३ आश्विन २०८१ बिहीबार
image/svg+xml
सम्पादकीय

पलेशा–खुसी

ओलम्पिकमा नेपाली खेलाडीले खेल्न थालेको ६ दशक पुग्नै लागेको छ। तर यो अवधिमा कुनै पनि खेलाडीले ओलम्पिकमा पदक जित्न सकेका थिएनन्। यही कारण नेपाली खेलाडीहरू यस्तो पदकलाई ‘आकाशको फल आँखा तरी मर’ सँग तुलना गर्थे। त्यसैले ओलम्पिकमा सहभागिता नै नेपाली खेलाडीका लागि ‘ठूलो उपलब्धि’ साबित हुँदै आएको थियो। तर यो दुनियाँमा असम्भव भन्ने केही छैन भन्ने वास्तविकतालाई चरितार्थ गर्दै तेक्वान्दो खेलाडी पलेशा गोवर्धन श्रेष्ठले पेरिस पारालिम्पिकमा कास्य पदक जितिन्। उनले महिलातर्फको ५७ केजी तौल समूहमा सर्बियाकी मारिजा मिसेवलाई हराएर यो पदक हात पारेकी थिइन्। जुन पदक पलेशाका लागि मात्र नभएर यतिबेला नेपालकै गौरव बनेको छ।

हुन त पारालिम्पिकमा नेपालले खेल्न थालेको मात्र एक दशक भएको छ। ५७ वर्षदेखि खेल्न थालिएको ओलम्पिकले निराश बनाए पनि १० वर्षदेखि खेल्न थालिएको पारालिम्पिकले भने यो निराशालाई चिर्दै नेपालीलाई खुसी दिलाएको छ। त्यसो त दुई वटा विश्व पारा तेक्वान्दो च्याम्पियनसिप र तीन वटा एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा भाग लिइसकेकी पलेशाबाट नेपाली खेलकुद क्षेत्रले यो खाले सफलताको अपेक्षा गरेको पनि हो। जसलाई सार्थक तुल्याउँदै उनले मुलुकको नाम राख्न सक्नुको प्रशंसा जति गरे पनि अपुग हुन्छ।

पलेशा नेपाललाई नै पहिलो पटक ओलम्पिक पदक जिताउने  इतिहासको रचयिता बनिन्। त्यसो त यसअघि पनि टोकियो ओलम्पिकमा दुई बाउट जितेर कीर्तिमान कायम गरेकी उनले गत वर्ष चीनमा आयोजित पारा एसियाली खेलकुदमा पनि कास्य जितेर एसियाडमा पहिलो कास्य भित्र्याउने खेलाडी बन्न सकेकी थिइन्। यसरी हेर्दा पलेशाको खेल पराक्रम क्रमशः उकालो लाग्दो छ, जसप्रति सम्पूर्ण नेपाली गौरवान्वित हुनै पर्छ।

सम्पूर्ण विश्वलाई जोड्ने चुम्बकको काम गर्ने केही महत्त्व पूर्ण तत्त्व छन्। गीत/संगीत जस्तै खेलकुद पनि यस्तै एउटा महत्त्वपूर्ण चुम्बक हो। जहाँ रिस, राग, द्वन्द्व, नकारात्मकताभन्दा पनि भाइचारा, सहिष्णुता, प्रेम र सकारात्मकताको बास हुन्छ। जसले सबैलाई नजिक ल्याउँछ र अँगालोमा बाँध्छ। यही महत्त्वपूर्ण साँघुमार्फत देशको नाम राख्ने काम पलेशाबाट जसरी भएको छ, त्यसको चौतर्फी प्रशंसासमेत भइरहेको छ। यो स्वाभाविक पनि हो।

पलेशालाई धन्यवाद दिने र प्रशंसा दिनेहरू लाखौँ छन् यतिबेला। नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले त नागरिक दैनिकमा लामो आलेखमार्फत नै पलेशा कर्मको बयान गरेका छन् र धन्यवादको बुके नै प्रदान गरेका छन्। नेता, समाजसेवी, खेलकुदप्रेमी सबैले उनलाई यतिखेर प्रशंसाका पुष्पगुच्छा दिएरै भ्याएका छैनन्। काठमाडौँ महानगरपालिकाले उनको यो साहसिक र ऐतिहासिक कार्यको सराहना गर्दै पाँच लाख रुपियाँ सहयोगसमेत उपलब्ध गरायो। बुधबार आयोजित कार्यक्रममा उनलाई सम्मानपत्रसमेत दिइएको थियो। पलेशाका माता र पितालाई समेत सम्मान गरिएको उक्त कार्यक्रममा उनका प्रशिक्षक कविराज नेगी लामालाई समेत तीन लाख रुपियाँसहित सम्मान गरिएको थियो। यो सम्मानले पलेशालाई सफलताको यो चुलीमा पुर्‍याउन प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेकाहरूको समेत कदर गरेको छ, जुन स्वागतयोग्य छ।

नेपाल सानो अर्थतन्त्र भएको र अभावै अभावग्रस्त मुलुक भएकामा शंकै छैन। त्यसैले अन्य क्षेत्रझैँ खेलकुदमा पनि यो हरितन्नम देशले छाती फराकिलो पारेर लगानी गर्न नसकेको साँचो हो। खेलाडीहरूले प्रशिक्षणका क्रममा एउटा अन्डा र चना खानसमेत नपाएका खबर पनि सार्वजनिक भएकै हुन्। सोझो अर्थमा भन्दा खेलकुदमै लागेर जीविकोपार्जन चल्ने अवस्था नेपालमा छैन। यस्तो अवस्थाबीच पनि पलेशाले मुुलुकको नाम जसरी राखिन्, त्यसका लागि उनलाई दिइने जुनसुकै सम्मान पनि कम हुन्छ।

पलेशाबाट नेपाली खेलकुद क्षेत्रले सिक्नुपर्ने कुरा धेरै छन्।

क्वार्टरफाइनलमै हारेपछि स्वर्ण जित्ने उद्देश्य तुहिए पनि उनले हरेस खाइनन् र कास्यका लागि हौसिइन्। पदक विजेता बन्न सकेपछि उनी रिङमा दौडिएर खुसी मनाउँदै गर्दा उनको साथमा प्राणभन्दा प्यारो मुलुकको झन्डा थियो। र, त्यो जत्तिकै अर्को प्यारो थियो–दर्शकदीर्घाबाट लगातार बजिरहेको नेपाली थपडी। त्यसपछि उनले तत्कालै आफ्ना माता/पितालाई खुसी बाँडेकी थिइन् फोनमार्फत। यी उनका यस्ता अनुशरणीय पक्ष हुन् जसले आफूभन्दा ठूलो जन्मभूमि, नेपाली र माता/पिता हुन् भन्ने सन्देश दिइरहेका थिए। आखिर सफलता यस्तै सुझबुझपूर्ण कर्मको प्रतिफल न हो।  

बधाई छ पलेशा, उत्तरोत्तर प्रगतिको कामना नागरिकका तर्फबाट पनि।

प्रकाशित: २० भाद्र २०८१ ०६:०७ बिहीबार

Download Nagarik App
Download Nagarik App