१२ असार २०८१ बुधबार
image/svg+xml
सम्पादकीय

चम्चा चमत्कार

भारतीय दार्शनिक एवं आध्यात्मिक व्यक्तित्व ओशोले गरेका अनेकन ठट्टामा ‘चम्चा’ पनि जोगिएको छैन। योगका अनेकन आसनमध्ये एउटा नयाँ आसन निस्किएको छ, त्यो हो ‘चम्चासन’ भनेर उनले रमाइलो सन्देश दिएका छन्। हाम्रो संसदीय समितिमा पनि बाहिरबाट चम्चा प्रवेश गरेपछि आइतबार हंगामा भएको छ। संसद्भित्र सांसदले त्यहाँ आइरहने चम्चा नचिन्ने कुरा भएन। तर आइतबारको बैठकमा प्रवेश गर्दा नयाँ काँटा÷चम्चा देखेपछि बाहिरबाट ल्याइएकोमा आपत्ति गरेका हुन्। संसद् यस्तो थलो हो, जसको स्वीकृतिबेगर केही काम पनि हुन सक्दैन। सरकार त यताउता चट्पटाउन सक्दैन भने अरूको के कुरा ! त्यही भएर बेलायती संसद्ले ‘पुरुषलाई महिला र महिलालाई पुरुष बाहेक जेसुकै बनाउन सक्छ’ भन्ने भनाइ लोकप्रिय भएको हो।

भएको यस्तो रहेछ–प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले टेबुलमा सजाइएका काँटा/चम्चा र न्यापकिन देखे। होटलको झल्को दिने गरी भएको व्यवस्थाबाट सांसदहरूले कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश भएको छनक पाइहाले। त्यसपछि सुरु भयो हंगामा। उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने त खाइरहेको खाजा छाडेरै हिँडे। सबैले एकपछि अर्को क्रान्तिकारी हुने यो अपूर्व अवसर रह्यो। यो बैठक संघीय निजामती सेवा गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्न आयोजना गरिएको थियो। विवाद बढ्दै गएपछि समिति सभापति रामहरि खतिवडाले बैठक स्थगित गरे।

हाम्रा संसदीय समिति र संसद्लाई प्रभावित गर्ने प्रयास हुन्छन्। अन्यत्रका संसद्मा पनि ‘लबी’ गर्नेहरू हुन्छन्। संसद्मा खटाइएका ‘लबीगर्ल’ सँगका प्रसंगचर्चाले गर्दा कतिपयको पदै गुमेको घटना पनि बाहिर धेरैपटक सार्वजनिक भएका छन्। हामीकहाँ यस्तो लबिङ गर्ने प्रणाली भिन्न छ। यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससका माध्यमबाट कतिपय कानुन निर्माणमा ‘सहयोग’ हुने गरेको छ। त्यस्तो सहयोगले कतिपय हाम्रा पुराना कानुन समाप्त भएका पनि छन् । जंगबहादुर राणा बेलायत गएर फर्केपछि मुलुकी ऐन १९१० सालमा जारी भएको थियो। विदेशी सहयोगबाटै यो ऐन हटाइयो र लागु भयो, मुलुकी देवानी र मुलुकी फौजदारी संहिता। समयअनुसार नयाँ कानुन बनाउनु वा पुरानालाई परिमार्जन गर्दै जानुपर्ने हुन्छ। मुलुकी ऐनलाई हटाएर देवानी र फौजदारी संहिता जारी गर्ने बेलामा कति यस्ता बैठक भएका थिए भन्ने कसैले हिसाब गरेको छैन।

