२१ चैत्र २०८१ बिहीबार
image/svg+xml १९:४६ अपराह्न
सम्पादकीय

कलिंगा काण्डको पाठ

नेपालीले अध्ययनका निम्ति छिमेकी मुलुक भारत जाने गरेको सदियौं अघिदेखि हो। औपचारिक शिक्षाका निम्ति मात्र होइन, धार्मिक तथा सांस्कृतिक व्यवहारका निम्ति पनि बनारस आदि स्थानमा पुगेर नेपालीले अध्ययन गरेका हुन्। मुलुकभित्र शैक्षिक प्रणाली बनिनसकेका बेला त्यहाँका विद्यापीठ र अन्य शैक्षिक संस्थामा जानु नेपालीको परम्परा हो। अहिले नेपालभित्रै गुणस्तरीय शैक्षिक संस्था भए पनि कतिपय नेपालीले अहिले पनि भारतलाई आफ्नो शैक्षिक गन्तव्य बनाउँदै आएका छन्। भारतमा अध्ययन गर्न जाने विदेशी विद्यार्थीमा नेपाली विद्यार्थीको संस्था सबैभन्दा ठुलो छ। एक तथ्यांकअनुसार सन् २०२२ मात्र १३ हजारभन्दा बढी नेपाली विद्यार्थी भारतमा अध्ययनरत रहेको पाइन्छ।

आजको दिनमा पनि भारतमा अध्ययन गरेर राष्ट्रिय सेवामा लागेका धेरै विद्यार्थी छन्। भारतीय विश्वविद्यालयहरूका निम्ति मात्र होइन, माध्यामिक तहको शिक्षाका निम्ति पनि नेपालीले आफ्ना सन्तानलाई त्यहाँ पठाउने गरेका छन्। सांस्कृतिक, भाषिक तथा धार्मिक निकटता भारतसँग छ। त्यति मात्र होइन, भारत जान धेरै ठुलो झन्झट हुँदैन र घरबाट नजिक छ। यसकारण पनि भारत धेरैका निम्ति छनोट भएको हो। बेलाबेलामा नेपाली विद्यार्थीमाथि भारतीय कलेजहरूमा भएको ‘बुलिङ’ चर्चामा आउँछ। यसपटक दुर्भाग्यवश प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको छ। 

भारतको ओडिसा राज्यअन्तर्गत कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत छात्राको मृत्यु र त्यसपछि विश्वविद्यालयले प्रदर्शन गरेको आपत्तिजक व्यवहारले सम्पूर्ण नेपालीको चित्त दुखाएको छ। एकातिर, मृत्युका कारण आक्रान्त विद्यार्थीलाई आश्वस्त तुल्याउनु र घटनामाथि निष्पक्ष छानबिनका निम्ति विश्वविद्यालयका तर्फबाट पहल हुनुपर्ने थियो। अर्कातिर, घटनाको संयमित व्यवस्थापन गर्नुको सट्टा नेपाल र नेपालीप्रति नै लाञ्छित गरिने अभिव्यक्ति त्यहाँका कर्मचारीबाट आएका छन्। यी सामान्य कर्मचारीबाट यस्ता धारणा आउनुले त्यहाँ विद्यमान मानसिकतालाई उजागर गरेको छ। 

नेपालले बर्सेनि शिक्षाका निम्ति भारतमा जति खर्च गरिरहेको छ, त्यसले त्यहाँको अर्थतन्त्र र शैक्षिक संस्थाका निम्ति ठुलो योगदान गरेको छ। यस्तो स्थितिलाई बेवास्ता गरी दिइएका अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छन्। यसबाट शिक्षा लिँदै त्यहाँका शैक्षिक संस्था र सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने देखिन्छ। नेपाल देशको बजेटभन्दा धेरै संस्थाले खाजाका निम्ति खर्च गर्छन् भन्नेजस्ता गैरजिम्मेवार अभिव्यक्तिले ती व्यक्तिका मानसिकतामा रहेका दूषित विचारलाई प्रकट गरेको छ। भलै, त्यहाँको सरकारले यसमा छानबिन गर्न समिति निर्माण गरेको छ। प्रारम्भिक चरणमा जिम्मेवार कर्मचारीमाथि कारबाही पनि सुरु भएको छ। सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यस्तो अवस्था आउनै नदिनेतर्फ काम हुनुपर्ने थियो। 

