१५ कार्तिक २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

उमंगको उज्यालो

यमपञ्चक सुरु भइसकेको छ।प्रत्येक नेपालीको घर/आँगन तिहारले छपक्कै ढाकेको छ।सयपत्री, मखमली, सेलरोटी, मरमसला र झिलिमिलीले तिहारलाई आकर्षक बनाएका छन्।पिङ र मेला÷महोत्सव पनि चम्किन थालिसकेका छन्।संघीय राजधानी काठमाडौँलगायतका सहरहरू पातलिन थालेका छन् भने गाउँहरू केही समयकै लागि भए पनि रंगिन हुँदैछन्।त्यसैले अबका केही दिन नेपालीका समय हर्ष, रमाइलो, उमंग र उज्यालोबीच बित्ने पक्का छ ।

खासमा तिहार उज्यालो र फूलैफूलको पर्व हो।जसले मानिसलाई प्रगतितर्फ बढ्न हौसला प्रदान गर्छ।अँध्यारोबाट उज्यालोतर्फ लाग्न प्रेरणा दिन्छ।सकारात्मक सोच प्रदान गर्ने फूलले नकारात्मकताबाट उन्मुक्ति दिन्छ।रंगीचंगी फूल मात्र हैन, टीकासमेतले रोमाञ्चकता प्रदान गर्छ।त्यसैले तिहार विशेष मानिन्छ।नेपालीको दसैँपछिको दोस्रो ठूलो चाड भएकाले पनि यो उल्लेख्यरूपमा मनाइन्छ।

कुकुर, काग, गाई, गोरु आदिको समेत पूजा हुन्छ यस अवसरमा।आफूलाई सधैँ सघाउने, जीविकालाई सहज तुल्याउने, दुःखमा साथ दिने र खनखाँचो टार्न मद्दत गर्ने जनावर तथा पन्छीहरूको पूजा आफैँमा सत्कर्म हो।गुन एकोहोरो भएमा त्यो टिकाउ हुँदैन।कम्तीमा पनि वर्षको एक दिन गुनको पैँचो तिर्न सिकाउने यो पशुपन्छी पूजाको विशेष अर्थ छ।हामीले तिहारमा उनीहरूलाई पूजा गर्ने र मीठा खानेकुरा दिएर कर्तव्य पूरा भएको ठान्यौँ भने त्यो भूल हुनेछ।त्यसैले यसो गर्नुको खास अर्थ बुझ्न सके मात्र यिनीहरूलाई पुज्नुको वास्तविक अर्थ थाहा हुन्छ।जसले हामीलाई थप परिस्कृत बन्न मद्दत गर्छ।पर्यावरण संरक्षण भन्नु नै प्राणी र वनस्पतिबीचको चक्रलाई सन्तुलित तुल्याउनु हो।यही सन्देश तिहारले दिन्छ ।

दिदीबहिनी र दाजुभाइको सम्बन्ध प्रगाढ बनाउने यो पर्व आफैँमा अनुपम छ।विशेषगरी लामो समयदेखि प्रत्यक्ष देखभेटमार्फत जोडिन नसकेका एकै कोखका सन्तानबीच मिलन गराउने पर्वका रूपमा तिहारले ख्याति कमाउँदै आएको छ।जतिबेला दिदीबहिनी र दाजुभाइबीचको सम्बन्ध नवीकरण हुन्छ।एउटै आँगनमा खेलेका दाजुभाइ तथा दिदीबहिनी पछि कार्यव्यहावरमा व्यस्त हुन थालेपछि यस्तो भेट अर्थपूर्ण हुन जान्छ।चाडवाडको उद्देश्य यही हो ।

व्यवसायीसमेत रमाउने पर्व हो तिहार।जतिबेला फूल, मसला, दियो, झिलिमिली बनाउने सामग्री, तामा/सुनदेखि कुचो र डालो/नाम्लोसमेत प्रशस्तै बिक्री हुने गर्छ।त्यसैले यो पर्वले सुस्ताएको व्यवसायलाई ब्युँझाइदिएर देशकै अर्थतन्त्रलाई पुनर्जागृत गर्छ।त्यति मात्र हैन, माटोको दियो बनाउनेदेखि बाँस/निगालोको नांग्लो बनाउने हुँदै कुचो निर्माताहरूलाई समेत गुन लगाउँछ तिहारले।जसबाट बिक्रेता, उपभोक्ताका साथै यस्ता सामानका निर्मातासमेतले आर्थिक लाभ हासिल गर्छन् ।

यसर्थ तिहार रमाइलो पर्व हो।ऊर्जा प्रदान गर्ने चाड हो।सकारात्मकता सिर्जना गर्ने समय हो।उज्यालोतर्फको यात्रा सुरु गर्ने शुभमुहूर्त हो।त्यसैले यो पर्व मनाउँदा मनलाई साँघुरो पार्नु पर्दैन।चाडवाडमा रमाउने भनेकै यो वर्ष गरेका कामको पुरस्कार पनि हो।यो आराम र आपसी सम्बन्ध विस्तारको समय हो।गच्छेअनुसारको खर्चले वातावरणलाई अझ रमाइलो बनाउँछ।यो वास्तविकतालाई अनुशरण गर्दै पर्व मनाउनु सम्पूर्ण नेपालीका लागि अवसर हो।

तिहार प्रकृतिसँग पनि सामीप्य राख्छ।यतिबेला पड्काइने पटाकालगायत अनावश्यक गतिविधिमा ध्यान दिन सक्नु पर्छ।पर्वै उज्यालोको भएकोले विद्युत् खपत हुन्छ नै।झिलिमिली बत्ती त बाल्नै पर्‍यो।आयातित झिलिमिलीको साटो आफ्नै देशमा बन्ने दियोको प्रयोग वातावरण र स्वदेशी उद्यम दुवैका लागि लाभदायक हुन्छ।त्यसैगरी बाहिरबाट आउने प्लास्टिक र अन्य माला तथा स्याउलगायतका फलफूलको तुलनामा आफ्नै वा छिमेकको बारीको फूल र मुस्ताङको स्याउ अनि गुल्मीको सुन्तला र सिन्धुलीको जुनार फलदायी हुन सक्छ।यसो गर्नुको बहुआयामिक फाइदा छन्– स्वास्थ्य, आर्थिक, सामाजिकलगायत विभिन्न दृष्टिले ।

चाडवाड सकिएपछि फेरि काममा फर्कनु नै छ।त्यसैले पर्वका बेला मन खोलेर रमाउनु र भोलिका निम्ति शक्ति सञ्चय गर्नुपर्छ।उज्यालो, फूलैफूल र मनोरञ्जनको पर्व तिहारको सबैमा हार्दिक शुभकामना !

सम्पूर्ण नेपालीलाई तिहारको शुभकामना !

प्रकाशित: १५ कार्तिक २०८१ ०७:१० बिहीबार

Download Nagarik App
Download Nagarik App