२० चैत्र २०८१ बुधबार
image/svg+xml १४:३८ अपराह्न
सम्पादकीय

जहाँ नारीको पूजा हुन्छ

कामको बोझ बढी भएकाले समय छोट्याउन, कामअनुसारको उचित पारिश्रमिक दिन र मतदानसमेतको अधिकार प्राप्तिसमेतका माग राखेर एक सय १६ वर्षअघि अमेरिकाको न्युयोर्क सहरमा महिलाले सुरु गरेका आन्दोलन नै आज विश्वभर मनाइँदै गरिएको नारी दिवसको जग हो। जहाँ करिब १५ हजार महिलाले आफूहरूमाथिको अन्याय अन्त्य गरी लैंगिक समानताको पक्षमा बिगुल फुकेका थिए। त्यसको एक वर्षपछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो। यो दिवसलाई राष्ट्रियको घेराबाट अन्तर्राष्ट्रिय बनाउने श्रेय भने क्लारा जेटकिनलाई जान्छ जो कम्युनिस्ट विचारधाराकी महिला अधिकारकर्मी थिइन्।

यही अन्तर्राष्ट्रिय नारी दिवस यतिबेला विश्वभरका साथै नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। विशेषगरी महिला जागरुकतासँग जोडिएको यो दिवस महिला सशक्तीकरणसँग जोडिएको छ। महिला अधिकारका हरपाटासँग सामीप्यता राख्छ भने लैंगिक दृष्टिकोणबारे सशक्त आवाज उठाउँछ। यसरी हेर्दा नारी दिवस एक औपचारिक गतिविधिभन्दा पनि समग्र महिलाको उत्थान र सामाजिक न्यायका हिसाबले निकै गम्भीर विषय मान्नुपर्छ। जसले महिलालाई सृदृढ तुल्याउन हरसम्भव उपाय अवलम्बन गर्न उत्तोलकको काम गर्छ।

तर नेपालको सन्दर्भमा कुरा गर्दा यो दिवस त्यति सार्थक हुन सकेको देखिन्न। जो अलि टाठोबाठो छ, जो पढेलेखेको छ, जो आर्थिक र अन्य सबै क्षेत्रमा सशक्तीकरणले सज्जित छ, उसैका लागि त्यसैलाई थप बनाउने दिन र अवसरका रूपमा मात्र सीमित हुँदै आएको छ यो। जो पछाडि पारिएको छ, जसलाई यस्तो जागरुकता आवश्यक छ, उनीहरूसम्म भने यो दिवसको उपलब्धि त के, सूचनासम्म पुग्न सकेको छैन। त्यसैले जबसम्म यो दिवसको उद्देश्यले उनीहरूलाई पनि छुन सक्दैन तबसम्म यस्ता दिवस मनाइरहनुको औचित्य पुष्टि हुन गाह्राे हुन्छ।

नेपालमा यो दिवस मनाउन थालिएको पनि ६५ वर्ष बितिसकेको छ। २०१६ सालमा प्रधानमन्त्री बिपी कोइरालाको पालादेखि मनाउन थाले पनि नारी दिवस अझै देशका कुनाकन्दरासम्म पुग्न नसक्नु विडम्बना नै मान्नुपर्छ। नारी दिवस मनाउन थालेको मात्र हैन, बिपीकै प्रधानमन्त्रित्वकालमा द्वारिकादेवी ठकुरानी मन्त्रीसमेत बन्न सकेकी थिइन्। त्यति मात्र हैन, कैँयौ विकसित र आफूलाई महान् प्रजातन्त्रवादी मुलुक भन्नेहरूले समेत निकै पछि मात्र महिलालाई मताधिकार दिएका अवस्थामा नेपालमा यस्तो अधिकार २००७ सालमै थियो। यसबाट पनि प्रष्ट हुन्छ कि नेपाली महिला अधिकार प्राप्तिका सवालमा निकै अघि छन् पनि।

तर नेपाली महिलाले प्राप्त गरेका अधिकार र सुविधा सीमित छन्। केही वर्ग, भूगोल, समुदाय र वर्गभन्दा बाहिर जान सकेको छैन यो अवसर। अझ मुलुक गणतन्त्रात्मक शासनशैलीमा प्रवेश गरेपछि त संख्यात्मक हिसाबले नेपाली महिलाको फड्को उल्लेखनीय छ। तर अब राजनीतिदेखि निजामती हुँदै विभिन्न क्षेत्रमा प्राप्त यस्तो अवसरलाई गुणात्मक बनाउन सक्दा मात्र नारी दिवसले खोजेको उपलब्धि हासिल हुन सक्छ। यसका लागि अवसरलाई समानरूपमा वितरण गर्न सक्नुपर्छ भने यसलाई फलदायीसमेत बनाउन सक्नुपर्छ। हैन भने केही सीमित टाठाबाठाका लागि मात्र नारी दिवस वरदान हुन सक्छ र बाँकीका लागि ‘कागलाई वेल पाक्यो, हर्ष न बिस्मात्’ हुन्छ।

दिवसहरू सन्देशमूलक हुन्छन्। कुनै पनि दिवस मनाउनुको खास अर्थ हुन्छ। यस्तो दिवस मुलुकले ध्यान दिनुपर्ने विषयका रूपमा पनि मनाइन्छ। त्यसैले कुन दिवस किन र केका लागि मनाइन्छ भन्ने जानेर बुझेर मात्र अघि बढियो भने मात्र त्यस्ता दिवस मनाउनुको अर्थ हुन्छ। त्यसैले केही मानिस जम्मा भएर प्लेकार्डसहित र्‍याली निकाल्ने, केही उपहार बाँड्ने र ब्यानरसहितको सामूहिक फोटो फेसबुकमा पोस्ट्याएर दिवस मनाउनुलाई नै उपलब्धि होइन। वास्तविकरूपमा महिला अगाडि बढ्नका निम्ति प्रवृत्तिमा पनि सुधार आवश्यक छ। यसर्थ नारी दिवसलाई सार्थक तुल्याउन यसको मर्म बुझेर त्यहीअनुसारका गतिविधि सञ्चालन गर्नुपर्छ। नारी दिवसको एक साता मात्र होइन यसलाई वर्षैभरि मनन् गर्नुपर्ने पक्षका रूपमा अंगीकार गर्नुपर्छ। त्यसै हाम्रा शास्त्रले भनेका होइनन्– जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि खुसी हुन्छन्।  

प्रकाशित: २३ फाल्गुन २०८१ ०६:०१ शुक्रबार

Download Nagarik App
Download Nagarik App