भारतीय स्कुल तथा कलेजमा यस किसिमको घटना भएको यो पहिलो होइन। यसअघि पनि यस्ता घटना भइरहेका छन्। तिनलाई बेलैमा ध्यान दिएको भए अहिले यो अवस्था आउने थिएन। सन् २०१४ नोभेम्बर १४ मा नैनीतालस्थित सेरउड कलेजमा अध्ययनरत शान प्रजापतिको मृत्यु भएको थियो। त्यो घटनापछि छानबिनका निम्ति तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गर्नुपरेको थियो। ती विद्यार्थीको मृत्युमा जिम्मेवार ठहर गर्दै सन् २०२२ मा मात्र नैनीताल चिफ जस्टिस मेजिस्ट्रेट कोर्टले त्यहाँका प्रिन्सपल र अन्य दुई जनालाई दोषी ठहर गरेको थियो । आठ वर्षपछि बल्ल परिवारले न्याय पाएको थियो। 

प्रकृति लम्सालको रहस्यमय मृत्युको यथोचित छानबिन गर्न नेपाल सरकारले सशक्त ढंगले कदम चालेको छ। यसमा भारतमा रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावास र काठमाडौंमा रहेको भारतीय दूतावासले पनि भूमिका निर्वाह गरिरहेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गरी उक्त घटनाबाट सिर्जित समस्याको ‘न्यायपूर्ण र वैधानिक’ रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको ओडिसा राज्यका विश्वविद्यालय तथा शिक्षण संस्थामा अध्ययनका लागि प्रदान गरिँदै आएको वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रदान गर्ने कार्य स्थगित गर्न सकिने चेतावनी दिएको छ। 

मन्त्रालयको तर्फबाट अघि सारिएको यो कदम प्रशंसनीय छ। यसका साथै केही थप कदम पनि सरकारले तत्काल चाल्नुपर्ने देखिन्छ। देशभित्रै गुणस्तरीय शिक्षा व्यवस्था सुनिश्चित नगरी विदेश जानुपर्ने अहिलेको व्यवस्थामा सुधार गर्न ध्यान दिनु आवश्यक छ। चिकित्सा शिक्षाका निम्ति नेपालमा भन्दा कमजोर संरचना भएका र गुणस्तर नपुग्ने शैक्षिक संस्थालाई समेत अनुमति दिइएको छ। एकातिर, यसले गुणस्तरीय शिक्षा हासिल गर्ने नागरिक हक हनन गरेको छ भने अर्कातिर, देशबाट बाहिर जाँदा असुरक्षित वातावरणमा अध्ययन गर्नुपरेको छ। नेपाली विद्यार्थीमाथि बंगलादेशमा हालै भएको राजनीतिक घटनाक्रममा समेत समस्या भएको हामीले बिर्सन मिल्दैन। तिनले रातारात त्यहाँबाट भागेर हिँड्नुपर्ने अवस्था आयो। 

कुनै पनि देशमा अध्ययनका निम्ति विद्यार्थी जान दिने हो भने सरकारले तिनको सुरक्षा र शैक्षिक गुणस्तर सुनिश्चित गर्न ध्यान दिनुपर्छ। आफ्ना नागरिकमाथि ज्यादती हुन्छ भने सशक्त ढंगले विरोध गर्ने र विद्यार्थी पठाउँदै नपठाउने गरी सशक्त हुनु आवश्यक छ। भारतका स्कुल कलेजका निम्ति नेपाली विद्यार्थीको उपस्थितिले ठुलो सहयोग पुगेको कुरा तिनले बुझ्नु आवश्यक छ। यसपटकको घटनामा भारत सरकार, जिम्मेवार नागरिक र अन्यले सकारात्मक भूमिका खेलेको पक्षलाई बिर्सन सकिँदैन। तर, भविष्यका निम्ति यसले गम्भीर पाठ सिकाएको छ। यसबाट नेपाल सरकार मात्र होइन, भारत सरकारले पनि त्यहाँका शैक्षिक संस्थामा हुने बेथितिमाथि गम्भीर चासो राख्नु आवश्यक छ। 

प्रकाशित: ७ फाल्गुन २०८१ ०६:०५ बुधबार

Download Nagarik App
Download Nagarik App