३० भाद्र २०८१ आइतबार
image/svg+xml
सम्पादकीय

‘स्वस्थ सहर’ को सन्देश

धुलिखेल नेपालको पहिलो ‘स्वस्थ सहर’ बनेको छ। यो सहर नेपालको मात्र पहिलो हैन, एसियाको पनि दोस्रो स्वस्थ सहर बनेको हो। विश्व स्वास्थ्य संगठनले तोेकेको मापदण्डका आधार केही दिनअघि यस्तो घोषणा भएको हो जसबापत यो सहरले पाँच हजार अमेरिकी डलरको पुरस्कार पनि प्राप्त गरेको छ। एकातिर संघीय राजधानी काठमाडौँले लगातार प्रदूषित सहरको उपमा पाइरहेको छ अर्कोतिर यसैबेला धुलिखेलचाहिँ स्वस्थ सहरको विशेषणले सुशोभित हुन पाउनु गौरवको विषय हो। यसले थोरै भए पनि आशाको सन्देश दिएको छ। प्रदूषित सहर धेरै छन्, तर एउटै स्वस्थ सहरले धेरैलाई प्रेरणा दिएको छ।

‘आरोग्य सहर’ अभियानमा लागिरहेको धुलिखेलले स्वास्थ्य क्षेत्रमा नीतिगत सुधार गरेको छ भने स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य पनि पछ्याइरहेको छ। त्यसैगरी दीर्घ र सरुवा रोगको क्षेत्रमा सुधार गरिरहेको छ भने प्राथमिक स्वास्थ्योपचारमा पनि क्रमिक सुधार गरिरहेको छ। संविधानले सुनिश्चित गरेको सुलभ र निःशुल्क स्वास्थ्य सेवालाई विस्तार गर्दै यसलाई गरिबमैत्री बनाउन पनि यो नगरपालिकाको उत्तिकै भूमिका छ। यस्तै आधारले यो सहरलाई ‘स्वस्थ’ घोषणा गर्न बल पुर्‍याएको हो।

संविधानको अनुसूची–८ ले स्थानीय तहको अधिकार तोकेको छ। जसमा नगर प्रहरी राख्न पाउने, सहकारी संस्थाको व्यवस्थापन, एफएम सञ्चालन, स्थानीय कर असुली, भूमि कर र दण्ड जरिबाना आदिको अधिकार छ। त्यसैगरी आधारभूत स्वास्थ्य र सरसफाइको अधिकार पनि संविधानले स्थानीय तहलाई सुम्पेको छ। अहिले धुलिखेल स्वास्थ्यका हिसाबले मुलुककै अब्बल ठहरिन सक्नुमा यही संवैधानिक व्यवस्थाको भरपुर कार्यान्वयन हो भन्नेमा शंकै छैन। त्यति मात्र होइन मुलुककै उम्दा सामुदायिक स्वास्थ्य संस्था धुलिखेल अस्पतालको पनि उत्तिकै भूमिका छ। यसले स्वास्थ्य पर्यटन बढाउन समेत भूमिका खेलेको छ।

सबैले आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने हो भने सफलताको क्षितिज पहिल्याउन कठिन छैन। तर, हामीकहाँ काम गर्नेभन्दा नगर्नेको स्वर ठुलो छ। कामभन्दा सामाजिक सञ्जालमा ‘स्टन्ट’ गर्ने बहादुरीले पुरस्कृत हुन पाएको छ। संविधानले तीनै तहका सरकारको काम, कर्तव्य र अधिकार प्रस्टसँग तोकिदिएको छ। हो, केही एकल र साझा अधिकार विवादास्पद हुन सक्छन्। केहीले कार्यक्षेत्रमा व्यावहारिक अप्ठेरो पनि भिœयाएका छन्। तर आफ्नो पालिकाभित्रको स्वास्थ्य र सरसफाइ उन्नत तुल्याउन न कसैले रोक्न सक्छ न त यसमा कुनै विवाद उठ्नुपर्ने विषय नै। खुरुखुरु काम गर्ने हो भने सफलताले नचुमी सुखै छैन। धुलिखेल नगरपालिकाले आफूलाई यसमा उम्दा बनाएर नाम कमाएको छ। देशमा कैयन यस्ता पालिका छन्, जसले कुनै न कुनै रूपमा राम्रो काम पनि गरेका छन्। तिनको यथोचित पहिचान र प्रोत्साहन आवश्यक छ। नराम्रो काम गर्दा लाम लागेर गाली गर्नेहरू धेरै छन्। राम्रो काम गर्दा ताली बजाउनेको हाम्रो समाजमा सर्वथा अभाव देखिएको छ।

अधिकार नपाउनु वा अपुग हुनु एउटा समस्या हो तर भएकै अधिकार पनि हामीले कत्तिको उपयोग गर्न सक्यौँ भन्ने पक्ष उत्तिकै मननीय छ। अहिले धेरै अधिकार प्राप्त हुँदाहुँदै पनि कहीँ राजनीतिक खिचातानीले त कहीँ आपसी स्वार्थका कारण काम हुन सकेको छैन। खाली बजेट पुगेन र आफूलाई सुविधा कम भयो भन्नेबाहेक जनप्रतिनिधिको खासै गुनासो सुनिन्न। यस्तो अवस्थाले उनीहरूमा केही गरौँ भन्ने इच्छाशक्तिको अभाव देखिन्छ। अन्य पालिकाले यस्तो अवसरको उपयोग गर्न नसक्नु तर धुलिखेलले भने सक्नुमा अरू खास कारण खोतल्नै पर्दैन, मात्र इच्छाशक्तिको परिणाम हो यो। उसै पनि अस्पताल, पिउने पानी, स्वच्छता, शिक्षा जस्ता क्षेत्रमा धुलिखेल अग्रणी स्थानमा रहँदै आएको हो नै।

यो नगरमा कोइला प्रयोगमा प्रतिबन्ध लगाइएको छ भने १२ वटा वडामा १५ वटा स्वास्थ्य केन्द्र स्थापना भएका छन्। त्यसैगरी सरकारद्वारा घोषित निःशुल्क औषधि वितरणमा समस्या छैन भने उच्च रक्तचाप, मधुमेह र मानसिक स्वास्थ्य कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। धुलिखेल नगरपालिकाका यस्ता असल अभ्यासलाई सर्वव्यापी बनाउन संघीय र प्रदेश सरकारले समेत भूमिका निर्वाह गर्नुपर्छ। त्यसैगरी अन्य पालिकाले पनि यो नगरपालिकाको भ्रमण गरेर सिकाइ आदान–प्रदानमार्फत लाभ लिन सक्ने अवसरसमेत अहिले उपलब्ध छ। समग्रमा भन्नुपर्दा विश्व स्वास्थ्य संगठनको घोषणापछि इच्छाशक्ति भयो भने प्रदूषित सहरको छिमेकी पनि स्वस्थ सहर बन्न सक्छ भन्ने सन्देश धुलिखेलले दिएको रूपमा बुझ्नु उचित होला। 

प्रकाशित: १९ भाद्र २०८१ ०६:०७ बुधबार

Download Nagarik App
Download Nagarik App