कतिपय संघ/संस्था संसद्सँग मिलेर काम गर्छन्। गैरसरकारी संस्था भनेका सँगै काम गर्नै नहुने संस्था होइनन्। तिनलाई आवश्यकताअनुसार परिचालन गर्न सकिन्छ। पश्चिमा मुलुकहरूका सरकारले आफूलाई सीमित काममा मात्र लगाउँदै बाँकी गैससमार्फत् गराउँछन्। यसले सरकारको साधनस्रोत मात्र बचत हुँदैन, अनावश्यक कर्मचारी र ढिलासुस्तीबाट पनि जोगाउँछ। कुनै एउटा प्रसंगमा अनायासै संसद्मा गैसस प्रवेश गरेको भनेर हंगामा गर्नुको अर्थ छैन। बरु यसबारे संसद्ले आफैँ आचारसंहिता बनाउन सक्छ। उसले आवश्यकताअनुसार कस्ता कार्यक्रममा सहयोग लिने वा कस्तामा नलिने भन्न सक्छ। कानुन निर्माणका क्रममा बाह्य विशेषज्ञ सेवा लिनै हुँदैन भन्ने पनि छैन। कुनै सरोकारवाला संस्थाले संसद्सँग काम गर्न सक्छन्। तर कुनै एउटा गैससका निम्ति मात्र यो विरोध हो वा अन्यलाई पनि अब संसद् र यसका समितिमा छिर्न दिइने छैन ? प्रष्ट हुनु आवश्यक छ। संसद् भनेको गैसस, नागरिक समाज, प्रेस आदिसँगै काम गर्ने निकाय हो। त्यसले मात्र उसलाई सही मार्गदर्शन हुन सक्छ।

बाहिरबाट खाजा सबै निकायमा जान्छ। संसद्, न्यायालयदेखि सरकारका निकायसम्म। त्यस्तो खाजापानीको जुगाड जसरी पनि गर्नुपर्ने हुन्छ। बैठक आदि गराउनुपर्ने जिम्मेवारीमा भएका पदाधिकारीले त्यसका निम्ति काम गर्छन्। लेखक एवं पूर्वन्यायाधीश शंकरकुमार श्रेष्ठ न्याय सेवा आयोगको उपसचिव हुँदा त्यसको बैठकमा आयोजना गरिने खाजापानीबारे रोचक अनुभव सुनाउने गर्छन्। प्रधानन्यायाधीशको अध्यक्षतामा बस्ने बैठकमा कानुनमन्त्री पनि सहभागी हुन्छन्। संयोगले एकजना कानुनमन्त्रीलाई पाँचतारे होटलकै खाजा खाने इच्छा भएछ। सरकारी स्रोतलाई सदुपयोग गर्न जान्ने श्रेष्ठले अन्नपूर्ण होटलबाट न्याप्किन र बेकरीबाट मम ल्याउन लगाएछन्। अन्नपूर्णको न्याप्किन देखेपछि ममको स्वाद निकै मिठो भयो। ‘यो ममको स्वादै फरक छ’– जिब्रो फड्कार्दै मन्त्रीले प्रतिक्रिया दिएछन्।

खाजा वा खाना जहाँको ल्याएर खाए पनि काम सही हुनुपर्छ। भोक लाग्छ, खानै पर्छ। त्यसको अर्थ त्यही खाजामा अल्मलिने होइन। खाली यति हो– कुनै पनि संस्थाको अजेन्डा आफ्नो हुनुपर्छ। सधैँ बाहिरबाट आएका अजेन्डामा मात्र लाग्ने विरोधचाहिँ नयाँ चम्चाको मात्रै गर्नु उचित होइन। सकिन्छ भने हाम्रा कानुन निर्माणमा कुन कसरी प्रभावित भएका छन्, त्यसको पनि एकपटक अध्ययन गरौँ। मलेसियाबाट अलग भएपछि सिंगापुरसँग बालुवाको बगर मात्र थियो। संसारभरिका असल अभ्यास र विशेषज्ञताको प्रयोगबाट सिंगापुर बनेको हो। हामी त कसैसँग नसिक्ने कसम खाएका छौं। सस्ता कुरामै अल्मिलिएका छौं। त्यही भएर हामीले आज प्रगतिको बाटो समाउन सकेका छैनौं। मुलुकमा एउटै मात्र गतिलो नेता मात्र पाए पनि गति भिन्ने हुने निश्चित छ । 

प्रकाशित: ४ असार २०८१ ०६:०५ मंगलबार

Download Nagarik App
Download Nagarik App