सहरी जीवनमा ‘ट्राफिक’ सबैलाई सहजै छुने विषय हो। प्रायः सबै सडकका प्रयोगकर्ता हुन्छन्। कोही पैदल हिँड्छन्। कोही आफ्नो गच्छेअनुसारको सवारीमा यात्रा गर्छन्। यी सबैलाई व्यवस्थापन गर्ने प्रमुख जिम्मेवारी भने प्रहरीको हुन्छ। यसकारण प्रहरी सर्वसाधारणसँग प्रस्तुत भएअनुसार नागरिकको राज्यसँगको सम्बन्ध पनि परिभाषित हुन्छ। प्रहरी व्यवहार मैत्रीपूर्ण भयो भने सरकारले राम्रो व्यवहार गरेको ठानिन्छ। सरकारले सडकमा लागु गरेका नियमको सबैभन्दा छिटो मूल्यांकन पनि हुन्छ। यतिबेला सडक अनुशासन उल्लंघन गर्नेहरूलाई ‘स्वयंसेवक’को भूमिकामा समेत उतारिएको छ। यसको पनि पक्ष र विपक्षमा चर्चा भइरहेको छ। मादक पदार्थ सेवन, लेन अनुशासन, दु्रत गतिमा सवारी सञ्चालन र ट्राफिक बत्ती उल्लंघनलाई यतिबेला विशेष ध्यान दिइएको छ। यसैका आधारमा कारबाही भइरहेको छ।
हाम्रो सडकमा सबैभन्दा धेरै प्रभावकारी भएको कारबाही चल्तीको भाषामा मापसे अर्थात् मादक पदार्थ सेवन गरेर सवारी चलाउने माथि हो। मादक पदार्थ सेवनपछि स्टेयरिङ चलाउनु हुँदैन भन्ने मान्यता क्रमशः विकास भइरहेको छ। भोजमा जाँदा अचेत चालकको व्यवस्थापन गरेर समेत जाने चलन सुरु भएको छ। मापसेविरुद्ध शून्य सहनशीलता हुँदा पनि यो पूरै सफल भने भएको छैन। अझै पनि प्रहरीका आँखा छल्न सकिन्छ कि भन्ने धेरैको दाउ हुन्छ। त्यसैले सकेसम्म मापसेपछि साधन चलाउँदै नचलाउने प्रतिबद्धता अहिलेको आवश्यकता हो। यसले आफूलाई मात्र बचाउँदैन, अरूको घर उजाडिनबाट समेत जोगिन्छ। यस हिसाबले ट्राफिक प्रहरी यसका निम्ति साधुवादका पात्र छन्, जसले रातदिन नभनी सेवा गरेका छन्।
सडकको अर्को सफल अनुशासन ‘हर्न निषेध’ हो। यो धेरै हदसम्म सफल भए पनि फेरि यसमा अनुगमन गर्नुपर्ने देखिएको छ। अचेल फेरि हर्न लगाउने क्रम बढेको महसुस हुन्छ। अर्कोलाई एकै छिन पनि कुर्न नसक्ने प्रवृत्ति देखिँदैछ। अरूबेला फुर्सद हुने तर सडकमा निस्केपछि हतारिने जुन प्रवृत्ति देखिएको छ, त्यो राम्रो होइन। त्यति मात्र होइन, सडकमा आक्रोशित हुने प्रवृत्ति पनि देखिँदैछ। अरूलाई मर्का पर्ला कि भनेर सोच्ने प्रवृत्ति पनि कम देखिन्छ। आफूले जथाभावी सवारी पार्किङ गर्दा अरूलाई पर्ने मर्कामा पनि ध्यान दिन सक्नुपर्छ। अतः सवारी साधनलाई व्यवस्थित ढंगले चलाउने, सडकमा निस्केपछि शान्त हुने र हर्न नलगाउने प्रवृत्तिको विकास गर्दै जानुपर्ने देखिन्छ। कुनै पनि व्यक्तिलाई सवारी चलाउने अनुमति प्राप्त हुनु भनेको ऊ जिम्मेवार नागरिक हुनु पनि हो। त्यसैले उसलाई बेलैमा जिम्मेवार बनाउन प्रभावकारी कार्यक्रम ल्याउन सकिन्छ।
हाम्रो सडकमा चालक मात्र जिम्मेवार भएर पुग्दैन, ट्राफिक व्यवस्थित हुन अन्य धेरै पक्षमा ध्यान दिनुपर्छ। सडकको अवस्था सबैतिर ठिक हुनुपर्छ। हाम्रो सडकमा कहिल्यै निर्माण सकिँदैन। कुनै एउटा निकायले सडकको काम सकेपछि फेरि अर्को त्यहाँ आइपुग्छ। समन्वयको सर्वथा अभाव देखिएको छ। त्यसले सडकलाई ठिक अवस्थामा रहे÷नरहेको अनुगमन गर्ने निकाय आवश्यक छ। सडकबाटै बर्सेनि ठुलो संख्यामा धनजनको नोक्सानी हुने गरेको छ। सन् २०१९/२० देखि २०२३/२४ को पाँच वर्षबीच १२ हजार पाँच सय ४२ जनाको मृत्यु सडक दुर्घटनाबाट भएको छ। यसबीच २९ हजार सात सय २९ जना गम्भीर घाइते भएका थिए। यसबाट पनि बुझ्न सकिन्छ, सडक सबैभन्दा धेरैको ज्यान जाने कारण बनिरहेको छ। त्यसैले सडक सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने अवस्था अहिले छ।
ट्राफिक नियम पालना गर्ने क्रममा कारबाहीमा परेका व्यक्तिलाई स्वयंसेवामा लगाउने वा नलगाउने ? यो प्रश्न अहिले उठेको छ। यस्ता निर्णय गर्दा पहिले अध्ययन गरेर मात्र लागु गर्नु उचित हुन्छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका बेला चार दिन आराम दिने गरी यी ‘स्वयंसेवी’लाई प्रयोग गर्ने घोषणासँग यो लागु भएको हो। तर, यस्तो विषय स्वेच्छाका आधारमा हुनुपर्छ, जरिबाना तिराइसकेपछि शारीरिक सजायजस्तो हुने गरी यस्तो व्यवस्था गर्न सकिन्न। ट्राफिक व्यवस्थापनलाई व्यावहारिक बनाउनतिर ध्यान दिनु आवश्यक छ। यसै सन्दर्भमा ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई ट्राफिक व्यवस्थापनका नाममा स्वयंसेवी भूमिकामा खटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। प्रभावकारी ट्राफिक व्यवस्थापनले सहरलाई सभ्य मात्र बनाउँदैन, जनधनको क्षति पनि कम गर्छ मद्दत गर्छ।
प्रकाशित: २१ जेष्ठ २०८१ ०६:०१ सोमबार