा साक्षी बस्ने, उठेका विषय र जारी घोषणाको समर्थनमा ताली पिट्ने र फर्कनेमै चित्त बुझाउनु पथ्र्यो। यसभन्दा बढी केही भएमा त्यहाँ जानेहरू केही ठाउँ घुमेर केही थान तस्बिर खिच्ने अनि सपिङ गर्ने हुन्थ्यो। यसैगरी चल्दै आएको छ नेपालीले सहभागिता जनाउने धेरै कार्यक्रम।

तर यसपटक नेपालमा हुन लागेको सगरमाथा संवाद भने अलि पृथक छ। यो यस कारण पृथक छ कि सगरमाथा संवाद नेपालले नै स्थापना गरेको अन्तर्राष्ट्रिय मञ्च हो। जसले संवादमार्फत समसामयिक विषयमा नेपालले आफूलाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रयास गर्नेछ। विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचितरूपमा स्थापित गर्न सकिन्छ भन्ने आफ्नो मान्यता रहेको संवाद व्यवस्थापन समितिकी संयोजक परराष्ट्रमन्त्री आरजु राणा देउवाको भनाइले पनि यो पुष्टि गर्छ।

केही समयअघि मात्र स्थापित यो विश्व मञ्चको पहिलो शृंखलाको विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ छ। मानव जगत्का विभिन्न समस्या र मुद्दाबारे संवाद, छलफल तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने उद्देश्यसाथ सञ्चालन गर्न लागिएको यो संवाद धेरै दृष्टिकोणबाट अर्थपूर्ण छ। नेपाललाई विश्वमा चिनाउने थोरै सम्पदामध्ये एक सगरमाथाको नामबाट सुरु गरिएको यो मञ्च आफैँमा बुद्धिमतापूर्ण काम हो। जसले नेपाललाई थप चिनाउन र आकर्षित गर्न सहयोग पुग्नेछ।

जलवायु परिवर्तन अहिलेको विश्वको सबैभन्दा जल्दोबल्दो समस्या हो। जसले विश्वको कुनै त्यस्तो स्थान छैन, जहाँ हानि नोक्सानी पुर्‍याएको नहोस्। अझ नेपाल जस्तो पर्वतीय देशमा त यसको असर पर्न र सहजै देख्नै थालिसकिएको छ। नेपालको मात्र नभई विश्वकै महत्त्वपूर्ण सम्पदाका रूपमा रहेका सगरमाथासहितका हिमाल, हिमताल र हिमाली बस्तीहरू जलवायु परिवर्तनको असर पूरै भोग्न बाध्य छन्। कैयौँ हिमाल काला पत्थरमा सीमित भएका छन् भने यही कारण विश्वकै पारिस्थितिकीय प्रणालीसमेत प्रभावित हुने क्रम सुरु भइसकेको छ।

यस्तो अवस्थामा विश्वको ध्यान आकर्षित गर्न संवादको पहिलो शृंखलामै छानिएको विषय जलवायु परिवर्तन निकै प्रशंसनीय छ। छलफल/संवादका मार्फत समाधानसमेत खोजिने भएकाले पनि नेपालमा यो संवाद आयोजना हुनु ‘सही समयमा, सही विषयमा, सही ठाउँमा’ भएको निष्कर्ष निकाल्न कुनै अप्ठेरो महसुस गर्नु पर्दैन। विश्वका धेरै उच्च हिमालहरूको धनी देश आज यिनै सम्पत्ति गुमाउनुपर्ने अवस्थामा पुगेका कारण पनि नेपाल यस्तो संवाद आयोजकको हैसियत राख्छ नै। त्यसैले पनि नेपालले नेपालमै यस्तो संवाद थालनी गर्नु र अझ यसलाई निरन्तरता दिने सोचसमेत रहनुले यो कार्यलाई पुनित नै भन्नुपर्छ।

शुक्रबार सुरु हुने यो संवादमा विभिन्न देशका मन्त्रीसहित १७५ विदेशी पाहुना सहभागी हुँदैछन्। जसमा १२ राष्ट्रका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित यति धेरै सरोकारवाला विदेशी सहभागी हुनुले पनि नेपालको यो प्रयास अन्तर्राष्ट्रियकरण हुने सहजै अनुमान गर्न सकिन्छ। उद्घाटन सत्रलाई कोप–२९ का अध्यक्ष तथा अजरबैजानका प्राकृतिक संसाधन तथा इकोलोजी मन्त्री मुख्तार बाबायेव, भारतका वन, वातावरण तथा जलवायु मन्त्री भूपेन्द्र यादव, चीनका १४औँ नेसनल पिपुल्स कंग्रेसका स्थानीय समितिका उपाध्यक्ष झाउ जीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ। यसबाट पनि यो कार्यक्रमको तौल गह्रुँगो भएको बुझ्न गाह्राे छैन।

सम्मेलनका क्रममा प्लेनरी, समानान्तर सत्र, राउन्ड टेबल तथा साइडलाइन बैठकहरू हुनेछन्। समानान्तर सेसनमा पृथ्वीको तापमान वृद्धिलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न विश्वले गर्नुपर्ने प्रयासबारे छलफल हुनेछ। त्यसैगरी पर्वतीय अर्थतन्त्र, जलवायुजन्य हानि/नोक्सानी, हिमालदेखि समुद्रसम्मका एक दर्जन साझा विषयबारे पनि यस्ता सेसनमा बहस हुने जानकारी आयोजकले दिएका छन्। यसबाट पनि यो संवाद शृंखला कामयावी हुने अपेक्षा गर्न सकिन्छ।

तीन दिनसम्म चल्ने यो संवादमा सार्क, बिमस्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायतका सहयोगी संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था आदिका प्रतिनिधिको सहभागिता रहनेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने यो शृंखला यतिधेरै सहभागिताका कारण नेपालका लागि अविश्मरणीय हुने कामना गर्नु अपेक्षित नै हुनेछ। यो कार्यक्रम यस कारण पनि महत्त्वपूर्ण छ कि जुन ‘जसको सवाल उसकै नेतृत्व’ अवधारणामा आधारित छ। अर्थात जलवायु परिवर्तनका कारण आफूले भोग्नुपरेको पीडा कस्तो हुने रैछ भन्ने देखाउन पनि ऊ आफैँ अघि सरेको स्थिति हो। यस्तो महत्त्वपूर्ण अवसरलाई सफल बनाउन सञ्चार माध्यमलगायत सम्पूर्ण नेपाल एकजुट भएर लाग्नु यतिबेलाको हाम्रो मुख्य कार्यभार हुनुपर्छ।  

प्रकाशित: १ जेष्ठ २०८२ ०६:०९ बिहीबार

Download Nagarik App
Download Nagarik App