२३ चैत्र २०८१ शनिबार
image/svg+xml ७:५१ पूर्वाह्न
सम्पादकीय

शब्दको महोत्सव

आज फागुन १५ गते। आज पोखरामा चार दिनसम्म चल्ने नेपाल लिटरेचर फेस्टिभल सुरु हुँदैछ। आजैबाट काठमाडौंमा साहित्यकै सेरोफेरोमा केन्द्रित काठमाडौं उत्सव र विराटनगरमा कोसी विचार उत्सव पनि हुँदैछ। भोलि (फागुन १६ गते) देखि बर्दियाको राजापुरमा थारू साहित्य सम्मेलन र धादिङमा बागमती साहित्य महोत्सव हुनेछन् भने फागुन २४ देखि कैलालीमा टीकापुर साहित्य महोत्सव हुने भएको छ। हिजो (फागुन १४ गते) झापामा यस्तै कला साहित्य महोत्सव सुरु भइसकेको छ। सुर्खेतमा फागुन ५–७ गतेसम्म कुडा कर्णालीका महोत्सव सम्पन्न भइसकेको छ। सुनियोजित भनौं या संयोग, फागुन नेपालका लागि साहित्यको महोत्सव महिना बन्न पुगेको छ। जाडो कम हुँदै र गर्मी पलाउँदै गरेको यो मौसम एक हिसाबले साहित्यिक विमर्शका लागि उत्तम ठानिएको छ।

देशभर एकसाथ साहित्य र विचारका यति धेरै महोत्सव मनाइनुले नेपालीजनमा साहित्यप्रतिको चासो, अनुराग बढ्दै गएको अनुमान सहजै लगाउन सकिन्छ। तर यस्ता कार्यक्रमका पहलकदमीलाई यो सीमिततामा मात्र बाँधेर अथ्र्याउनु अधुरो हुन जान्छ। यस्ता अनुष्ठानलाई मुख्यतः तीन आयामबाट हेर्नु सान्दर्भिक हुन आउँछ– ज्ञानमिमांसा, विकास र राजनीति।

ज्ञानमिमांसा यस अर्थमा कि देशभर साहित्यिक छलफल हुनु आफैंमा ज्ञानको शास्त्रार्थ हो। साहित्य महोत्सव भनिए पनि अधिकांश महोत्सवमा ज्ञानका फरकफरक क्षेत्र र देशका समसामयिक विषयमा संवाद भइरहेको हुन्छ। यसखाले बहुविध संकथनले वक्ता र श्रोता दुवैको ज्ञानको दायरा फराकिलो बनाउन सहयोग पुगिरहेको हुन्छ। फरक भूगोल, पृष्ठभूमि र विचार बोकेका मान्छेले एउटै विषय र सन्दर्भमा कसरी फरक दृष्टिकोण राख्छन् र द्रष्टाको ज्ञान कुन स्रोतमा आधारित छ भन्ने जान्न पाउनु यस्ता महोत्सवको खास विशेषता हो।

यतिबेला हामी संघीयतामा आधारित विकासको अभ्यासमा छौं। विकासको संरचनामा मात्र होइन, एजेन्सी नै जनता हुने यो अवधारणामा स्थानीय तहमा यस्ता महोत्सव आयोजना गरिनु संघीयताकै सबलीकरण हो, स्वशासन हो। आफ्ना रैथाने ज्ञान, शिक्षा, शिल्पबारे आफ्नै समुदायबिच यस्ता भलाकुसारी विकसित हुने विज्ञान नै यथार्थमा दीर्घकालीन मौलिक विकासको आधार बन्न पुग्छ। भन्नैपर्दा लामो समयसम्म अनेकन् विरासतका आधारमा आफूसँग मात्र ज्ञानको प्राधिकार छ भन्ने काठमाडौंको अहम्माथि यस्ता महोत्सवले दरिलो झापड हानेका छन्। भनेका छन्– काठमाडौंले बोल्ने र बाँकी नेपालले सुन्ने हिजोको केन्द्रीकरणको अन्त्य हुँदैछ।

सामूहिक विमर्श लोकतन्त्रको सुन्दरतम पक्षसँगै उच्चतम अभ्यास पनि हो। आम वृत्तमा हुने यस्ता छलफल जति फराकिला हुन्छन्, लोकतन्त्रको जग त्यति नै मजबुत हुन्छ। यस्ता महोत्सव त्यस्तै अभियान हुन्, जहाँ आम नागरिकले आफ्नो मत राख्न सक्छन्। मन माझामाझ गर्न सक्छन्। विमतिलाई सम्मान गर्ने लोकतान्त्रिक चरित्रको विकास गर्न सक्छन्।

पछिल्लो समय कोभिड–१९ महामारी र इन्टरनेटको बढ्दो पहुँचले हामीलाई आम वृत्तभन्दा डिजिटल स्पेस नै सहज लाग्न थालेको छ। सूचना दिने मात्र होइन, विचार नै प्रभावित पार्ने गरी इन्टरनेटमा उपलब्ध कतिपय सामग्रीले हामीलाई भ्रमित पारिरहेका छन्। यस्ता सामग्री दुरूपयोग गरी अफवाह फैलाउन व्यापारी नै भइहाले सस्तो लोकप्रियता चाहने जोकोही सक्रिय छन्। अलोकतान्त्रिक शक्ति, धार्मिक अतिवादीले पहिलेदेखि यस्ता सञ्जाललाई अस्त्र बनाउने लागिरहेकै छन्, जसलाई देशभित्रै र बाहिर पनि हामीले देखिरहेकै छौं।

लोकतन्त्रका पक्षधर अधिकांश दक्षिण एसियाली विश्लेषकहरू अहिले पनि भन्छन्– फरक विचारका लागि हाम्रो राजधानी भनेकै नेपालको काठमाडौं हो। यसको तात्पर्य के हो भने भारत, पाकिस्तान, श्रीलंका, बाङ्लादेश, माल्दिभ्स, भुटानका नागरिकले आफ्नै देशमा भन्न नसक्ने कुरा नेपाल आएर गर्न सक्छन्। आफ्नै देशमा प्रतिबन्धित सिर्जना पनि यहाँ आएर देखाउन सक्छन्। सन्चोबिसन्चो सोध्न सक्छन्, छिमेकी देशबारे ढुक्कले संवाद गर्न सक्छन्। हामीलाई हाम्रा लागि मात्र होइन, छिमेकीका लागि पनि नेपालको यो ब्रान्डलाई जोगाइराख्नु छ।

लोकतन्त्रमा मात्र अभिव्यक्ति स्वतन्त्रता सम्भव हुन्छ र साहित्यको प्राणवायु भनेकै त्यही स्वतन्त्रता हो। स्वतन्त्रतामा मात्र साहित्य सम्भव हुन्छ। त्यसैले पनि हामीले देशभर भइरहेका यी महोत्सवहरूलाई फुल्ने अवसर दिनुपर्छ। प्रश्नलाई स्वागत गरिनुपर्छ, स्वस्थ्य बहसका लागि प्रेरित गर्नुपर्छ। यसका लागि नागरिक समाज, राजनीतिक दल, स्थानीय सरकारसँगै निजी क्षेत्रले पनि सक्दो सहयोग गर्नुपर्छ। हामीले बुझ्नुपर्छ, ज्ञानको यस्तो मन्थनबाटै सही अर्थमा मुलुक समृद्ध बन्न सक्छ।  

प्रकाशित: १५ फाल्गुन २०८१ ०५:५६ बिहीबार

Download Nagarik App
Download Nagarik App