३० चैत्र २०८१ शनिबार
image/svg+xml १०:३८ पूर्वाह्न
सम्पादकीय

राजनीतिको ‘पोखरेल सूत्र’

पछिल्लो  समय  राजनीति  सेवाबाट  व्यवसायमा रूपान्तरण भइरहेको छ। यसलाई  कमाइको बाटो बनाउँदा राजनीतिमा लाग्नेले गरिआएका कामसमेत छाडेका छन् भने कतिपयले चाहिँ आफूले गर्दै आएको कामलाई राजनीतिसँग जोडेर पदको दुरुपयोग गरिरहेका छन्। यही कारण विशेषगरी स्थानीय तहका जनप्रतिनिधिको साख प्रतिदिन गिर्दो छ। 

यही परिवेशमा पाल्पाको रामपुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष दुर्गाप्रसाद पोखरेल अपवाद बनेर झुल्किएका छन्। उनले वडामा आइपर्ने दैनन्दिनका काम त सम्हालेकै छन्, त्यसबाहेक कृषि उद्यम अपनाएर आफ्नो जीवनलाई ऊर्जाशील पनि बनाएका छन्। जसबाट एकातिर उनको आर्थिक अवस्था दरिलो बनेको छ भने अर्कोतिर समय पनि सहजै व्यतीत भएको छ। यस्तो अवस्थाले उनलाई सन्तुष्टि दिलाउनु ठूलो उपलब्धि मान्छन् पोखरेल आफैँ। 

पोखरेल १५ रोपनी जमिनमा आफैँ खेती गर्छन् । त्यसमध्ये करिब साढे पाँच रोपनीमा तरकारी लगाएका छन्। त्यसमध्ये पनि साढे तीन रोपनीमा काउली, बन्दा, मुला, धनिया, साग आदि लगाएका छन्। यसरी विभिन्न खेतीबाट बर्सेनि सात लाख रुपियाँ कमाउन उनलाई कतै जानै पर्दैन। न खर्च गर्न कहाँबाट ल्याउँ भन्ने चिन्ता न त अन्यत्र कतैबाट आउँछ कि भनेर लोभ गर्नुपर्ने अवस्था नै। यही कारण अहिले पोखरेल उक्त क्षेत्रमा जनप्रतिनिधिका रूपमा मात्र नभई इमानदार र मेहनती कृषि उद्यमीका रूपमा समेत परिचित बन्न सकेका छन्।

वडा र सामाजिक कामबाहेक उनी भेटिने भनेकै बारीमा हो। स्थानीय बजारमै जति पनि बिक्ने भएकाले बजार समस्या नहुनुले पनि उनलाई हौस्याएको छ। श्रीमती भगवतीले साथ दिने भएकाले आफू कतै गइहाले भने पनि खासै फरक पर्दैन। यही तरकारीको आम्दानीबाट दुई सन्तानलाई काठमाडौँमा राखेर उच्च शिक्षा अध्ययन गराइरहेका उनी कर्मप्रति विश्वास गर्नुपर्ने मान्यता राख्छन्। कोही जनप्रतिनिधिले डोजर किनेका छन्। 

कसैले आफ्नै नाममा विभिन्न काम गर्न मिल्ने उद्यम दर्ता गराएका छन्। कसैले प्रत्यक्ष/अप्रत्यक्षरूपमा आफैँ ठेक्का लिने कम्पनी बनाएका छन्। अनि कतिले चाहिँ नक्कली उपभोक्ता समिति बनाएर आफैँ सर्वेसर्वा भएर अनियमितता गर्ने गरेका छन्। यी सबै उनीहरूका लागि ‘खाने बाटो’ हुन्। यसबारे कतिपयको प्रतिक्रिया हुने गरेको छ–राजनीतिमा लाग्नेले चाहिँ परिवार पाल्नुपर्दैन? खान पर्दैन?

यस्तै प्रश्नहरूको एकमुष्ट जवाफ हुन् पोखरेल, जसले यस्तै लोभलालचमा फस्न नपरोस् भनेर वडाध्यक्ष भइसकेपछि पनि आफ्नो कृषि कर्मलाई निरन्तरता दिएका छन्। जनप्रतिनिधि भएर पनि खेतबारीमा काम गर्दा न उनलाई लाज लाग्छ न त लुकेरै गर्नुपर्ने बाध्यता छ। कर्मलाई महान् ठान्ने उनको जस्तो सोच नै खासमा राजनीतिलाई व्यवसाय बनाउनबाट रोक्ने एक उपाय हुन सक्छ। प्रत्येक जनप्रतिनिधिले आफ्नो घर व्यवहार चलाउन र आफूलाई आवश्यक पर्ने खर्च जोहो गर्न यस्तै कुनै न कुनै उद्यम गर्ने हो भने राजनीतिक पदहरू धेरै हदसम्म विवादित बन्नबाट जोगिन सक्छन्। 

राजनीति सेवा हो। यो न पेसा बन्न सक्छ न व्यवसाय नै। विडम्बना, नेपालमा नहुनुपर्ने यही कुरा भइरहेको छ। त्यसैले राजनीति त्यसले गर्नुपर्छ जोसँग परिवार र आफ्ना लागि कमाउनुपर्ने आवश्यकता छैन अर्थात त्यस्तो व्यक्ति राजनीतिमा लाग्नुपर्छ जो राजनीतिलाई जागिर ठान्दैन र आर्थिक आर्जनका लागि अन्य कुनै वैधानिक उपाय आवश्यक ठान्छ। 

जो खानकै लागि हरदिन काममा लाग्नुपर्ने अवस्थामा हुन्छ उसका लागि राजनीति पूरै समय दिने क्षेत्र बन्न सक्दैन। त्यसैले राजनीतिलाई विकृतिबाट मुक्त राख्ने हो भने यसमा लाग्नेले केही न केही कर्म गर्नैपर्छ ताकि पदीय दुरुपयोग गर्न नपरोस्। यस्तो अवस्थामा मात्र सधैँ ‘स्वच्छ’ भइरहने चाहना पूर्ति हुन सक्छ। जुन सूत्र पोखरेलले सिकाइदिएका छन्।

प्रकाशित: २१ माघ २०८१ ०६:०४ सोमबार

Download Nagarik App
Download Nagarik App