बेन्जामिन फ्रैंकलिनले भनेका छन् कि दिनको एउटा स्याउ खाने हो भने डाक्टरकहाँ धाउनै पर्दैन। यसै पनि स्याउ र मेवालाई फलमध्येको सबैभन्दा उत्कृष्ट मानिन्छ। तर सबैलाई यो जानकारी छैन। त्यसैले धेरै मानिस तत्काल मुखभरि हुने, गुलियो न गुलियो र रसिलो फल मन पराउँछन्। यी फल पनि नराम्रा हैनन् तर तुलनात्मकरूपमा स्याउ महात्म्य बढी पाइन्छ एलोपेथिकदेखि आयुर्वेदसम्मका शास्त्रास्त्रमा।
यही वास्तविकता बुझेर होला, यतिबेला जुम्लाका विशेषगरी महिलाले स्याउको बहुउपयोगी तरिका अपनाउन थालेका छन्। जुम्ला स्याउका लागि ऊर्वर भूमि भएकामा दुई मत नै भएन। तर स्थानीय बजारले नथेग्ने र थेग्न सक्ने बजार भने निकै टाढा भएकाले उनीहरूले वर्षौँदेखि बजार समस्या भोग्दै आए। एकातर्फ सवारी साधन उपलब्ध नहुँदा ठूला बजारमा लैजानै गाह्रो अर्कोतर्फ बल्लतल्ल पुर्याए पनि ढुवानी लगायतका कारण महँगो पर्ने भएकाले आयातीत स्याउको तुलनामा जुम्ली स्याउ हेलामा पर्दै आएको थियो।
समय फेरिएको छ। सचेत नेपाली स्वदेशी उत्पादनप्रति चाह बढाउँदैछन्। एकाध रुपियाँ महँगो भए पनि स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्छ भन्ने धारणा पछिल्लो समय विकसित हुँदै गएको छ। यही कारण पछिल्ला वर्षहरू र अझ भर्खरै सकिँदै गरेको स्याउको मौसममा त जुम्ली स्याउले राम्रै बजार पाएको छ। यसले जुम्ली स्याउ उद्यमीहरूको भविष्य निकै उज्ज्वल भएको संकेत गर्छ।
स्याउ यस्तो फल हो जसलाई सामान्य अवस्थामा धेरै दिन टिकाउन सकिन्न। गाउँघरमा प्रशस्त र सुलभ कोल्डस्टोर अभाव छ। त्यसैले मौसममा नबिकेका वा बजार लैजान नसकिएका स्याउमा आफ्नो भविष्य कोर्दैछन् जुम्लाका महिला। उनीहरू यस्तो स्याउबाट यतिबेला जुस, जाम, सस, जेली, अचार, चाना आदि बनाउन लागिपरेका छन्। केही दिनको तालिम लिएपछि यस्ता काम गर्न हौसला मिलेको उनीहरूको भनाइ छ। भनाइ मात्र हैन, उनीहरू सिप सिक्न पाएकामा खुसी पनि छन्।
आलु होस् या गाजर, काउली होस् या गोलभेडा, हामी नेपालीले उत्पादन गर्न नजानेको भन्दा पनि बजारीकरण गर्न नजानेर किसान निराश हुनुपर्ने अवस्था सिर्जना भइरहेको हो। सरकारी नीति उत्पादन बढाउनमा केन्द्रित छ तर बजार खोजिदिने वा व्यवस्थापन गरिदिन अग्रसर छैन। त्यसैले बजारमा अभाव भएका बेला कतैबाट पनि आपूर्ति नहुने तर पाइएका बेला फालाफाल हुने अवस्था यही व्यवस्थापन कलाको अभाव हो। अहिले जुम्लाका महिलाले जसरी स्याउका विभिन्न परिकार बनाएर पछिसम्म बेच्न सकिने सामग्रीमा रूपान्तरण गरिरहेका छन्, त्यही शैली पछ्याउने हो भने आफ्ना उत्पादन नबिकेर सडकमा फ्याँक्दै रुनुपर्ने अवस्था नै आउँदैन।
एकातिर आफ्नो उत्पादनको भरपुर उपयोग अर्कोतिर फुर्सदको समय पनि सदुपयोग। अनि यसबाट हुने आम्दानीले मुहार खुसी हुने त भइहाल्यो। जसबाट महिला सशक्तीकरणमा समेत धेरथोर भरथेग पुग्ने अनुमान गर्न गाह्राे छैन। महिलाको थैलीमा पैसा हुँदा त्यसले घरको मरमसलादेखि छोराछोरीको कापी कलम हुँदै स्वास्थ्य र लुगाफाटोमा समेत योगदान पुग्ने विभिन्न अध्ययनले पुष्टि गरेकै विषय हुन्। अनावश्यक खर्चमा नउडाउने र मितव्ययी हुने स्वभावका कारण महिलाले आफ्नो आम्दानी सही ठाउँमा र अधिकतम लाभका क्षेत्रमा खर्च गर्छन्। जसको सकारात्मक प्रभाव सिंगै परिवारमा पर्न जान्छ।
यस्तो सिप धेरै पहिले नै दिनुपथ्र्यो तर ढिलै पनि स्याउका परिकार बनाउने शिल्पकला निकै उपयोगी देखिएको छ। विकासका सबै सूचकमा पुछारतिर पर्ने कर्णाली प्रदेशको पनि दुर्गममा पर्ने जुम्ला र आसपास क्षेत्रको आर्थिक काँचुली फेर्न सक्ने हैसियतका थोरै उत्पादनमध्ये स्याउ पनि एउटा मुख्य हो। यही वास्तविकता बुझेर जुम्ली महिलाले थालेका अभियानलाई अझै सशक्त तुल्याउने र यसलाई अन्यत्र पनि फैलाउने हो भने स्याउले नसोचेको भविष्य निर्माणमा सघाउन सक्छ। आखिर लुसी माउड मोन्टगोमेरीले भनेकै छन् कि स्याउको थाली, खुला आगो र राम्रो पुस्तक स्वर्गका लागि उचित विकल्प हो।
प्रकाशित: २५ मंसिर २०८१ ०५:३२ मंगलबार