२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
सम्पादकीय

गाडीको जीवन गति

विश्वमै सबैभन्दा पहिलो गाडी चालक व्यक्ति महिला हुन् भन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ। अचेल बर्था बेञ्जका रूपमा चर्चित बर्था रिंगरले ३ जुलाई १८८६ मा अटोमोबाइल अर्थात् कार चलाएकी हुन्। पहिलो निर्माता उनका पति कार्ल बेञ्जले इन्धनले चल्ने कार बनाएका हुन्। उनले जर्मन इन्जिनियर गोटलिब डेमलरसँग मिलेर मर्सडिज बेञ्ज उत्पादक कम्पनी स्थापना गरेका हुन्।

प्रति घन्टा १६ किलोमिटरको गतिमा पहिलो पटक कार चलाइएको पनि दुई सय ३८ वर्ष पुगिसकेको छ। यसबीच कारको गति, सुविधा र क्षमतामा व्यापक विस्तार भएको छ। सबैभन्दा पछिल्लो तीव्र गतिको कारमा कोइङ यस्को हो, जो प्रति घन्टा तीन सय ३० किलोमिटर गुड्छ। सडकको दूरी कम र सबै ठाउँमा उपलब्ध नभएका बेला पनि कारमा गुड्न खोज्नु विलासिताका रूपमा लिइएको हो। अहिले आएर कार व्यक्तिको जीवन पद्धति भइसकेको छ। यो अनिवार्य आवश्यकताको वस्तु हो। जुन वस्तु नभएर पनि बाँच्न सकिन्छ, त्यो विलासिता हो भने जुन दैनिक कार्य व्यवहारमा नभई हुन्न त्यो आवश्यकताको वस्तु हो।

कार हाम्रै मुलुकमा भित्रिँदा पनि विलासिताको वस्तुका रूपमा आएको हो। नेपालमा पहिलो कार बेलायती राजकुमार एडवार्ड (पछि राजा एडवार्ड  अस्टम्) का निम्ति आएको हो। यो सन् १९२२ को कुरा हो। यो कार बाघ शिकारका निम्ति चितवनको कसरामा प्रयोग भएको इतिहास छ। अझ योभन्दा पनि रोचक त १९३८ मर्सडिज कार तत्कालीन राजा त्रिभुवनलाई एडल्फ हिट्लरले उपहार दिएका थिए, जसलाई १९४० मा हस्तान्तरण गरिएको थियो। त्यतिबेला देशमा सडक नभएका बेला अहिलेको मकवानपुर जिल्लाको भीमफेदीको बाटो हुँदै धेरै मानिसले गाडी बोकेर काठमाडौंमा ल्याएका भिडियो फुटेज अहिले हेर्न पाइन्छ। त्यो गाडी राजा त्रिभुवनको निधनपछि थापाथली क्याम्पसका विद्यार्थीको अध्ययनका लागि र पछि सर्वसाधारणले हेर्न पाउँन भनी छाउनीस्थित संग्रहालयमा राखिएको हो।

संसारमा जुनसुकै आविस्कार सुरुमा पहुँचवाला व्यक्तिका निम्ति हुन्छन्। पछि त्यस्तो वस्तु सर्वसाधारणको हीतमा प्रयोग हुन्छ। आजको दिनमा निजी सवारीसाधन व्यक्तिको जीवनको अभिन्न अंग भइसकेको छ। यो नभए धेरैको काम चल्दैन। दैनिक कार्यव्यवहारमा निस्किन सबैभन्दा पहिले कार वा व्यक्तिगत अन्य सवारी साधनकै साँचो खोज्नु पर्ने हुन्छ। अझ देशमा सार्वजनिक यातायातको राम्रो व्यवस्था नभएको हाम्रो मुलुकमा सर्वसाधारणले एउटा सवारीसाधन जसरी पनि राख्नुपर्ने बाध्यता छ। एकातिर निजी सवारीसाधन अनिवार्य आवश्यकता भइसकेको छ, अर्कोतिर देशको शासन प्रशासन चलाउनेहरूले भने अझै यसलाई बिलासिताको वस्तु बनाएका छन्। त्यही भएर सवारीसाधन खरिद गर्दा करिब तीन सय गुणा बढी आयात कर बुझाउनु पर्ने बाध्यता छ। त्यसैगरी वर्षेनि बुझाउने कर पनि निकै महँगो छ। सरकारले आम्दानीको महŒवपूर्ण हिस्साका रूपमा सवारी आयात र प्रयोगमा लगाएको कर नै हो। 

एकातिर, सर्वसाधारणले महँगो मूल्यको सवारी साधन प्रयोग गर्नु परिरहेको छ। अर्कोतिर, राज्यका सबैजसो उपल्ला स्थानमा रहेका नेता तथा पदाधिकारीले सित्तैमा गाडी चढ्छन्। यसकारण तिनलाई सर्वसाधारणको दुःख थाहै हुँदैन। अन्यथा, सर्वसाधारणको सेवा र सुविधालाई पनि ध्यानमा राख्न नसकिने होइन। मुलुकमा सडकको विस्तार भइरहेको छ। विस्तारित सडकका आधारमा सवारी पनि बढिरहेका छन्। यस्तो अवस्थामा सवारीसम्बन्धी सही नीति तर्जुमा गर्न सक्नु पर्छ।

सवारी साधनमा भएको आधुनिकीकरण र व्यापकतालाई नेपाली बजारले पनि आत्मसात गरेको छ। संसारका सबैखाले गाडीको बजार यहाँ देखिन्छ। त्यही भएर उपभोक्तालाई सहजीकरण गर्न हाम्रो मुलुकमा नाडा अटो सो आयोजना हुने गरेको छ। यसपटकको १६औं संस्करण मंगलबार हुँदैछ। यसैमा विभिन्न कम्पनीका नयाँ उत्पादन प्रस्तुतसमेत हुन्छन्। एउटै छानामुनि उपभोक्ताले आफूले थाहा पाएका र नपाएका सवारी साधनको जानकारी लिन्छन्। न्युनदेखि उच्च मूल्यका सवारी साधनलाई यहाँ हेर्न पाइँन्छ।

अटोमोबाइल क्षेत्रमा अनेकन् विकास भएका छन्। हिजोका आविस्कारमा अनेकन नयाँ विशेषता थपिएका छन्। हुँदाहुँदा पेट्रोलियम पदार्थको ठाउँमा विद्युतीय सवारीको व्यापकता भइरहेको छ। प्रति किलोमिटर एक रूपैयाँमा गुड्न सकिने विद्युतीय सवारीदेखि २० रूपैयाँ प्रतिकिलोमिटर खर्च हुने पेट्रोलियम सवारी साधनसमेत रहेका छन्। कस्तो साधन खरिद गर्दा के सुविधा पाइन्छ भन्ने प्रत्येक उपभोक्ताले बुझिसकेको अवस्था छ। सवारी साधनको गौरवमय विकासले मानव सभ्यतालाई नै भिन्न आयाम दिन सकेको छ। यसकारण यस्ता वस्तुलाई हेर्ने, व्यवस्थापन गर्ने र भावी दिनलाई सहज बनाउने उपयुक्त रणनीति बनाउन सरकारले ध्यान दिनु पर्छ। पुरानै मानसिकता राखेर यसलाई विलासी मात्र भन्दै व्यवहार गर्ने कि अत्यावश्यक वस्तुका रूपमा व्यवहार गर्ने, सरकारको स्पष्ट दृष्टिकोण हुनु उचित हुन्छ। 

प्रकाशित: ११ भाद्र २०८१ ०६:०२ मंगलबार

Download Nagarik App
Download Nagarik App