फोहोर भनेको काम नलाग्ने सामान हो, त्यसैले यसलाई फ्याँक्नुपर्छ– सर्वसाधारणले बुझ्ने फोहोरको सर्वमान्य अर्थ यही हो। त्यसैले घरघरबाट जतिसक्दो चाँडो फोहोरलाई बिदा गर्न हतारिन्छन् सबै। आफूलाई आवश्यक नपर्नेबित्तिकै त्यसको औचित्य समाप्त भएको ठानेर फ्याँकिहाल्ने प्रवृत्ति एकाध हैन, सबैमा देखिन्छ। विशेषगरी सहरी क्षेत्रमा त फोहोर फ्याँक्नकै लागि तोकिएको दिनमा कतै नजाने वा निश्चित ठाउँमा लगेर राखिदिनु सामान्य भइसकेको छ।
तर भर्खरै भरतपुर महानगरपालिकाले फोहोरलाई मोहरमा बदल्न जुन ठेक्का लगायो, त्यसले सबै पालिकाको त आँखा खोल्ने नै भयो, साथै सर्वसाधारणको धारणामा समेत पुनर्विचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। यो पालिकाले आफ्नो नगरपालिकाभरको फोहोर दिएबापत वर्षको सात करोड ६१ लाख ९८ हजार दुई सय ३४ रूपैयाँ पाउने गरी ठेक्का लगाएको छ। एनके इन्टरनेसनल कन्स्ट्रक्सन प्रालिसँग गरिएको ठेक्का सम्झौताअनुसार अब यो पालिकाले १२ किस्तामा अर्थात् प्रत्येक महिना रकम भुक्तानी पाउनेछ।
पहिलो त जसलाई हामीले फोहोर भन्दै आएका छौँ, ती सबै फोहोर हैनन्। यिनलाई हामीले चिन्न नसकेको र सदुपयोग गर्न नसकेको मात्र हो। दोस्रो, पुनः प्रयोग नहुने चिजविजको उचित व्यवस्थापनमा पनि हामी कमजोर छौँ। तेस्रो, हामी सरकारले विदेशी मुद्रा तिरेर आयात गर्ने रासायनिक मलमा आफ्नो पसिना खर्च गर्छौँ तर फोहोरका नाममा पठाइने कुहिने वस्तुलाई मल बनाएर बालीनालीमा हाल्न जान्दैनौँ। त्यसैले फोहोरप्रतिको हाम्रो बुझाइमै खोट छ।
यस्तो अवस्थामा भरतपुर महानगरपालिकाले फोहोरसँग यति धेरै पैसा साट्ने ठेक्का दिएर सबैलाई आफ्नो बुझाइ बदल्न उत्प्रेरित गरेको छ। एकातिर डम्पिङ साइटको अभाव अर्कोतिर फोहोर उठाउने कर्मचारीलाई तिर्नुपर्ने ठूलो रकम, यी दुवै पालिकाहरूका लागि निकै चुनौतीका विषय बन्दै आएका छन्। यस्तो अवस्थामा उल्टै फोहोरबाट कमाउन सकिने प्रष्ट सन्देश दिने यो ठेक्का विशेषगरी फोहोर आधारित चुनौती सामना गरिरहेका पालिकाहरूका लागि मार्गदर्शक बन्न सक्छ।
भरतपुर महानगरपालिका दैनिक ८० टन फोहोर उत्पादन गर्छ। जसमध्ये ६० प्रतिशत कुहिने फोहोर हुन्छ। ५० प्रतिशत फोहोरचाहिँ पुनः प्रयोग गर्न मिल्ने हुन्छ। कुहिने चिजबिजबाट मल बनाएर किसानलाई बेच्ने र पुनः प्रयोग हुने सामान सम्बन्धित कम्पनीमा पठाउने हो भने त्यसबाट स्वतः राम्रो आम्दानी हुने भइहाल्यो। यस्तो अवस्थामा न ठूलो परिमाणको डम्पिङ साइट खोज्ने झन्झट आइलाग्छ न त सफाइ कर्मचारीको जन्ती नै पाल्नुपर्ने अवस्था सिर्जना हुन्छ। त्यसैले पनि फोहोरलाई मोहरमा परिणत गर्ने यो तरिका फोहोर सिर्जित समस्याबाट मुक्ति पाउने उत्तम उपाय हुन सक्छ।
एकातिर सहर/बजार सफा हुने, अर्कोतिर अनावश्यक ठानिएको चिजबाट आर्थिक आर्जन हुन सक्ने अनि त्यसबाहेक पालिकाको ‘टाउको दुखाइ’ को पनि उपचार हुने यो तरिकाबाट धेरैले सिक्न सक्छन्। हामी नवप्रवर्तनतर्फ एकरत्ति पनि ध्यान दिँदैनौँ। त्यसैले हरकुरामा परम्परागत शैली अपनाउनु हाम्रा लागि बाध्यता हुन्छ। अहिले पालिकाहरूले फोहोरका कारण झेलिरहेका तनाव पनि यसैको परिणाम हो। आधुनिक जमानामा पनि यस्ता कुरामा अल्झिरहने हो भने हामी विश्वले आनन्द महसुस गरिरहेको विकास चुम्नबाट अझै धेरै समय पर्खनुपर्नेमा द्विविधा रहन्न।
भरतपुर महानगरमा दैनिक उत्पादन हुने फोहोरको परिमाण हेर्ने हो भने त्यो अब टाउको दुख्नुपर्ने विषय रहेन। बरु जति धेरै फोहोर निकाल्न सक्यो उति नै फाइदा हुने र आम्दानी बढ्ने प्रष्ट भयो। फोहोर उत्पादन हुनबाट रोक्न सकिने चिज पनि हैन। यसको अधिकतम सदुपयोग एक मात्र विकल्प हामीसामु छ। आफूसँग भएकामध्ये सबैभन्दा उत्तम विकल्प अपनाएर अघि बढ्नेले हो प्रगति गर्ने। यति कुरा बुझेर अघि बढ्न सकियो भने उत्पादित फोहोर व्यवस्थापनको हैन, कम फोहोर उत्पादन भयो, यसलाई कसरी बढाउने भन्नेबारे चिन्तन गर्नुपर्ने अवस्था आउँछ। जसले जहाँ जसरी गरेको भए पनि राम्रा कामको अनुशरण गरेर अघि बढ्दा नै सबैको भविष्य उज्ज्वल हुने हो। बेलैमा सोचौँ।
प्रकाशित: १५ माघ २०८१ ०६:०७ मंगलबार

